चौदण्डीगढीको घट्नादर्तामैत्री कार्यक्रम

२0७७ पुष ४ शनिबार
चौदण्डीगढीको घट्नादर्तामैत्री कार्यक्रम

उदयपुर

वर्षौंअघि मृत्यु भएको मान्छेको नाममा पनि सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता)वापत वर्षेनी करोडौं रकम दुरुपयोग हुने गरेको पाएपछि चौदण्डीगढी नगरपालिकाले नयाँ तरिका अपनाएको छ । सम्बन्धित वडा कार्यालयमा मृत्यु दर्ता नगरेकै कारण मृतकको लगत कट्टा नहुँदा बृद्धभत्ताको नाममा वर्षेनी निकासा हुने करोडौं रुपैंयाको दुरुपयोग रोक्न चौनपाले घट्नादर्तामैत्री कार्यक्रम अघि सारेको हो । 


जन्म, मृत्यु, बिबाह, बसाईसराई र सम्बन्ध विच्छेदजस्ता व्यक्तिगत घट्ना समयमै दर्ता नगर्दा राज्यलाई पर्ने करोडौं आर्थिक भारबाट बँचाउन चौदण्डीगढी नगरपालिकाले ६० वर्ष माथिका बृद्धबृद्धाको निधन भए अन्तिम संस्कार (काज क्रिया) खर्चवापत प्रति मृतक १० हजार रुपैंया सहयोग गर्ने कार्यक्रम अघि सारेको हो । 


घट्नाको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई व्यक्तिगत घट्ना दर्ता गराउनुपर्ने प्रावधान अनिवार्य कार्यान्वयन गर्न नगरपालिकाले मृतकको अन्तिम संस्कार खर्र्च दिने व्यवस्था सुरु गरेको नगरप्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार काजक्रियावापत पाउने १० हजार प्राप्त गर्न मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान नगरपालिकाले राखेको छ । 


काजक्रिया खर्च पाउन मात्र नभएर नगरबासीले व्यक्तिगत घट्ना दर्ता प्रमाणपत्रकै आधारमा अन्य थुप्रै सेवासुविधा पाउने भएकाले पनि यो तरिका अपनाइएको मेयर राईले बताए । सर्वसाधारणलाई व्यक्तिगत घट्ना दर्ताको फाईदाबारे जानकारी नहुँदा धेरैले दुःख पाउने भएकाले त्यसबाट छुटकारा दिलाउन यो तरिका अपनाइएको राईको भनाई छ । 


विद्यालय भर्ना गर्न जन्मदर्ता अनिवार्य चाहिएजस्तै जग्गा किनबेच, मृतक बाउआमाबाट जमिन नामसारी गर्न मृत्यु दर्ता प्रमाण अनिवार्य चाहिन्छ । त्यस्तै बसाई सरेपछि नयाँ ठाउँमा चुनावमा भाग लिनदेखि मतदान गर्नसम्म अनिवार्य बसाईकसराई पमाणपत्र चाहिन्छ । बिहे गरेपछि श्रीमान श्रीमतिको कानुनी सम्बन्ध प्रमाणित गर्न बिबाह दर्ता प्रमाणपत्र अनिवार्य चाहिने राईले बताए । सबैखाले कानुनी अधिकार पाउनका लागि जन्म, मृत्यु, बिबाह, बर्साससाई र सम्बन्ध विच्छेदका  घट्ना दर्ता अनिवार्य गर्नुपर्ने मेयर राईले बताए । 


गतवर्ष १ सय २९ जना मृतक परिवारलाई जनही १० हजारका रुपैंयादरले मृत्यु संस्कार खर्च वितरण गरेको नगरपालिकाका लेखापाल अमर थापामगरले बताए । लेखापाल मगरका अनुसार चालुवर्ष ५१ जना मृतक परिवारलाई ५ लाख १० हजार वितरण गरिसकेको छ ।


यसअघि धेरै मृतकको मृत्यु दर्ता नहुँदा सामाजिक सुरक्षावापत लाखौं रकम दुरुपयोग हुने गरेको पाइएपछि नगरपालिकाले यो तरिका अपनाएको हो । मरिसकेको मान्छेको लगत कट्टा नगरिदा बृद्धभत्ताको नाममा वर्षेनी करोडौं रकम दुरुपयोग हुँदै आएको भन्दै यस्तो सुविधा दिने निर्णय गरेको नगरप्रमुख राईले बताएका छन् । 


‘मृत्यु भएका बृद्धबृद्धाको मृत्यु दर्ता गर्नुपर्नेमा नगरेपछि वर्षेनी करोडौं रकम दुरुपयोग हुने गरेको पाइयो’ मेयर राईले भने ‘त्यसपछि काजकिरिया गर्न मृतक परिवारलाई १० हजार दिन थालेका हौं । यसो गरेपछि मृतकको नाममा रकम दुरुपयोग हुन छाडेको छ ।’