हिंसाविरुद्ध बतृत्वकलामा कटुवाल प्रथम 

२0७७ मंसिर २४ बुधबार
हिंसाविरुद्ध बतृत्वकलामा कटुवाल प्रथम 

जोगीदह (उदयपुर)

‘अन्तराष्ट्रिय लैगिक हिंसाविरुद्धको १६ दिने अभियान’को अवसरमा आयोजित विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा बालकुमार कटुवाल प्रथम भएका छन् । महिला सशक्तिकरण स्रोत केन्द्रको आयोजनामा त्रियुगा नगरपालिका २ जोगीदहस्थित जनता माध्यामिक विद्यालयमा बुधबार सम्पन्न प्रतियोगितामा जमावि जोगीदहका कटुवाल प्रथम भएका हुन् । 


‘लैंगिक हिंसा न्यूनिकरणका लागि युवा र विद्यार्थीको भूमिका’ विषयक बक्तृत्वकलामा प्रथम हुने कटुवाल कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । सोही विद्यालयका कक्षा १० कै बच्चन सुनाम दोस्रो, कक्षा ८ का गगन खड्का तेस्रो भएको प्रतियोगितामा जनप्रेमि मावि पूर्वटोलका कक्षा १० कै विद्यार्थी राजकुमार खड्काले सान्त्वना स्थान पाएका छन् । पुरस्कृतहरुलाई प्रदेश सांसद अम्बिका थापा, त्रियुगा नगर उपप्रमुख देवी चौधरी, त्रियुगा १ का वडाध्यक्ष मनोज चौधरी, २ का कार्यबाहक अध्यक्ष मनकुमारी विकलगायले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।


वक्तृत्वकलामा प्रतिस्पर्धीले युवा विद्यार्थीले आफुमाथि भएको हिंसा पहिचान गर्ने, यसको विरुद्ध आवाज उठाउने र भविष्यमा हुनसक्ने संभावित हिंसा र दुब्र्यबहारको प्रतिकार गर्नुपर्नेमा जोड दिएका थिए । हिंसाविरुद्ध प्रतिकार गरे मात्र आफु सुरक्षित हुदै समाजमा अरुलाई पनि सुरक्षित गर्न सकिने उनीहरुको सन्देश थियो । बक्तृत्वकलामा दुवै विद्यालयका ९ र १० कक्षाका ५ छात्रा ६ छात्रको सहभागिता रहेको आयोजक सदस्य अप्सरा समालले बताईन् ।


विजयी प्रतियोगिलाई पुरस्कृत गर्दै प्रमुख अतिथि सांसद थापाले समाजमा विद्यमान परम्परागत संस्कार र संस्कृतिले हिंसालाई बढावा दिएको बताईन् । उनले मृत्युदण्डको व्यवस्था नभएको नेपालमा  महिला र बालिकामाथी श्रृङखलाबद्ध हुँदै आएको हिंसा र बलात्कार अन्त्यका लागि फाँसीको सजाय हुनुपर्ने माग आफुले संसदमा उठाएको बताईन् । 


विशेष अतिथि त्रियुगा नगरउपप्रमुख देवी चौधरीले लैगिंक अपाङ्ग, अति बिपन्न, गरिव र निम्न वर्गका हिंसामा उजुरी गर्न नसक्नेहरु बढीजसो लैगिंक हिंसामा पर्ने गरेको बताईन् । अहिले कोविडका कारण लकडाउन हुँदा जताततै महिला र बालबालिकाले हिंसा सहन बाध्य हुनुपरेको उनको भनाई थियो । 


स्रोतकेन्द्रकी उपाध्यक्ष माया भण्डारीको अध्यक्षतामा सम्पन्न् कार्यक्रम जमावि जोगीदह, वडा १ र २ को सहकार्य, मेरिस्टोपस सेन्टर, संयुक्त राष्ट्र संघ जनसंख्या विकास कोस (युएनएफपिए) र अस्ट्रलियन एड तथा सुनौलो परिवार नेपालको सहयोगमा सम्पन्न भएको हो । 


कार्यक्रममा गैसस  महासंघ केन्द्रीय सल्लाहाकार सृजना दनुवार, संगम पुस्तकालयका अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई, महासंघका पूर्व अध्यक्ष महेश्वर चामलिङ, व्याटमिन्टन संघका अध्यक्ष शम्भुप्रसाद शर्मा, तरुल दलका उपाध्यक्ष गौरीनारायण चौधरी, टोल विकास संस्थाका अध्यक्षहरु, शिक्षक, अभिभावक र विद्यार्थीको उल्येख्य सहभागिता थियो ।


‘लैगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सवैको ऐक्यबद्धता’ भन्ने नारासहित जारी १६ दिने अभियान हरेक अंग्रेजि महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ । मंसिर १० देखि २५ गतेसम्म सञ्चालन हुने दिवस यो वर्षको अभियान बिहीबार विधिवत रुपमा समापन हुनेछ ।