महिला हत्या आरोपी युवकलाई जन्मकैदको फैसला

२0७७ मंसिर २१ आईतवार
महिला हत्या आरोपी युवकलाई जन्मकैदको फैसला

उदयपुर, मंसिर २१


महिला हत्या आरोपी उदयपुरका एक युवकलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्लाको कटारी नगरपालिका ११ लखनथुम्काकी ५० वर्षीया डोरकुमारी राउतको हत्या आरोपमा सोही ठाउँका २५ वर्षीय रोशन मगरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको सजाय सुनाएको हो । 


धारिलो हतियार प्रहार गरी राउतको हत्या गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका मगरलाई अदालतले बिहीबार जन्मकैद र १ लाख जरिवानासमेतको फैसला सुनाएको  अदालतका सूचना अधिकारी राजकुमार आचार्यले बताए । 


जिल्ला न्यायाधीश दीपक खनालको एकल इजालासले उनलाई अपराधी करार गर्दै जन्मकैदसँगै नगद जरिवाना भराउने फैसला सुनाएको तहसिलदारसमेत रहेका सूचना अधिकारी आचार्यले बताएका छन् ।


गत भदौ २७ गते डोरकुमारीलाई घरमै धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा मगर पक्राउ परेका थिए । घट्नापछि इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरी अनुसन्धान अघि बढाउँदा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।