मुख्यमन्त्री राईद्वारा बेलकामा एकैदिन ९ योजना उद्घाटन

२0७७ मंसिर २३ मंगलवार
मुख्यमन्त्री राईद्वारा बेलकामा एकैदिन ९ योजना उद्घाटन

बेलका


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उदयपुरको बेलका नगरपालिकामा सम्पन्न ९ वटा योजनाको एकैदिन मंगलबार उद्घाटन गरेका छन् । विहान १०ः०० बजे बेलका नगरपालिका प्रवशे गरेका मुख्यमन्त्री राईले वडा नं. ८ मा २१ लाख ८२ हजार ५१ रुपैंयाको लागतमा निर्मित चक्रपुरस्थित ट्रस प्रविधिको पुलसँगै बिभिन्न योजनाहरुको उद्घाटन गरेका हुन् । 
    

नगरपालिकाले आफ्नो लगानी र प्रदेश सरकारको सहयोगमा निर्मित बिभिन्न संरचनाहरुको एकैचोटी उद्घाटन गर्न मुख्यमन्त्री राई बेलका आएका हुन् । चक्रपुर पुल उद्घाटनपछि वडा नं. ५ को ३१ लाख ६२ हजार ४ सय ८३ मा निर्मित वडा प्रशासनिक भवनको उद्घाटन गरे भने  त्यसलगत्तै २२ लाख २१ हजार ६ सय २५ रुपैंयामा निर्माण भएको वडा नं. ४ नं.प्रशासनिक भवन र सोही वडामा निर्मित ३० लाख ४९ हजार ८ सय ९३ रुपैंयाको आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरे ।


त्यसलगत्तै उनले वडा नं. ३ मा सञ्चालित कोविड नगर क्वारेन्टाईन केन्द्र भवनको उद्घाटन गरेपछि मुख्यमन्त्री राई वडा नं. ६ को २५ लाख ५ हजार ४ सय ९ रुपैंयामा निर्मित वडा प्रशासनिक भवनको उद्घाटन गर्न पुगे । त्यसैगरी, बेलका ९ रामपुर बजारस्थित स्थानीय विन्दादेवी सेंढाई तथा छोराहरु शसी र सुशील सेंढाईले निशूल्क दान गरेको ५० लाख बढीको जमिनमा निर्मित ३६ लाख रुपैंयाको बेलका सिटी हलको उद्द्धाटन गरे । 


त्यसपछि मुख्यमन्त्री राईले सोही वडामा प्रदेश सरकारको ४२ लाख ४७ हजार ५ सय २३ सहयोगमा निर्मित खसी बोका संकलन केन्द्र भवन र ९ नं. मै ८ लाख रुपैंंयामा निर्मित महिला सुरक्षा आवास गृहको पनि उद्घाटन गरे । अन्तिममा उनले रामपुरमै निर्माण भएको आदिबासी जनजाति महासंघ भवनको पनि उद्घाटन गरेका थिए । 


तत्कालीन रामपुर ठोक्शीलदा गाविस र जिल्ला विकास समितिको वहुवर्षीय योजना अन्तरगत सानो रकमबाट सुरु भएकोमहासंघ भवन गत आर्थिकवर्ष नगरपालिकाको १२ लाख र प्रदेशसभा सदस्य विमल कार्कीको १० लाखसहित ३२ लाख खर्च भएको आदिबासी जनजाति महासंघ बेलकाका अध्यक्ष ललित राईले बताए । 


पूर्वाधार संरचनाको उद्घाटनका क्रममा ४ नं. दिपक दंगाल, ६ नं. वडाध्यक्ष बसन्त मगरलगायतले मुख्यमन्त्री राईसँग बिभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका थिए । उद्घाटनपछि जनजाति महासंघ परिसरमै आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले बेलकाको विकास निर्माणमा मारेको फड्को गर्व गर्नलायक भएको भन्दै नगर जनप्रतिनिधिहरुको प्रशंसा गरे । 


मन्तव्यको क्रममा मुख्यमन्त्री राईले देशमा प्राप्त संघीय गणतन्त्रसहितको राज्य व्यवस्थाले पछिल्लो समय विकास र समृद्धिको ढोका खुलेको भन्दै अव समृद्धिको अभियानमा हातेमालो गरेर अघि बढ्न आग्रह गरे ।    मुख्यमन्त्री राईले पछिल्लो राज्य पुनर्संरचनासँगै देशमा संघीय गणतान्त्रिक व्यवस्थाले जताततै विकासको मूल फुटेको बताउँदै संघीयतासँगै पुनर्संरचित स्थानीयतह, प्रदेश र संघीय ३ तहको सरकारको अभ्यासले ३ वर्षकै छोटो अवधिमा विकासको परिणाम देखिन थालेको बताए ।


