चौदण्डीगढीमा विज्ञान र कानुन विषयमा पठनपाठन सुरु 

२0७७ मंसिर २८ आईतवार
चौदण्डीगढीमा विज्ञान र कानुन विषयमा पठनपाठन सुरु 

बेलटार 

उदयपुरको चौदण्डीगढी नगरपालिकाले विज्ञान र कानुन संकायमा पठनपाठन सुरु गरेको छ । चौदण्डीगढी ६ सिर्वानीस्थित कालिका माध्यामिक विद्यालयमा चालु शैक्षिकवर्षदेखि कानुन विषयको पठनपाठन सुरु भएको हो । ६ नं. कै बेलटारस्थित ज्योति माविमा गतवर्षदेखि नै कृषितर्फ १८ महिने बालि विज्ञान विषयको पठनपाठन भईरहेको छ । यसवर्षदेखि ज्योतिमै विज्ञान संकाय र कालिकामा कानुन पढाई थालिएको हो । 


चालुवर्ष कक्षा ११ देखि कानून विषयमा अध्यापन थालिएको विद्यालयले जनाएको छ । कानुन विषयमा नयाँ विद्यार्थी भर्ना लिने क्रम चलिरहेको र पठनपाठन पनि सुरु गरिएको प्रधानाध्यापक राजबहादुर मगरले बताए । विश्व महामारी कोविडको जोखिम अझै बाँकी रहेकाले आवश्यक सुरक्षा सावधानी अपनाउँदै पठनपाठन सुचारु गरिएको प्रअ मगरले बताए । 


चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले शुक्रबार आयोजित एक कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत गर्दै कानून विषयको पठनपाठनको औपचारिक सुरुवात गरे । कार्यक्रममा मेयर राईले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिक्ता दिएर नगरपालिका अघि बढिरहेको भन्दै चौदण्डीगढीले कृषि, विज्ञान र कानुनजस्तो महत्वपूर्ण विषयमा पठनपाठन गराउन पाउनु गर्वको कुरा भएको बताए   । 


मेयर राईले नगरपालिकाले चालु शैक्षिकवर्षदेखि पठनपाठन गराउनेगरी सम्बन्धन दिएको भन्दै बेलटारकै ज्योति माविमा विज्ञान विषयको पढाई सुरु भईसकेको जानकारी दिए । उनले कालिका माविमा कानुन विषयको पढाई सुरु भएपछि दुई महत्वपूर्ण विषय अध्ययन गर्न चौदण्डीगढी नगरबासीले महँगो खर्च, समय र मेहनेत धानेर बाहिर पठाउनुपर्ने बाध्यता हटेको बताए । 


आफुलाई पनि कानुन विषय रुचि लाग्ने भन्दै मेयर राईले बिबिध कारणले आफुले पढ्न नपाए पनि नगरबासीका छोराछोुरीलाई पढ्न पाउने वातावरण बनाउन सकेकोमा सपना पुरा भएजस्तो लागेको बताए । आफ्नै गाउँठाउँमा बसेर सबैखाले शिक्षा दिक्षा पाउने व्यवस्था मिलाउन नगरपालिकाले थप पहल गर्दै जाने प्रतिबद्धता पनि मेयर राईले व्यक्त गरे । 


चौदण्डीगढी ६ का वडाध्यक्ष कमलध्वज राईले आफ्नै वडाका दुई विद्यालयमा कृषि, विज्ञान र कानुन विषयको पठनपाठन गराउनु ठूलो उपलब्धी भएको बताए । उनले शैक्षिक संस्थाहरु वडा र नगरपालिकाकै मुख्य सम्पत्ति भएकाले दिनरात त्यसको प्रगति र उन्नतिका लागि खट्दै आएको बताए । 


आम वडावासीका बालबच्चा शिक्षित भएमा सिंगो वडा र नगरपालिका मात्र नभएर भविष्यमा देशलाई आवश्यक दक्ष शैक्षिक जनशक्तिको खाँचो नपर्ने वडाध्यक्ष राईले बताए । समाज शिक्षित भएमा समग्रह राष्ट्रको समृद्धि हुने उनको विश्वास थियो । वडाध्यक्ष राईले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थीलाई निःशूल्क पाठ्यसामग्री (कलम कापी) उपलब्ध गराउने वाचा पनि गरे ।