ताप्लीको गाउँपालिका प्रशासनिक भवन बन्दै 

२0७७ पुष ३ शुक्रबार
ताप्लीको गाउँपालिका प्रशासनिक भवन बन्दै 

ताप्ली

उदयपुरको बिकट ताप्ली गाउँपालिकाको निर्माणाधीन भवनको काम सुचारु भएको छ । गाउँपालिका केन्द्र ५ नं. रुपाटारमा दुईवर्षअघि नै निर्माण सुरु भए पनि बीचमा रोकिएको अधुरो भवनको काम भर्खरै सुचारु भएको हो । 


७ करोड मूल्यमा निर्माणाधीन ३ तले भवन सुविधासम्पन्न र बहुआयामिक हुने छ । आर्थक वर्ष ०७५७६ मा सुरु भएको भवनको काम गतवर्ष निर्माण व्यवसायीबीच बिबाद भएपछि रोकिन पुगेको थियो।   संघीय सरकारको २ करोड र बाँकी प्रदेश र गाउँपालिका गरी ७ करोड लागतमा भवन सुरु भएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताएका छन् । उनका अनुसार वहुवर्षीय योजना अन्तर्गत चालु वर्ष भवन शीर्षकमा गाउँपालिकाले ३ करोड छुट्याएको छ भने संघबाट २ करोडबाट ३ किस्तामा ६६ लाख निकासा गर्ने छ । 


०७५र७६ मा गाउँपालिकाको १ करोडको कामा प्रिन्स निर्माण सेवाले ठेक्क लिएर सुरु गरेको काम दोस्रो वर्ष ठेकेदारहरुबीच बिबाद भएपछि अख्तियारमा मुद्धा दिएकाले अघि बढ्न नसकेको हो । काम नभएपछि गतवर्ष प्रदेश सरकारले विनियोजन गरेको १ करोड रुपैंया फ्रिज  भएको अध्यक्ष थापाले बताए। मुद्धाकै कारण गतवर्षका लागि गाउँपालिकाको छुट्याएको ३ करोड रुपैंया चालु वर्ष सारेर काम सुचारु गएिको हो । 

चालुवर्ष ३ करोड ६६ लाख खर्च गर्न सके भवनको झण्डै ६० प्रतिशत काम सम्पन्न हुने अध्यक्ष थापाले बताए । आउँदो वर्ष बेलैमा भवन निर्माण सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको थापापले बताए। भवन अभावमा गाउँपालिकाले स्थानीय महेन्द्ररत्न मावि रुपाटारको पक्की भवन र स्वास्थ्य चौकीका दुईवटा टहरा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ। 


चालु वर्षको कामको जिम्मा सगरमाथा कन्स्ट्रक्सन गाईघाटले पाएको छ । निर्माण कम्पनीका अनुसार नयाँ भवन अत्याधुनिक, सुविधासम्पन्न र वास्तुशास्त्रमा आधारित हुनेछ । कम्पनी सञ्चालक प्रेम कार्कीका अनुसार भवनको अग्रभागतर्फ २ तला र पछाडिपछि ३ तला हुनेछ । ४७ कोठे भवनको डिजाईन सुनसरीका वास्तुशास्त्री आर्किटेक्चर विक्रमश्रीले गरेका हुन् । 

 

उदयपुरका ८ वटै स्थानीयतहमध्ये नमूना र आकर्षक भवन ताप्लीले बनाउदै गरेको गाउँपालिकाले दावी गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले भवनका ३ वटै तलामा खानेपानी, विद्युत, पुरुष महिला तथा अपाङ्गताका लागि अलगअलग शौचालय निर्माण हुने बताए । उनका अनुसार कार्यकक्षहरु सबै अपाङ्गमैत्री हुने हुने भवनले ताप्ली गाउँपालिकाको शोभा बढाउने अपेक्षा गरिएको छ । 


भवनमा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्ष र विषयगत समिति संयोजकको छुट्टाछुट्टै कार्यकक्ष हुनेछ । साथै भवनमा न्यायिक समितिको इजलास, समिति संयोजक र सदस्यको कार्यकक्षसमेत हुने बताइएको छ । त्यस्तै भवनमा खानेपानी, पुरुष महिला र बालबालिका तथा अपाङ्गमैत्री अलग अलगत शौचालय निर्माण गरिने प्राविधिक इस्टीमेट रहेको छ । 


गाउँपालिका उपाध्यक्ष कमलामाया राईले रुपाटारका बिभिन्न १७ स्थानीयले निशूल्क दिएको जमिनमा भवन बनाउन लागिएको बताईन् । उनका अनुसार कम्तीमा ४ लाखदेखि ५२ लाख रुपैंयासम्मको १५ रोपनी जमिन स्थानीयले निःशुल्क दान दिएपछि भवन निर्माणको बाटो खुलेको हो । प्रतिव्यक्ति ८ आनादेखि २ रोपनीसम्म उर्वर र महँगो जग्गा गाउँपालिका भवन बनाउन निःशुल्क दिएका उनीहरुलाई गाउँपालिकाले यसअघि नै सम्मानसमेत गरिसकेको छ । 


जग्गा दिनेहरुमा दुर्गबहादुर थापा, हस्तमान विक र पूर्णबहादुर खड्काले जनही ५० लाख माथि मूल्यको २÷२ रोपनी दिएका छन् भने अन्यले ८ आनादेखि १ रोपनीसम्म दिएको छन् ।