११ वर्षीया बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

२0७७ मंसिर २३ मंगलवार
११ वर्षीया बालिका बलात्कार आरोपमा बृद्ध पक्राउ

उदयपुर


लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सकिन ४ दिन बाँकी रहँदा उदयपुरकी ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उदयपुरको बेलका नगपालिका ९ रामपुर बजारका ६३ वर्षीय पुरुष बलात्कार आरोपमा सोमबार पक्राउ परेका हुन् ।


रामपुरस्थित नवनिर्मित सिटी हलमा दिउँसो ३ः०० बजे ललाई फकाई शौचालयमा लगेर बलात्कार गरेको आरोपमा ६३ वर्षीय स्थानीय सूर्य पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर हरि खड्काका अनुसार रामपुर बजार हिडेकी बालिकालाई सिटी हल नजिकै कोही नभएको मौका छोपी जवरजस्ती गरेको उजुरीका आधारमा पोखरेललाई पक्राउ गरिएको हो ।


पोखरेललाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकै बेला बालिका बलात्कृत हुनु दुःखद पक्ष भएको उनले बताए । 


‘लैंगिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ देशभर गत नोभेम्बर २५ देखि यही डिसेम्बर १० (मंसिर २५) सम्म अभियान चलिरहेको छ । जस अन्तरगत सदरमुकामका बजारदेखि हरेक स्थानीयतह र वडावडामा हिंसाविरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गरिदैछन् ।