एकात्मक राज्यसत्तामा दलीय किचलो, द्वन्द्व र लडाँई झगडाले गरिखान नसक्ने अवस्थामा पुगेका जनातालाई संघीय गणतन्त्र आएपछि राजनीतिक स्थीरतासँगै देशमा विकास र समृद्धिको फराकिलो लोकमार्ग खुलेको र त्यो लोकमार्ग भएर समृद्धिको यात्रामा सबै नेपालीजन लागिसकेको मुख्यमन्त्री राईले बताए । राजनीतिक परिवर्तनपछि प्राप्त संघीय गणतन्त्रपछि भएको चुनावमा जनताले झण्डै दुईतिहाई मत दिएर त्यसको कार्यान्वयन गर्न आदेश दिए अनुसार ३ तहको नेकपा सरकारले विकास र समृद्धिमा सफलता पाईरहेको उनको भनाई थियो ।


पहिले ६ महिना, ९ महिना, १ वर्ष र १८ महिनाभन्दा लामो समय सरकार नटिक्ने गरेको अनुभव सुनाउँदै मुख्यमन्त्री राईले देशमा पैदा भएको चरम अस्थीरता संघीयता प्राप्तीसँगै हटेर नेकपाले दीगो र स्थायी सरकार गठन गरेको बताए । ‘राजनीतिक अस्थीरताका कारण सानासाना विकास निर्माणका कामहरुसमेत वर्षौं लगाएर पुरा गर्नुपर्ने बाध्यता थियो, तर अव त्यस्तो समस्या छैन’ उनले भने ‘राजनीतिक परिवर्तनपछि प्राप्त संघीयताले मुलुकमा दु्रतगतिमा विकास निर्माणका कामहरु भईरहेका छन् ।’


मुख्यमन्त्री राईले संघीयतापछि सुखी नेपाली र समृद्ध नेपालको साझा परिकल्पना र आकांक्षा लिएर अघि बढेको नेकपा सरकार लक्ष्य प्राप्तीको दिसामा अघि बढिरहेको बताए । ‘हिजो हामी हिड्ने गोरेटो बाटोहरु साना थिए, हिड्दा अल्मलिनुपथ्र्यो । एउटा सानो झोलुंगे पुल, कच्ची सडक बनाउन वर्षौं कुर्नुपथ्र्यो’ मुख्यमन्त्री राईले भने ‘अव त्यस्तो समस्या छैन, हामी विशाल लोकमार्गमा समृद्धिको अभियानको यात्रामा निस्केका छौं, अव विकास कसरी गर्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा आईसकयो ।’


उनले २ वर्षअघि आफैले सिल्यान्यास गरेको भोजपुरको कालोपत्रे सडक भर्खर उद्घाटन गरेको सुनाए । ‘संघीयता आउनुअघि र पछि कामको गति कति फरक छ, तपाँई हामीले देखिरहेका छौं’ उनले भने ‘३ वर्षमा बेलकामा ९ वटा संरचना बनिसक्यो र आज मैले उद्घाटन गरेँ, अव पहिले १० वर्षमा हुने काम ३ वर्षभित्र हुन्छ, ढुक्क हुनुहोस् ।’


०७२ को संविधानले नेपालका सबै जातजाति, भाषाभाषी, समुदाय, बर्ग र लिंगको अधिकार समेटेको हुनाले संघीय गणतन्त्र सबैका लागि प्यारो व्यवस्था भएकोमा उनको जोड थियो ।  कतिपयले संघीयता नरुचाउने भएकाले अस्थीरता निम्त्याउन खोजेको भन्दै उनले संघीयतामाथि धावा बोल्ने तत्वहरुवको सपना चक्नाचुर हुने बताए । 


सत्तारुढ नेकपाभित्र हाल भईरहेको आन्तरिक किचलो पार्टीको बिलकुल आन्तरिक मामिला भएको भन्दै राईले त्यसको समाधान पार्टीभित्रै बैठकबाट हुनुपर्ने बताए । सामान्य बिबाद र अन्तरबिरोधले पार्टी कुनै हालतमा नफुट्ने दावी गर्दै केन्द्रीय सदस्य तथा १ नं. प्रदेश सहइन्चार्ज  रहेका मुख्यमन्त्री राईले दुई अध्यक्षबीचको असमझदारीको टंगो स्थायी समिति बैठकले लगाउने बताए ।


पार्टीभित्रको बिबादको समाधान सचिवालय वा स्थायी समिति बैठकले गर्ने र नभए केन्द्रीय समिति र आउँदो महाधिवेशनबाट टुंगो लाग्ने मुख्यमन्त्री राईले बताए । उनले आउँदो महाविधेशनबाट पार्टीमा नयाँ विचार, नयाँ नीति, नयाँ सिद्धान्त र नयाँ नेतृत्वको टुंगो लगाउने भन्दै तमाम नेता कार्यकर्ता कोही पनि पार्टी फुटोस् भन्ने पक्षमा नरहेको स्पष्ट पारे ।


