लिमचुङबुङमा शनिबारे हटिया

२0७७ मंसिर २९ सोमबार
लिमचुङबुङमा शनिबारे हटिया

लिमचुङबुङ

उदयपुरको लिमचुङबुङ गाउँपालिकामा हरेक शनिबार बजार (हटिया) लाग्न थालेको छ । वडा नं. १, २ र ३ को संगमस्थल रमितेचुङ डाँडामा गाउँपालिकाले दुईसातायता प्रत्येक शनिबार हटिया सञ्चालनमा ल्याएको जनाएको छ । 


बिभिन्न वडामा उत्पादित कृषि तथा फलफुलको थोक र खुद्रा विक्रीवितरण सहज बनाउन हटिया सञ्चालनमा लाइएको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए । उनका अनुसार प्रदेश सरकारको आर्थिकवर्ष ०७५/७६ मा बिनियोजित १५ लाखमा निर्मित टहरामा कृषि बजार सञ्चालन गरिएको हो । 


अध्यक्ष राईले बजार लाग्न थालेपछि गाउँपालिकाबासी किसानले आफ्नै खेतबारीमा उत्पादन गरेका फलफुल, सागसब्जी तथा हरिया तरकारी किनबेच गर्न सहज भएको बताए । उनका अनुुसार ०७६/७७ देखि सुरु ‘अध्यक्ष कृषि परियोजना’मार्फत गाउँपालिकाले बिभिन्न वडाका किसानलाई उत्पादनमा प्रोत्साहन गर्दै सहयोग दिदै आएको छ । सोही सहयोगबाट किसानले उब्जाएको कृषि उपजको किनबेच गर्न हटिया लगाउन थालिएको अध्यक्ष राईको भनाई छ । 


अध्यक्ष राईका अनुसार गाउँपालिकाले व्यवसायिक कृषि तथा पशुपालन गर्न इच्छुक किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । जस अनुसार किसानले गाउँपालिकाबाट सहयोग लिएर व्यवसायिक कृषि तथा पशुपालन थालेपछि उत्पादन सुरु भईसकेको छ । परियोजनाको सहयोगमा किसानले गरेको उत्पादनलाई व्यवस्थित बजारीकरण गर्ने सुरुवाती चरणमा गाउँपालिकाले हटिया सञ्चालनमा ल्याएको हो । 


किसानले उब्जाएका फलफुल, कृषि उपज र पशुपालन व्यवसायलाई प्रबद्र्धन गर्न बजारको व्यवस्थापन गर्न पनि गाउँपालिकाले आवश्यक प्रबन्ध मिलाउने योजना अघि सारेको प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताएका छन् । अहिले सुरुवाती चरण भए पनि परियोजना झाँगिदै गएर उत्पादन बृद्धि भएपछि गाउँदेखि टाढाटाढासम्म उपज निर्यात गर्नुपर्ने अवस्था आउनसक्नेतर्फ गाउँपालिका सचेत रहेको लिम्बु बताउँछन् ।  


उनका अनुसार एकवर्षअघि मात्र सुरु परियोजनाले अहिलेदेखि नै प्रतिफल दिन थालिसकेको र चालु वर्ष थप उत्पादन बढ्ने संकेत देखिएको छ । सुरुवाती चरणमा टमाटर,साग, काउली र बन्दा तथा फलफुलतर्फ किवी र कागती उत्पादन सुरु भईसकेको अधिकृत लिम्बुले बताए । अहिले सुरुचरणमा थोरै मात्रामा उत्पादित कृषि उपज र फलफुल गाउँमै खपत भए पनि आगामी वर्षदेखि उत्पादनको मात्रा बढ्दै जाँदा बजार व्यवस्थापनको समस्या आउन नदिन गाउँपालिकाले योजनाबद्ध रुपमा अघि बढ्ने तयारी गरेको लिम्बुले बताए । 


गाउँपालिकाका लेखा अधिकृत ताराकिरण राईले अध्यक्ष कृषि परियोजनामा गतवर्षदेखि बजेट विनियोजन गरेर कार्यान्वयनमा ल्याइएपछि किसानले उत्पादन गर्न थालिसकेको बताए । उनका अनुसार वार्षिक योजनामै बजेट निर्धारण गरेर अघि सारिएको परियोजना अन्तर्गत बिभिन्न वडामा पाईलट प्रोजेक्ट (परीक्षण योजना) सफल भईसकेको छ । अधिकृत राईले गतवर्ष कृषितर्फ मात्र ४८ लाख विनियोजन गरेर सबै वडामा लगाइएको परीक्षण योजना सफल भएको बताए । चालु वर्ष परियोजनाका लागि १ करोड ५० लाख बजेट छुट्याइएकोमा पशुतर्फ २५ लाख र स्रोतकेन्द्र व्यवस्थापनतर्फ २५ लाखबाहेक बाँकी १ करोड कृषितर्फ लगानी गरिने अधिकृत राईले बताएका छन् । 


गाउँपालिकाका कृषि प्राविधिक गगन राईले परियोजनाको कृषितर्फ विनियोजित ४८ लाखमध्ये बिभिन्न ८ योजना (क्रियाकलाप) सञ्चालन गरिएको बताए । उनका अनुसार १९ लाख रुपैंयामा  ५ वटै वडाका प्रत्येक घरधुरी किसानलाई निशूल्क मकै बिउ वितरण गरिएकोमा सबै ठाउँ उत्पादन राम्रो भएको छ । त्यस्तै बेमौसमी तरकारी खेती प्रबद्र्धनमा १० लाख विनियोजन गरी खर्च गरिएको प्राविधिक राईले बताए । जसमा गाउँलेले आलु, टमाटर, साग, काउलीलगायत  बिभिन्न तरकारी खेती गरेका छन् । 

६ लाख लागतको यन्त्र उपकरण वितरण कार्यक्रमतर्फ किसानलाई अनुदानमा १० वटा मिनी ट्रिलर बाँडिएको छ । जसमा ४ नं. वडा बलम्ताले ४ वटा पाएको छ भने ३ नं. बाराहाले २ वटा, २ नं. ताम्लिछाले ३ र १ नं. वडा बाँसबोटले १ मिनी ट्रिलर पाएको छ । कसैबाट माग नभएका कारण ५ नं. जाँतेले मिनी ट्रिलर नलगेको राईले बताए ।  


३ लाख रुपैंया बजेटबाट वडा नं. ३ को बाराहामा विकी खेती सञ्चालनमा आएको छ भने फल्नसमेत सुरु भईसकेको छ । कागती विरुवा तिवरण शीर्षकमा विनियोजित ५ लाखमध्ये २ लाख ७८ हजार मात्र खर्च भएको छ भने वडा नं. ५ को जाँतेमा केरा खेतीका लागि छुट्याइएको २ लाख कार्यान्वयनमा आउन सकेन । प्राविधिक राईका अनुसार कर्मचारी व्यवस्थापन शीर्षकमा विनियोजित २ लाख रुपैंया सो वर्ष कार्यान्वयनमा आउन नसके पनि  चालुवर्ष परियोजना अधिकृत भर्ना गरिएको छ । 
पर्छ ।