बेलिब्रीज पुनर्जडानपछि गाईघाट दिक्तेल यातायात सुचारु

२0७७ मंसिर २९ सोमबार
बेलिब्रीज पुनर्जडानपछि गाईघाट दिक्तेल यातायात सुचारु

उदयपुर

सगरमाथा लोकमार्गको सुनकोसीमा बेलिब्रीज पुनर्जडान भएपछि आईतबारदेखि उदयपुर र खोटाङ सोझो यातायातले जोडिएका छन् । उदयपुरको रौतामाई ५ र खोटेहाङ गाउँपालिकाबीच फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रीज पुनर्जडान कार्य सकिएपछि खोटाङ सदरमुकाम दिक्तेल र उदयपुरको गाईघाटबीच सोझो यातायात सम्बन्ध जोडिएको हो । 


फोक्सिन्टारमा पुस पहिलो साता पुनर्जडान सुरु भएको बेलिब्रीज शनिबार सम्पन्न भएपछि सोझो यातायात सुरु भएको गाईघाट दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । गाईघाटदेखि दिक्तेल हुँदै खोटाङका बिभिन्न भागसम्म सोझो यातायातले जोड्ने मुख्य नाका फोक्सिन्टारमा वर्षेनी ६ महिना बेलिब्रीज सञ्चालन गर्ने तथा ६ महिना खोलेर राख्ने गरिएको छ । हरेक वर्षायाम सुरु भएपछि बैशाख जेठमा बेलिब्रीज खोल्ने गरिएको छ भने कोसीमा पानीको सतह घट्दै गएपछि कात्तिक मंसिरमा पुनर्जडान गर्ने गरिएको छ । 


गत बैशाखमा बेलिब्रीज खोलिएपछि दुई जिल्लाबीचको सोझो यातायात अवरुद्ध हुन पुगेको थियो । हिउँदमा पानी घटेपछि बेलिब्रीज पुनर्जडान गरेर यातायात सञ्चालनमा ल्याइएको सडक कार्यालयका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । उनका अनुसार दसैंअघि नै ठेक्का प्रक्रियामार्फत बेलिब्रीज पुनर्जडान कार्यको जिम्मा दिइएको थियो । तिहार र छठले केहीदिन ढिला भए पनि दुईसातामा काम सकिएपछि यातायात सुचारु भएको खकुरेलले बताए ।        

चालुवर्ष बेलिब्रीज खोल्न र पुनर्जडान गर्न सडक कार्यालयले ८४ लाख लागतमा रेग्मी निर्माण सेवा गाईघाटलाई ठेक्का सुम्पेको डिई खकुरेलले बताएका छन् । उनका अनुसार दुई जिल्लालाई यातायातले जोड्ने सगरमाथा लोकमार्गको सुनकोसी फोक्सिन्टार मुख्य अप्ठेरो नाका हो । त्यहाँ निर्माणाधीन पक्की पुलको काम अलपत्र परेकाले अझ केहीवर्ष बेलिब्रीजकै भर पर्नुपर्ने अवस्था छ । 


झण्डै एकदसकदेखि त्यहाँ बेलिब्रीज प्रयोग हुँदै आएको छ । पुल निर्माण थालेको झण्डै ५ वर्ष बितिसक्दासम्म काम अधुरै रहँदा यातायात व्यवसायी र स्थानीयलाई कोसी वारपार गर्न धेरै समस्या परेको रौतमाई ५ का वडाध्यक्ष पाण्डव राईले बताए । पुलको काम छिटो सक्न धेरैपटक सडक कार्यालय र उयदपुर तथा खोटाङका जनप्रतिनिधिले लिखित र मौखिक आग्रह गरे पनि निर्माण कम्पनीले काम अघि नबढाएको गुनासो वडाध्यक्ष राईको छ । पुलको काम ढिलो हुनाले वर्षेनी बेलिब्रीज जोड्न र खोल्न करोड हाराहारी राज्यकोषलाई भार पर्दै आएको छ ।        


उदयपुर निर्वाचन क्षेत्र २ का संघीय सांसद सुरेशकुमार राई (हिमाल)ले फोक्सिन्टारको पुल छिटो सक्नेगरी काम सुचारु गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए । सत्तारुढ नेकपाको केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिवसमेत रहेका सांसद राईले अलपत्र पुलको काम तत्काल सुचारु गर्दै चालु वर्षभित्रै सक्न पूर्वाधार तथा भौतिक मन्त्री र सडक विभागमार्फत निर्माण कम्पनीलाई ताकेता गर्न लगाएको उनले बताएका छन् । 


सांसद राईले फोक्सिन्टारसँगै उदयपुर र खोटाङ जोडने त्रियुगा नगरपालिका १४ धाब्लाङ पुल र भोजपुरसँग जोड्ने रानीटार पुलको काम पनि छिटो सुचारु गर्न मन्त्रीलाई आग्रह गरेको बताएका छन् ।