नेकपा प्रदेश सचिव तथा केन्द्रीय सदस्यसमेत रहेको उदयपुर क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई (हिमाल) ले नेकपाको ३ तहको सरकार आआफ्नो ठाउँबाट विकास र समृद्धिको अभियानमा खटिरहेको बताए । उनले केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेशमा मुख्यमन्त्री शेरधन राई र बेलकामा मेयर दुर्गाकुमार थापा सबै समृद्धिको अभियानमा लागिरहेको बताउँदै नेकपा ३ वटै तहमा सक्रिय भएर जनताको इच्छा आकांक्षा पुरा गर्ने अभियानमा लागेको बताए । उनले सबै नेता कार्यकर्ता र जनप्रतिनिधि लागेर देश र जनतालाई सुखी र समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । 


सांसद राईले उदयपुर, सुनसरी, भोजपुर, खोटाङ र ओखलढुंगासमेतलाई महत्वपूर्ण सहयोग पुग्ने कोसी करिडोरको अवरुद्ध सडक निर्माणको काम अव छिट्टै सुचारु गर्नेगरी संघीय सरकार अघि बढेको बताए । नेकपाको सरकार गठन हुनुअघिको चुनावमा वाचा गरे अनुसार खानेपानी, विद्युत, सडकलगायत विकास निर्माणका काममा पार्टी र आफुहरु एकताबद्ध भएर लागी पर्नेमा कसैलाई शंका नगर्न सांसद राईले आश्वस्त पारे । 


नगरप्रमुख दुर्गाकुमार थापाले बेलकालाई प्रदेशकै नमूना स्थानीयतह बनाउने योजनासाथ उत्पादनमा लागि परेको बताए । उनले कृषि व्यवसाय, पशुपालन र भौतिक पूर्वाधारलगायत पर्यटन र अव्यवस्थित बसोबास गर्दै आएका नगरबासीलाई व्यवस्थ्ति गर्ने दिसामा अघि बढिरहेको बताए । मेयर थापाले अव्यवस्थित बसोबास गर्ने नगरबासीलाई जग्गाको धनीपुर्जा दिनका लागि प्रक्रिया अघि बढिसकेको बताउँदै मुख्यमन्त्री शेरधन राईबाटै लालपुर्जा वितरण गर्ने योजना छिट्टै कार्यान्वयनमा ल्याउने वाचा गरे । 


समृद्ध बेलका बनाउने अभियानमा प्रदेश सरकारको तर्फबाट सहयोको याचना गर्दै मेयर थापाले प्रदेश र संघीय सरकारको सहयोग पाएमा बाँकी काममा नगरपालिका आफै सक्षम हुने बताए । 


उपमेयर राजकुमारी चौधरीले अतिथिहरुलाई स्वागत मन्त्वय राख्ने क्रममा महिला हिंसाविरोधी १६ दिने अभियान सफल पार्न आग्रह गर्दै बेलका हरेक क्षेत्रमा नमूना बन्ने अभियानमा लागिरहेको बताईन् । कार्यक्रममा प्रदेश सांसदहरु बिमल कार्की, अम्बिका थापा, नेकपा नगर अध्यक्ष मनोज तामाङलगायतले पनि समृद्ध बेलकाको नारालाई साकार रुप दिन सक्दो सहयोग गर्ने वाचा गरेका थिए । 


कार्यक्रमको दौरानमा बेलकाबासीको तर्फबाट वडाध्यक्षहरु दीपक दंगाल र बसन्त मगरले मुख्यमन्त्री राईलाई बिभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए भने बेलका जनता क्याम्पस गुरुङचौरीका क्याम्पस व्यवस्थापन समिति अध्यक्ष रमण भट्टराईले क्याम्पस विकासका लागि बिभिन्न माग राख्दै सांसद राईलाई ज्ञापनपत्र बुझाएका थिए । 

 

कार्यक्रम सुरु हुनुअघि बिभिन्न जातजातिका परम्परागत सांस्कृतिक झाँकीसहित कलाकारको टोलीले मुख्यमन्त्री राईलाई स्वागत गरेका थिए । त्यसैगरी कार्यक्रमको बीचबीचमा किरात राई समुदायको साकेला, नेवारको लाखे, थारु, थामीलगायत आदिबासी जनजाति झाँकीहरु प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकार खगेन्द्र थामी र दिना थामीले कर्णप्रिय स्वरबाट बेलकाको महिमा गान मिश्रिमत गीतले स्वागत गरेका थिए ।