बसोबास गरेको ४ दशकपछि लालपुर्जा 

२0७७ मंसिर २0 शनिबार
बसोबास गरेको ४ दशकपछि लालपुर्जा 

उदयपुर


बसोबास र भोगचलन गर्दै आएको ४ दशकपछि उदयपुरका किसानले जग्गा धनीपुर्जा (लालपुर्जा) पाएका छन् । त्रियुगा नगरपालिका ५ बगाहाका ७२ घर परिवारले विगत २०२८ सालदेखि भोगचलन गर्दै आएको जमिनको निस्सा शुक्रबार प्राप्त गरेका हुन् । 


त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित १ नं. नापी टोलीले गाउँ ब्लकको जग्गा लालपुर्जा उनीहरुलाई वितरण गरेको हो । वर्षाँैदेखि चासभोग गर्दै आए पनि जमिनको आधिकारिक कागजात नभएको गाउँ ब्लकको जमिनको पुर्जा उनीहरुलाई वितरण गरिएको हो । 


राष्ट्रिय भूमि अधिकार मञ्चको लामो समयदेखिको संघर्षपछि अव्यवस्थित बसोबास गर्दै आएका किसानलाई जमिनको स्वामित्व हस्तान्तरण गरिएको मञ्चका उदयपुर संयोजक फुर्तिमान राईले बताए । उनका अनुसार जिल्लाका धेरै ठाउँमा यस्ता अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण सुरु गरिएको हो । उनका अनुुसार पुर्जा पाउने देउरीका ती किसान विगत २०२८ सालदेखि त्यहाा बसोवास गर्दै आएका थिए ।


चर्चदै आएको ४० वर्ष बिते पनि पुर्जाविहीन रहेका किसानले जग्गाको स्वामित्व झल्कने आधिकारिक प्रमाण पाएको राईले बताए । मञ्चले वास्तविक किसानलाई उनीहरुले भोगचलन गर्दै आएको जमिनको स्वामित्व दिनुपर्छ भन्दै ०६५ सालदेखि अभियान चलाउँदै आउको थियो । जस अनुसार गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गर्न राज्यलाई सहमत गराउन सफल भएको उनले बताए । 


मञ्चको निरन्तर संघर्षको परिणामस्वरुप किसानले पुर्जा पाएको उनको भनाई छ । वर्षौंदेखि भोगचास गर्दै आएको जमिनको लालपुर्जा पाएकोमा किसानहरु खुसी भएका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका किसानलाई अव्यवस्थित बसोबासीको नाममा पुर्जाविहीन बनाएर राखेको पीडाको अव अन्त्य भएको मञ्चका अध्यक्ष वीरबहादुर तामाङले बताए ।


गाउँ ब्लकको जमिनमा बसोबास गर्दै आएकालाई पुर्जा वितरण गरिएको यो पहिलो पटक हो । सुरुवातमा त्रियुगा ५ मा वितरण थालिएको र अव विस्तारै अन्यत्र पनि वितरण गर्ने योजना रहेको मञ्चले जनाएको छ । त्रियुगापछि चौदण्डीगढी र बेलका नगरपालिकामा पनि पुर्जा वितरण कार्यक्रम हुनेछ । त्यसपछि कटारी नगरपालिकाका बिभिन्न वडामा पनि पुर्जा वितरण गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ ।    


लालपुर्जा पाएपछि किसानलाई जमिनको सदुपयोग गर्ने बाटो खुलेको छ । पुर्जा पाएपछि किनबेच गर्न, बैंकमा धितो राखेर ऋण लिएर व्यापार व्यवसाय गर्न सहज भएको किसानको भनाई छ ।