३
२0७७ मंसिर २६ शुक्रबारजलजले
कोविड महामारीले थलिएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) तङ्ग्रदै गएको छ । कोविड लकडाउनले ५ महिना चल्न नपाउँदा करोडौं घाटा बेहोर्न बाध्य उद्योग भदौदेखि आंशिक उत्पादन थाल्दै विस्तारो लय समात्न थालेको छ ।
भौतिक पूर्वाधार निर्माणको मुख्य सिजनमै लकडाउन जारी भएपछि गैंडा सिमेन्ट उत्पादक पूर्ण सरकारी स्वामित्वको उद्योगले न उत्पादन गर्न पायो न त गोदाममा थन्क्याएको तयारी सिमेन्ट विक्री गर्न नै । एकातिर उत्पादन नहुनु, अर्कातिर विक्री गर्न नपाउनुका साथै झण्डै ४ सय कर्मचारी मजदुरलाई विना काम तलबभत्ता पेल्नुपर्दा ठूलो धक्का लागेको महाप्रबन्धक (जिएम) नवलकिशोर साहले बताए ।
कोरोना डरले मजदुर कर्मचारी उद्योग छिर्नै नपाएपछि उत्पादन, विक्री रोकिनुका साथै ५ महिना लामो अवधिको कर्मचारी भरणपोषणले अतिरिक्त व्ययभार थपिन गएपछि गत आर्थिक वर्ष उद्योगलाई करोडौं घाटा लागेको साहले बताए । घाटा बढ्न नदिन उद्योगले साउनयता सामाजिक सुरक्षा सतर्कता अपनाउदै आंशिक उद्योग सञ्चालन गर्न थालेपछि उत्पादन र विक्री विस्तारै सहज हुदै गएको छ ।
अहिले उद्योग पूर्णरुपमा सञ्चालनमा आएर तङ्ग्रदै आएको छ । कोविड अवधिमा ४/५ महिना चल्न नपाएपछि उद्योगका यन्त्र उपकरणमा खिया लागेर मर्मत सम्भार गर्नुपर्दा धेरै खर्च लागेको जिएम साहले बताए । फलामका यन्त्र उपकरण कोरोनाले लामो समयसम्म चल्न नपाउँदा खिया लागेर सबै मर्मत गर्नुपर्ने अवस्था आईपरेको छ । मर्मत गर्नुपरेकाले साउनभरी उत्पादन हुन नसकेको उनले बताए ।
दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमता रहेको उद्योगले भदौदेखि झिनो मात्रामा उत्पादन थालेको हो । भदौमा ६ हजार मेट्रिक टन अर्थात १ लाख २६ हजार बोरा उत्पादन गरेको उद्योगले असोजमा पनि त्यत्ति नै गरेको थियो । कात्तिकमा भने ११ हजार टन उत्पादन गरे पनि मंसिरमा ३ हजार टन उत्पादन हुँदै पुनः मर्मत गर्नुपरेको उत्पादन महाशाखा प्रमुख सञ्जजयलाल कर्णले बताए । उनका अनुसार मर्मत सकिएर २५ गते रातिदेखि फाईरिङ भई उत्पादन सुचारु भईसकेको छ ।
कोविडकै कारण चालु वर्षको मंसिर २५ सम्ममा २३ हजार २ सय ५० टन अर्थात ४ लाख ८८ हजार २ सय ५० बोरा सिमेन्ट उत्पादन भएको कर्णले बताए । नेपालको उत्कृष्ट गैंडा सिमेन्ट एसियाकै गुणस्तरीय प्रमाणित भईसकेको हुनाले यसको बजार अत्याधिक फराकिलो छ । तर, जताततै नीजि सिमेन्ट कम्पनी खुल्न थालेपछि गैंडा सिमेन्ट पछिल्लो समय व्यापारिक सिन्डिेकट र नाफाखोरहरुको घेराउमा फस्दै गएको छ ।
पछिल्लो समय गैंडाको विक्री सुध्रदो रहेको र साउनदेखि दैनिक सरदर ५/६ हजार बोरा विक्ने गरेको विक्री विभाग प्रमखु रामबहादुर जिसीले बताए । उनका अनुसार कोविडकै बीचमा पनि साउनमा ७८ हजार ४ सय ४९ बोरा बिकेको थियो । भदौमा ५५ हजार ७ सय २४, असोजमा १ लाख १२ हजार ७ सय १६, कात्तिकमा ८७ हजार ३ सय १८ बोरा बिकेकोमा मंसिरमा २५ गतेसम्म १ लाख २८ अजार १ सय ७३ बोरा विकेको उनले बताए । जिसीले साउनदेखि अलिहेसम्म ४ लाख ६२ हजार ४ सय ३० बोरा सिमेन्ट बिक्रीबाट ३४ करोड २७ लाख ९० हजार १ सय १० रुपैंया आम्दानी भएको बताए ।
कोविडका कारण आर्थिकवर्ष ०७६/७७ मा उद्योगलाई ठूलो नोक्सानी भएको आर्थिक विभाग प्रमुख कमल पौडेलले बताए । उनका अनुसार कोविडकै कारण गतवर्ष ८५ हजार ५ सय टन अर्थात १७ लाख ९५ हजार ५ सय बोरा मात्र सिमेन्ट उत्पादन भएकोमा १६ लाख ४१ हजार ४७ बोरा मात्र सिमेन्ट बिकेको थियो । जसबाट उद्योगलाई १ अर्व ९ करोड ५ लाख ९३ हजार ५० रुपैंया फाईदा भएको पौडेलले बताए । बेलाबेलामा २०३० रुपैंयाका दरले मूल्य घटबढ भईरहने गैंडाको हालको भाउ प्रतिबोरा ७ सय ४१ रुपैंया २८ पैसा कायम गरिएको छ ।