कटारी र बेलका नगरपालिकामा ‘स्कीम बैंक’ सञ्चालन हुने

२0७७ पुष ४ शनिबार
कटारी र बेलका नगरपालिकामा ‘स्कीम बैंक’ सञ्चालन हुने

उदयपुर


उदयपुरका बेलका र कटारी नगरपालिकामा ‘स्कीम बैंक’ कार्यक्रम लागू हुने भएको छ । प्रदेश १ सरकारले बिभिन्न ९ जिल्लाका १८ वटा पालिकामा सञ्चालनमा ल्याउन लागेको स्किम बैंक कटारी र बेलकामा पनि सञ्चालनमा आउन लागेको हो ।


स्थानीय तहहरुसँगको साझेदारीमा सञ्चालनमा आउने सो कार्यक्रम सामाजिक विकास मन्त्रालयले आउँदो माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउने जनाएको छ । व्यवसाय गर्ने सोँच भएका युवालक्षित रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सो कार्यक्रम चालु वर्ष नमूनाको रुपमा सञ्चालनमा ल्याउन लागिएको हो । उदयपुरसँगै सुनसरीका दुहवी र बराहक्षेत्र, मोरङका कटहरी र मिक्लाजुङ, झापाका कन्काई र भद्रपुर, पाँचथरका फिदिम र याङवरक, इलामका सुर्याेदय र देउमाई, धनकुटाका महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमका आठराई, म्याङ्लुङ, खोटाङका दिक्तेल रुपाकोट मझुवागढी र रावाबेसीमा लागू हुनेछ । 


स्किम बैंक सञ्चालन र व्यवस्थापनका लागि मन्त्रालयले स्थानीय तह प्रमुख, उपप्रमुख र विकास बैंकका प्रतिनिधिसँग पहिलो चरणको छलफल शुक्रबार सम्पन्न गरेको छ । छलफलमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सीप, पुँजी र अनुभव भए पनि बेरोजगार युवाहरुले आफु अनुकुल उद्यम व्यवसाय गर्न यो कार्यक्रम सञ्चालन गर्न लागेको बताए । माघदेखि स्किम बैंक सञ्चालन गर्न स्थानीयतहहरूलाई आग्रह गर्दै मन्त्री घिमिरेले युवाहरु कोही बेरोजगार बस्न नहुनेमा जोड दिए ।


सामाजिक विकास मन्त्रालयका श्रम तथा रोजगार शाखा अधिकृत प्रदिप गौतमले चालु आर्थिकवर्ष सीपमूलक तालिम सञ्चालन शीर्षकमा १० करोड ५० लाख विनियोजन गरिएको जानकारी दिएका छन् । जसमा स्थानीयतहको माग बमोजिम तालिम सञ्चालन गरिनेछ भने मन्त्रालय, पालिका र बैंक तथा वित्तीय संस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने गौतमले बताएका छन् ।