निशूल्क जग्गा दिनेलाई मुख्यमन्त्रीको सम्मान

२0७७ मंसिर २४ बुधबार
निशूल्क जग्गा दिनेलाई मुख्यमन्त्रीको सम्मान

बेलका
नगरको विकास निर्माणका लागि निशूल्क जग्गा दिने बेलका नगरपालिकाका ३ परिवारलाई मुख्यमन्त्री शेरधन राईले सम्मान गरेका छन् । नगरपालिकाको ४ नं. वडा भवन, आधारभूत स्वास्थ्य केन्द्र र ९ नं. वडाको सिटीहल बनाउन निशूल्क जग्गा दिने परिवार मंगलबार  मुख्यमन्त्रीद्वारा सम्मानित भएका हुन् । 


४ नं. को वडा भवन बनाउन ५० लाख बराबरको १ कठ्ठा जग्गा दिने सोही ठाउँका डम्बरबहादुर तामाङ र छोराहरु मनोज तथा गणेश तामाङलाई मुख्यमन्त्री राईले खादा, माला र अविर तथा सम्मानपत्र प्रदान गरे । सोही वडामा आधारभूत स्वास्थ्य चौकी बनाउन ६० लाख मूल्यको ३ कठ्ठा जमिन दिने रत्नमाया आलेमगर परिवारलाई चौकी उद्घाटनपछि मुख्यमन्त्री राईले सम्मान गरे । 


त्यस्तै वडा नं. ९ रामपुरमा सिटीहल बनाउन ७५ लाख मूल्यको १ कठ्ठा ४ धुर जग्गा दिएकी विन्दादेवी सेँढाई र छोराहरु शसी तथा सुशील सेंढाईलाई सम्मान गरियो । सिटीहल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले सेंढाई परिवारलाई सम्मान गरे । 


जग्गादातालाई सम्मान गर्दै मुख्यमन्त्री राईले आफ्नो ठाउँको विकासका लागि मँहगो मूल्यको जमिन निशूल्क दिएर सहयोग गर्ने खुला दिनका धनीहरु महान् भएको भन्दै प्रशंसा गरे ।  स्थानीय विकासमा यसरी सबैको जनसहभागिता जुट्यो भने समृद्धि छिट्टै हात पर्ने भन्दै राईले विगतमा वर्षौं लाग्ने विकास योजनाहरु संघीयता आएपछि २–३ वर्षभित्रै निर्माण हुन थालेको बताए । मुलुकको विकास गर्ने फराकिलो लोकमार्ग संघीयता र गणतन्त्रले बनाईदिएको भन्दै राईले अव एकताबद्ध भएर समृद्धिको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।


विगतमा सरकार ढाल्ने र बनाउने खेलमा सबै विकास निर्माणका कामहरु पछि परेको भन्दै उनले अवको राजनीतिक स्थीरताले विकासलाई मुल लक्ष्य बनाएर अघि बढ्ने अवसर दिएको हुनाले त्यस अनुसार लागेर समृद्धि हात पार्नुपर्ने बताए । स्थानीय, प्रदेश र संघ ३ वटै तहमा नेकपाको पूर्ण बहुमत सरकार भएको बेला विकास र समृद्धि मात्र उदेश्य हुनुपर्नेमा मुख्यमन्त्री राईको जोड थियो । 


वर्षौंदेखि विकराल समस्याको रुपमा रहेको भूमि व्यवस्थापन अव सुरु भईसकेको र बेलकामा पनि छिट्टै लालपुर्जा वितरणको काम हुने अपेक्षा गरेको राईले बताए । भूमि व्यवस्थापन आयोगले प्रदेश १ का ३० वटा स्थानीयतहमा भूमि व्यवस्थापन गर्ने गरी सम्झौता भईसकेको बताउादै मुख्यमन्त्री राईले अव प्रदेशका अव्यवस्थित बसोबासी, सुकुम्बासी र भूमिहीन किसान जग्गाधनी पुर्जा लिएर जमिनको स्वामित्व ग्रहण गर्ने दिन नजिकिएको बताए । 


कार्यक्रममा बेलका नगरप्रमुख दुर्गाकुमार थापाले ४०–५० वर्षमा नभएको विकास बेलका नगरपालिका गठन भएपछिको ३ वर्षमै देख्न पाइएको बताए । बेलकालाई १ नं. प्रदेशकै नमूना नगरपालिका बनाउने लक्ष्यका साथ आफ अघि बढिरहेको भन्दै मेयर थापाले त्यस अभियानमा नगरबासीको साथ सहयोग हुनुपर्ने बताए । प्रदेश सरकारबाट पनि आफ्नो अभियानमा सक्दो सहयोग गर्न थापाले मुख्यमन्त्रीलाई आग्रह गरे । 


बेलकामा भूमि व्यवस्थापनको काम अघि बढिसकेको भन्दै मेयर थापाले प्रदेशमा सबभन्दा पहिले बेलका नगरपालिकाका जनताले लालपुर्जा पाउने बताए । उनले भूमि व्यवस्थापनको काम तिब्रगतिमा अघि बढिरहेकाले मुख्यमन्त्रीको हातबाट छिट्टै लालपुर्जा वितरण गराएर नगरबासीलाई जग्गाधनी बनाउने प्रतिबद्धता जनाए ।