सरकार भ्रष्टाचारमा चुर्लुम्म डुव्योः कांग्रेस

२0७७ मंसिर २९ सोमबार
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुव्योः कांग्रेस

गाईघाट

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले नेकपाको सरकार निकम्मा भएको भन्दै आलोचना गरेको छ । सरकारविरुद्ध देशव्यापी आन्दोलनमा  उत्रिएको कांग्रेसले सोमबार गाईघाटमा पनि विरोधसभा आयोजना गर्दै वर्तमान सरकार जनताप्रति उदास र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएको छ । 


कार्यत्रक्रमा बोल्दै १ नं. प्रदेशसभाका प्रमुख सचेतक केदार कार्कीले झण्डै दुईतिहाई बहुमत प्राप्त सरकार ओम्नी र यति ग्रुपको चंगुलमा फस्दै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएर नांगो र भ्रष्ट भईसकेको आरोप लगाए । कोरोना महामारीको दाउ छोपेर औषधि खरिदको नाममा ओम्नी ग्रुप र नेपाली सेनामार्फत करोडौं रकम भ्रष्टाचार गरेको ठोकुवा गर्दै कार्कीले राहदानी, बैंक नोट र स्मार्ट कार्ड नेपालमै छाप्ने सेक्युरिटी प्रिन्टिङ प्रेसको नाममा तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिशनको प्रशंग कोट्याए । 


कार्कीले विरामी छटपटाउँदै अस्पताल खोजेका बेलासमेत सरकार नभेटाएको भन्दै लकडाउन गरेर जनतालाई घरभित्र थुनेर भोकै छटपटाउन बाध्य पारेको गुनासो गरे । काठमाडौंबाट मजदुरहरु खाली खुट्टा घर फर्किने क्रममा दया गरेर खाना खुवाउने मान्छेलाई सहानुभूति गर्ने सरकारसमेत नभेटिएकोमा कार्कीको दुखेसो थियो । 

 

दिनदाहाडै महिला र बालबालिकामाथि बलात्कार हुँदासमेत पीडित महिला दिदी बहिनीले न्याय नपाएको प्रशंग कोट्याउँदै कार्कीले देशका विद्यार्थी, बुद्धिजीवि, महिला, दलित र किसानले सरकार नभेटाउनु दुखद भएको बताए । सरकारले सच्चिने अनेकौँ अबसर प्रतिपक्षले दिए पनि त्यस्तो अवसर खेर फालेको भन्दै सचेतक कार्कीले काँग्रेसले बाध्य भएर सडक संघर्ष रोज्नुपरेको बताए । 

 

उनले कांग्रेस वरिष्ट नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर दुव्र्यवहार गरेको प्रशंग कोट्याउँदै त्यबविरुद्ध काँग्रेस देशव्यापी विरोधमा उत्रिएको जानकारी दिए । कम्युनिष्ट सरकारले देशमा भ्रष्टाचार, बलात्कार, अन्याय अत्याचारलाई संरक्षण गरिरहेकै बेला वरिष्ट नेता पौडेललाई दुव्र्यवहार गर्नुलाई सरकारको थप गल्ती भएको आरोप कार्कीको थियो । 


कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका सभापति विदुर बस्नेत, संघीय सांसद प्रमिला राई, पूर्व जिल्ला सभापति तथा प्रदेश सांसद हिमाल कार्की, क्षेत्र नम्बर १ का सभापति भोजराज खतिवडा, बसन्त बस्नेत, २ नं. क्षेत्रीय सभापति रामकुमार खत्रीलगायतले सरकारको कामप्रति असहमति जनाउँदै जनताको स्वतन्त्रता र न्यायप्रति ऐक्यबद्धता जनाएका थिए । केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारको संरक्षण गरिरहेको आरोप लगाउँदै उनीहरुले देशमा भ्रष्टाचार मौलाएको आरोप लगाएका थिए । कोणसभा कार्यक्रम गर्नुअघि गाईघाट बजारमा विरोध र्यालीले बजार परिक्रमा गरेको थियो ।