संसद विघटनको विरोधमा युवा विद्यार्थीले राष्ट्रति र प्रधानमन्त्रीको पुत्ला जलाए 

२0७७ पुष ५ आईतवार
संसद विघटनको विरोधमा युवा विद्यार्थीले राष्ट्रति र प्रधानमन्त्रीको पुत्ला जलाए 

गाईघाट


सत्तारुद्ध दल नेकपाका युवा विद्यार्थीले संसद विघटनको विरोधमा आईतबार साँझ राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । संसद विघटन गर्दै मध्यावति चुनावको मिति तोकेको विरोधमा युवा विद्यार्थीैले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेका हुन् । 


प्रधानमन्त्री ओलीले आईतबार विहान संसद विघटन गर्दै आउँदो वैशाख १७ र २७ गते मध्यावति चुनावको मिति तोक्न सिफारिस गरेका थिए । उनको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले दिउँसो संसद विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावति चुनावको मिति तोकेपछि साँझ गाईघाटमा दुवैजनाको पुत्ला दहन भएको हो । 


पूर्व माओबादीनिकट अनेरास्ववियु, वरिष्ट नेता माधव नेपालनिकट युवा तथा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघको संयुक्त आयोजनामा विरोध जुलुस निकाल्दै पुत्ला दहन गरिएको हो । 


युवा विद्यार्थीले लोकतान्त्रिक चोकमा भेला भएर पुत्ला दहन गर्नुअघि बिभिन्न नारासहित  र्याली निकाल्दै बजार परिक्रमा गरेका थिए । लोकतान्त्रिक चोकबाट सुरु र्याली मुख्य चोक हुँदै पुनः त्यहीँ आएर पुत्ला दहनमा सहभागी भएको थियो । विरोध प्रदर्शन शान्तिपूर्ण गर्न दिने तर, पुत्ला दहन गर्न रोकने गरी प्रहरी तैनाथ भए पनि युवा विद्यार्थीले चलाखीपूर्ण तरिकाले पुत्ला दहन गरेका अनेरास्ववियु उदयपुरका अध्यक्ष विमल कार्कीले बताए । 


सशस्त्र र नेपाल प्रहरीको सुरक्षाटटोलीले र्यालीलाई सुरुदेखि अन्त्यसम्म सुरक्षा दिएको थियो । बजार परिक्रमा सकेर र्याली चोकमा पुग्न नभ्याउँदै पूर्वतर्फबाट आएका दुई विद्यार्थीले भण्डारी र ओलीको पुत्ला ल्याएर जलाईसकेका थिए । इन्सपेक्टर कमाण्डमा रहेको डेढदर्जन प्रहरी र सशस्त्र टोलीले पुत्ला खोस्न गरेको प्रयास असफल भएको विद्यार्थी नेता महेश पौडेलले बताए । 

विरोध प्रदर्शनको समापनमा बोल्दै युवा विद्यार्थी वक्ताहरुले केपी ओलीको यो कदम नेपाली राजनीतिमा ऐतिहासिक कलंक भएको भन्दै भत्र्सना गरेका थिए । दुईतिहाई नजिक बहुमतको सरकार हुँदाहुँदै संसद विघटन गरेर मध्यावधि चुनावमा जानु पार्टी, देश र जनताका लागि ऐतिहासिक धोका र गद्धारी भएको भन्दै उनीहरुले निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए ।