३
२0७७ मंसिर २0 शनिबारतोविन देवकोटा
२०२८ को झापा आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीप्रति आकर्षित भएका उदयष्पुरका गौरवहादुर देवकोटा (मेरो बुबा) हाल प्रहरी कस्टडीको चिसो छिँडीमा रात बिताउँदै हुनुहुन्छ । प्रतिबन्धित समयदेखि नै कम्युनिष्ट पार्टीको सदस्य भईसक्नु भएका उहाँ बहुदल आएपछि नेकपा एमालेबाट तत्कालीन रुपाटार गाविस अध्यक्ष हुनु भयो । ०५४ सालको चुनावपछि जिल्ला विकास समिति सदस्य (क्षेत्रीय सदस्य) चुनिनु भयो । ०५२ देखि सुरु तत्कालीन नेकपा (माओवादी) को जनयुद्धलाई समर्थन गर्दै ऐतिहासिक राजनीतिक रुपान्तरणको अभियानमा लाग्नु भएका उहाँ माओबादी पार्टी फुटेसँगै मोहन वैद्य (किरण) नेतृत्वको नेकपा माओबादीमा समाहित हुनु भयो । वैद्य र नेत्रविक्रम चन्द (बिप्लव) बीच पुन फुट हुँदा उहाँ बिप्लप कित्तामा उभिनु भयो ।
बुबाले जीवनको सम्पूर्ण समय राजनीतिमा खर्चिनु भयो । राजनीतिमै व्यस्त हुनु परेकाले हाम्रो बाल्यकाल बुबाको अनुहार ५–६ महिनामा एक पटक देख्न पाउँथ्यौं । बुबाको राजनीतिक लगावकै कारण हामीलाई बाल्यकालमा हुर्काउने बढाउने सम्पूर्ण कामको बोझ आमा एक्लैले धान्नु पर्यो । बुबालाई घर परिवारभन्दा बढी राजनीति नै प्यारो थियो । राजनैतिक परिवर्तन भएमा आम शोषित पीडित जनताले मुक्ति पाउँछन् र देश विकास र समृद्धिले भरिपूर्ण हुन्छ भन्ने विश्वास उहाँमा थियो । राजनीतिक परिवर्तनबाट मात्रै निमुखा जनताको मुहारमा हाँसो र खुसी देख्न पाईन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो उहाँ ।
१० वर्षे जनयुद्ध अपूर्ण भएको भन्ने उहाँको ठहर थियो सायद । जनयुद्धको उपलब्धी पूर्ण नभए पनि आंसिक उपलब्धी भएकै हो भन्ने ठम्याई थियो सायद उहाँको । जनयुद्धपछि भएको परिवर्तनपछि सत्तामा आसिन भएका माओवादी नेतागणका कैयौं अवगुणहरु चित्त बुझ्दो थिएन भन्ने ठम्याई उहाँको थियो । जनयुद्ध र त्यसपछि नेताहरुमा आएको बदलाव र कतिपय निर्णय र रहन सहनले उहाँको मन अमिलिएको थियो । जनयुद्धकालको जनताको माग, नेताहरुको आश्वासन र व्यवहारलाई सुक्ष्म ढंगले हेर्दा जनयुद्धका निर्णायकहरु सत्तामा रमाउने, रगत बनाउन उत्साहित गर्नेहरु स्वर्गमा ऐस आराम गर्ने, पसिना बगाउने, दुःख गर्ने कार्यकर्ताहरु खाडी मुलुकमा दुःख गर्न बाध्य हुने र घाईते तथा अङ्ग भङ्ग हुनेहरु रुमाल थापेर सडकमा भिख माग्नु परिरहेको यथाार्थताबाट आम इमान्दार कार्यकर्ताहरुझैं उहाँ पनि दुःखी हुनुहुन्थ्यो ।
अब सन्दर्भ बिप्लप नेतृत्वप्रति !
हाल सत्ता परिवर्तनका निम्ति भईरहेको खिचातानी र संसदीय व्यवस्थालाई कमजोर देखाउँदै त्यसबिरुद्ध गरिने गोला बारुद्धका घट्नालाई कुनै पनि हालतमा सही हो भन्न सकिन्न ! समय सधैं एकै नासले चल्दैन । इतिहासको पुनरावृत्ति असम्भव पनि छ । हिजो पो निरंकुश राजतन्त्र थियो र त्यसबिरुद्ध जनयुद्ध छेँडियो र सफल भयो । अव राजतन्त्र छैन, १७ हजार नेपालीको ज्यानको बली चढाएर भर्खर प्राप्त भएको संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नुपर्ने जिम्मेबारी पनि हाम्रै छ । जनयुद्धले थिलथिलो भएको मुलुकलाई त्राण भर्नुछ, आर्थिक टाट पल्टेको मुलुक र जनतालाई आयआर्जनमा लगाउनुछ । पल्लो छेउ पुगेको विधि, पद्धति र प्रणालीको मेसो समाउनुछ । त्यसैले अव फेरि बम, बारुद्ध र युद्धका कुराले अलिहेलाई काम दिने देखिदैन ।
युद्ध गर्ने हो भने पहिले दुस्मन को हो र किन लद्नुपर्ने हो, शत्रु किटान गर्नुस् र लड्नुपर्ने कारण र औचित्य सावित गर्नुस् आदरणीय बिप्लव कमरेड ! तपाईंको हालको रणनीतिले न देशमा शान्ति छाउँछ न त तपाईंहरु नै सुरक्षित रहन सक्नुहुन्छ । यो बम गोला बारुद्धले कस्तो एकीकृत जनक्रान्ति गर्न लाग्नु भएको हो बुझ्न गाह्रो भयो । तपाईंहरुको राजनीतिमा ४ वर्षअगाडि सक्रिय रहनु भएको मेरो बुबा कैयौं कुराहरुप्रति असहमति जनाउँदै विगत २ वर्षयता पूर्णरुपमा निस्कृय हुनुहुन्थ्यो । बरु स्वतन्त्र बस्ने तर, कुनै पार्टीमा नलाग्ने बिज्ञप्ती निलाल्ने तयारी गरिरहेका बेला उदयपुको ताप्ली गाउँपालिका कार्यालयमा बम विष्फोट भएछ । पालिकामा बम बिस्फोट भएको घट्नाप्रति हालसम्म कसैले जिम्मेवारी लिएको जानकारी आएको छैन ।
तर, विष्फोटनपछि बिप्लप समूहप्रति प्रहरी प्रशासनको ध्यान केन्द्रित हुनु स्वभाविक थियो । ताप्ली गाउँपालिका प्रहरी प्रशासनले बुबालाई फोन गरेर बोलाएछन् र बुबा उपस्थित हुनुभएछ । ‘हामीलाई पनि थाहा छ बुबा, तपाँईं स्वतन्त्र हुनुहुन्छ, स्वतन्त्र बस्ने गरी विज्ञप्ती निकालीदिनू’ भनेपछि ८ गते त्यस्तै सहमति गरेर घर जानु भएका बुबालाई भोलिपल्ट मसिर ९ गते विज्ञप्ती निकाल्न जाँदा बुबाको मोबाइलमा प्रहरी सूचीमा रहेको एक बिप्लव कार्यकर्ताको नम्बर भेटेको आधारमा उहाँलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेको जानकारी आयो । अनुसन्धान गर्नु प्रहरीको कर्तव्य हो । उनीहरुको पनि जिम्मेवारी र दायित्व हुन्छ । तर, १३ वर्षको उमेरदेखि सक्रिय राजनीतिमा लाग्नु भएको बुबा ६६ वर्ष पुगेर राजनीतिबाट सन्यास लिदै घर व्यवहार सम्हाल्दै आएका बेला विष्फोटनको आरोपमा पक्राउ पर्नु भएको छ । त्यो पनि यस्तो मंसिर पुसको चिसो जाडोमा प्रहरी कस्टडीमा बस्नु पर्दा कति पीडा भएको होला ? सम्झदै यो मन कटक्कै खान्छ ।
यस्तो चिसो मौसममा प्रहरी हिरासतमा बस्दा खान बस्नलगायत समस्या समाधानमा नेपाल रेडक्रस सोसाइटीले खेलेको भुमिकाप्रति आभारी छु । ताप्ली गाउपालिकाले खेलेको भूमिका अविस्मरणीनय छ । बैनी ज्वाईँलगायत आफन्तहरुको भूमिकाप्रति ऋणी छु । बुबालाई यो कठिन परिस्थितिमा भेट्न जानु हुने सबैप्रति प्रणाम टक्राउँदै आआफ्नो ठाउँबाट सकेको सहयोग गरिदिनु हुन सबैमा अपिल गर्दछु । (ताप्ली बम विष्फोटन घट्नामा संलग्न भएको आशंकामा पक्राउ गौरबहादुर देवकोटाका छोरा तोविन देवकोटोका फेसबुक वालबाट साभार)