उदयपुरमा अर्को बम विष्फोट, क्रसर उद्योगमा क्षति

२0७७ पुष १ बुधबार
उदयपुरमा अर्को बम विष्फोट, क्रसर उद्योगमा क्षति

धाब्लाङ

उदयपुरको अर्को ठाउँमा अज्ञात समूहले फेरि बम बिष्फोट गराएको छ । निर्माणाधीन गाईघाट–दिक्तेल सडकका लागि त्रियुगा नगरपालिका १४ धाप्लाङस्थित सञ्चालित क्रसर उद्योगमा सोमबार राति शक्तिशाली २ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । 


राति १०ः१५ बजे आधादर्जन मुखुण्डोधारीको समूह उद्योगमा प्रवेश गरेर विष्फोट गराएको जनाइएको छ । विष्फोटबाट गाईघाट दिक्तेल सगरमाथा लोकमार्गको दियाले–अँधेरी–फोक्सीन्टार खण्डको कालोपत्रे निर्माण कम्पनी कञ्चनजंघा–गोल्डेन गुड जेवी सञ्चालनमा ल्याएको क्रसरमा क्षति गरेको छ । क्रसरको मोटर, जेसिबी, मेनकन्वीयर बेल्ट तेलको ड्रममा क्षति पुगेको प्रहरी भनाई छ । 


क्रसर उद्योगका प्रतिनिधि सुमन्त कोईरालाले मुखुन्डोधारी समूह विस्पोट गर्नुपूर्व क्रसरका सुरक्षागार्ड ६० वर्षीय कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिए कुटपिटसमेत गरेको बताएका छन् । बिष्पोटनबाट १० लाख हाराहारीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पनि कोईरालाले बताए ।


बिष्पोट गराईसकेपछि पनि समूहले मेसिन घुमाउने फित्ता खुकुरीले काटेको तथा तेल राखेको ड्रममा आगो लगाउने प्रयास गगरिरहँदा स्थानीयहरु घट्नास्थलमा आईपुगेपछि अज्ञात दिसातर्फ भागेको तामाङलाई उद्धृत गर्दै प्रत्यक्षदर्शीले बताएका छन् । तामाङका अनुसार दिउँसो एकजना अपरिचत व्यक्ति आएर क्रसरबारे सोधखोज गरेकै राति ५–६ जनाको समूह क्रसर उद्योगमा पसेर पेस्तोल र खुकुरी देखाउँदै नियन्त्रणमा लिएर कुटपिट गर्दै बिष्फोट गराएको हो । 


त्रियुगा १४ का वडाध्यक्ष कुरुङ राईले राति सुतिसकेको अवस्थामा ठूलो आवाज आएपछि  सोधखोज गर्दा आफ्नै वडाभित्र सञ्चालित क्रसरमा अज्ञात समूहले बम बिष्फोट गराएको जानकारी पाएको बताए । उनले कसले किन बिष्फोट गरायो भन्ने बुझ्न नपाएको बताउँदै क्रसरबारे कुनै व्यक्ति र समूहले अहिलेसम्म गुनासो गरेको थाहा नपाएको बताए । कसैले चन्दा मागेको कुरा पनि आफुलाई जानकारीमा नआएको वडाध्यक्ष राईले बताए । 

घटनालगत्तै जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहाल नेतृत्वको सुरक्षा टोली घट्नास्थल पुगेर निरीक्षण गरी फर्केको छ । प्रहरीले त्यहाँ सुतली वा सकेट बम बिष्फोट गराएको अनुमान गरेको छ । 


धाब्लाङको घट्नापछि उदयपुरमा एक महिना नपुग्दै ३ ठाउँमा बिष्फोट घट्ना घटेका छन् । मंसिर १८ गते राति कटारी नगरपालिका ८ मर्जेतपुरस्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा बम बिष्फोट हुँदा ५ मजदुर घाईते भएका थिए । त्यसअघि मंसिर ६ गते मध्येराति ताप्ली गाउँपालिका भवनमा भएको बिष्फोटले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा क्षति पुगेको थियो । ताप्लीमा बिष्फोट भएकै भवनबाहिर गेटमा फेला परेको एउटा बेवारिसे बम १८ घण्टापछि नेपाली सेनाको डिस्फोजल टोली पुगेर निस्कृय पारेको थियो । 


३ वटै विष्फोटनका घट्नाबारे कसैले जिम्मा लिएको छैन । घट्नामा नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाको संलग्नता भएको आशंका गरिए पनि जिम्मेबारी नलिएका कारण अनुसन्धान गर्न सुरक्षा निकायलाई अप्ठेरो भईरहेको छ । ताप्ली घट्नाको ३ दिनपछि जिल्ला विकास समितिका पूर्व सदस्य ताप्ली ५ के ७८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली १ की ३० वर्षीया निरु विकलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ ।