आगलागीबाट १० लाख क्षति 

२0७७ पुष ३ शुक्रबार
आगलागीबाट १० लाख क्षति 

हडिया

उदयपुरको हडियामा भएको आगलागीबाट एक स्थानीयको घर ध्वस्त भएको छ । चौदण्डीगढी नगरपालिका ९ हडिया मुसर्नियामा भएको आगलागीबाट स्थानीय हरिबहादुर बस्नेतको घर जलेर नष्ट भएको छ । 


बस्नेतको टिनको छानो भएको घरमा भएको आगलागीबाट घर, घरभित्रका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, ४ वटा खसी बोका र ५० मुरी धान जलेको प्रहरी चौकी हडियाले जनाएको छ । 


आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाबाट दमकल लगेर दुईघण्टापछि आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।