उदयपुरमा स्वास्थ्य वीमा कार्यक्रम सुरु 

२0७७ मंसिर २४ बुधबार
उदयपुरमा स्वास्थ्य वीमा कार्यक्रम सुरु 

गाईघाट
ललित राई


नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको ६१ औ जÞिल्लाको रुपमा उदयपुरमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । बुधबार गाईघाटमा आयोजित एक कार्यक्रमका बीच उदयपुर स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ भएको हो ।


गाईघाटमा आयोजित कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले त्रियुगा नगरपालिकाका जेष्ठ नागरिक भुवनसिंह श्रेष्ठलाई स्वास्थ्य बिमा कार्ड बितरण गर्दै कार्यक्रमको सुभारम्भ गरिन् । थापा स्वयंले दोस्रो बिमितको परिचय पत्र बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर गड्तौलाबाट बुझिन् भने बेलका नगरप्रमुख दुर्गाकुमार थापाले त्रियुगा नगरपालिका ७ का वडाध्यक्ष एवं साविक भुमरसुवा गाविसका पूर्व अध्यक्ष भीमबहादुर पुलामीलाई कार्ड हस्तान्तरण गरे ।


चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले चौथों बिमितको कार्ड त्रियुगाकी धनमाया मगरलाई  हस्तान्तरण गरे भने पाँचौ बिमित त्रियुगाकै कुलप्रसाद भण्डारीलाई त्रियुगा नगरउपप्रमुख देवी चौधरीले हस्तान्तरण गरिन् । 
    

कार्यक्रममा सांसद थापाले संविधानको धारा ३५ मा व्यवस्था भए बमोजिम हरेक नागरिकको स्वास्थ्य सेवा लिन पाउने मौलिक अधिकारको बिमा दर्ता प्रक्रियाले कार्यान्वयन गर्ने बताईन् । उनका अनुसार चालु आर्थिकवर्ष प्रदेश नं १ सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता राखेर कार्यक्रम अघि बढाईरहेको बताईन् । 


बेलका नगरप्रमुख दुर्गाकुमार थापाले स्वास्थ्य बिमा कार्यक्रमलाई गरिव र बिपन्न नागरिकसम्म पुर्याउनुपर्नेमा जोड दिदै बेलकाले त्यस्तो कार्यको थालनी गर्ने प्रतिबद्धता जनाए । उनले गरिवी र बिपन्न बर्गले प्रिमियम तिर्न नसकेमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताउँदै बेलकाले बिपन्न तथा गरिब नागरिकको प्रिमियम तिरीदिने संकेत गरे ।     उनले बेलका नगरबासीको आर्थिक स्तर मापन गरिसकिएको बताउँदै प्रिमियम तिर्न नसक्ने नगरबासीलाई नगरपालिकाबाट सहयोग गर्ने योजना सुनाए । 


स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न नगरस्तरीय अस्पताल पनि स्थापना भईसकेको र प्रदेशमै सम्भवत पहिलो पटक आयुर्वेदिक औषधालय स्थापना गरेर निःशुल्क औषधि बितरण कार्यसमेत थालेको मेयर थापाले बताए । 

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बिमा कार्यक्रम लागु भएपछि नगरबासीको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने सहयोगको भार कम हुने बताए । उनले हरेक वर्ष बिपन्न नगरबासीलाई उपचार खर्चमा लाग्दै आएको आर्थिक सहयोगमा यसले कमी ल्याउने अपेक्षा गरिएको बताउँदै बिमा कार्यक्रमको सफलताको कामना गरे ।

प्रदेश नं १ का १४ मध्ये उदयपुर स्वास्थ्य बिमा कार्यक्रम लागु भएको १२ औ जिल्ला भएको  राष्ट्रिय बिमा बोर्डका दुर्गाप्रसाद आचार्यले बताए । उनका अनुसार बाँकी २ जिल्लाहरु पाँचथर र ताप्लेजुङमा पनि चाँडै कार्यक्रम सुरु हुने बताए । उनका अनुसार उदयपुरमा आउँदो फागुन १ गतेदेखि स्वास्थ्य बिमा सेवा लिन सकिनेछ ।


बोर्डका अनुसार ५ जना परिवारका लागि वार्षिक ३ हजार ५ सय प्रिमियर लाग्ने बिमाका लागि थप प्रतिव्यक्ति ७ सय अतिरिक्त शूल्क प्रिमियम लाग्नेछ । हरेक बिमितले १ लाख रुपैयाँसम्मको औषधि उपचारको सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट लिनसक्ने नियम छ । ५ वर्षअघि अर्थात ०७२ साल चैत २५ गते पहिलोपटक कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा ६१ औं जिल्लाको रुपमा उदयपुरमा लागू गरिएको बोर्डको भनाई छ ।