उदयपुरमा ब्राउन सुगर पनि भित्रिन थाल्यो, ५ पक्राउ

२0७७ पुष २ बिहीबार
उदयपुरमा ब्राउन सुगर पनि भित्रिन थाल्यो, ५ पक्राउ

उदयपुर

यसअघि बिभिन्न खाले लागू औषधको बाक्लै प्रयोग र कारोबार हुँदै आएको उदयपुरमा अव खैरो हिरोईन (ब्राउनसुगर) पनि भित्रिन थालेको पाइएको छ । लागू औषधमध्ये धेरै महँगो र अत्याधिक नशा दिने पदार्थको रुपमा चिनिने ब्राउनसुगर यसअघि त्यति भित्रिएको जानकारी आएको थिएन । 


बुधबार मात्र ब्राउनसुगरसहित ५ जना युवा पक्राउ परेसँगै उदयपुरमा अव ब्राउनसुगर पनि भित्रिन थालेको प्रमाणित भएको छ । लागू औषध किनबेच भईरहेको भन्ने विशेष सुराकीका आधारमा खटेको जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीबाट रंगेहात उनीहरु पक्राउ परेको प्रहरी भनाई छ ।


त्रियुगा नगरपालिका २ को लुहाले खोला–फत्तेपुर खण्डको सडक किनारबाट प्रहरीले त्रियुगा नगरपालिका २ का ३१ वर्षीय रेवतकुमार खाती, त्रियुगा ३ का ३४ वर्षीय रोहितकुमार चौधरी, ३३ वर्षीय जगसन राई र ३८ वर्षीय पर्वत दाहाल तथा त्रियुगा ४ का ३२ वर्षीय देवेन्द्र मगरलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ब्राउनसुगर बरामद गरेको पनि जनाएको छ । उनीहरुलाई  हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताएका छन् ।