रित्तियो कोविड अस्पताल, १ सय ४५ ले उपचार पाए

२0७७ मंसिर २७ शनिबार
रित्तियो कोविड अस्पताल, १ सय ४५ ले उपचार पाए

बेलटार

सञ्चानलमा आएको झण्डै ६ महिनापछि ‘उदयपुर कोविड अस्पताल, बेलटार’ का सबै संक्रमित निको भएर फर्केका छन् । कोविड संक्रमण बढ्दै गएपछि उदयपुरका ८ स्थानीयतहको पहलमा चौदण्डीगढी नगरपालिका ६ बेलटार सातधारेमा सञ्चालित अस्पतालका सबै विरामी निको भएर फर्केका हुन् । 


पछिल्लो समय संक्रमित ३ महिलासहित ७ संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरु सबै डिस्चार्ज भएसँगै अस्पताल रित्तिएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेले बताए । पोखरेल स्वयं पनि दुईसाताअघि संक्रमित भएर होम आईसोलेसनमा रहेका थिए । 


चौदण्डीगढीकै कांग्रेस नेता प्रशान्त राई तथा अन्य दुईजना संक्रमित पनि होम आईसोलेसनबाटै कोरोनालाई जित्न सफल भएको अस्पताल प्रमुखसमेत रहेका पोखरेलले बताए । दिनमा आधा दर्जनसम्म संक्रमित भर्ना हुन आएको अस्पतालमा एकताका ३६ जनासम्म विरामीको उपचार गर्दागर्दै पोखरेल आफै संक्रमित हुनपुगेका थिए । 


अहिलेसम्म सो अस्पतालमा ४५ महिलासहित १ सय ४५ जना संक्रमितको उपचार भईसकेको छ । उमेर समूह अनुसार ९ वर्षसम्मका २ बालिका, १० देखि १९ वर्षसम्मका ६ महिला ३ पुरुष, २० देखि ५९ वर्षसम्मका ३४ महिला र ९२ पुरुष तथा ६० वर्षमाथिका ३ महिला र ५ पुरुष संक्रमित निको भएको पोखरेलले बताए । 


चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले पछिल्लो दुईसातायता ११ संक्रमित भेटिएकोमा ७ जनाको अस्पतालमा र ४ जना घरमै आईसोलेसनमा बसेर निको भएको बताए । उनका अनुसार जिल्लामा कोविड संक्रमण उच्च हुँदै गएपछि जिल्लाका ८ वटै स्थानीयतह मिलेर बेलटचारमा कोविड अस्पताल सञ्चालनमा ल्याउँदा स्थानीय संक्रमितलाई धेरै सहज भएको छ । सशस्त्र प्रहरी बलको व्यारेक राख्न दुईवर्षअघि नगरपालिकाले निर्माण गरेको संरचनामै कोविड अस्पताल सञ्चानलमा ल्याउँदा जिल्लाभरीका  जनतालाई फाइदा भएको मेयर राईले बताए ।    


राईका अनुसार त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाले १५ लाखका दरले सहयोग दिदा लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकाले १० लाखका दरले बजेट दिएपछि अस्पताल सञ्चालन गर्दै नयाँ भवन बनाउन सहज भएको हो । त्रियुगा नगरप्रमुख बलदेव चौधरी अध्यक्षताको स्थानीयतहहरुको छाता संगठन ‘उदयपुर विकास बोर्ड’ को पहलमा कोविड उपचार गर्न अस्पताल खोलिएको हो । बोर्डको सचिव बेलका नगरप्रमुख दुर्गाकुमार थापा, कोषाध्यक्ष चौदण्डीगढी मेयर खगेन्द्र राई छन् भने अन्य स्थानीयतह प्रमुख सदस्य रहेका छन् ।  


दुईवर्षअघि निर्मित सशस्त्र प्रहरीका ४ वटा ब्लक रहेको खाली जग्गामा टेन्ट टाँगेर उपचार सेवा सुरु भएको अस्पताललाई दीर्घकालीन सेवा दिने उदेश्यले नयाँ पक्की भवन सम्पन्नको पूर्व संध्यामा पुगेको छ । २ करोड ६८ लाख १८ हजार २ सय १३ रुपैंया लागतमा निर्माणको अन्तिम चरणमा पुगेको ट्रस प्रविधिको भवनमा ८ स्थानीयतहबाट १ करोड र स्वीस सरकारले १ करोड ५० लाख सहयोग गरेको मेयर राईले बताएका छन् । अपुग रकम प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट लगाउने सल्लाह भईरहेको बताइएको छ ।  


भवन निर्माण भएपछि दुईजना विशेषज्ञ डा.को व्यवस्था गरेर कोविड अस्पताललाई साधारण अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने लक्ष्य उदयपुर विकास बोर्डले लिएको जनाएको छ ।