रौताको समग्र विकासप्रति प्रतिबद्ध छुः सांसद राई

२0७७ मंसिर १९ शुक्रबार
रौताको समग्र विकासप्रति प्रतिबद्ध छुः सांसद राई

रौता


उदयपुर निर्वाचन क्षेत्र २ का सांसद तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल) ले रौताको पर्यटन र धार्मिक विकासप्रति आफु प्रतिबद्ध रहेको बताएका छन् । चुनाव जितेदेखि नै जनतासँग नियमित भेटघाट गर्दै आएका सांसद राईले मंगलबार र बुधबार रौतामाई गाउँपालिका ६ को बोलुङ्खा तथा नामन्तमा ‘सांसद–जनता भेटघाट कार्यक्रम’ गर्दै सो प्रतिबद्धता जनाएका हुन् । 


पार्टी प्रदेश १ का सचिवसमेत रहेका सांसद राईले बोलुङ्खामा बुधबार विहान जनतासँग सात्क्षात्कार गर्दै रौताको बृहत विकासमा आफु सँधै लागिरहेको र लागिरहने प्रतिबद्धता जनाए । उदयपुरको शीरको रुपमा रहेको रौतापोखरी क्षेत्रको समग्र विकासमा सांसदको हैसियतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र संघीय सरकारबाट सक्दो बजेट छुट्याउने पहल गरिरहेको बताए । 


रौतालाई उदयपुरको मात्र नभएर प्रदेश १ कै अनुपम र नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न चाहेको र त्यसका लागि आफु निर्वाचित भएदेखि लाग्दै आएको स्मरण गराउँदै गाउँपालिका र प्रदेश सरकारले पनि त्यसमा सहयोग गर्नुपर्ने राईले बताए । उनले आफ्नै पहलमा रौता–पुँवारे खण्डको सडक स्तरोन्नति कार्य ३ करोड लागतमा अन्तिम चरणमा आईपुगेको भन्दै यसको निर्माणले उत्तरीभेगका पर्यटक र भक्तजनलाई रौतापोखरी आउजाउ गर्न र गाईघाट–रौता–पुँवारे–माझखर्क हुँदै लिमचुङबुङको भोयोचुङ दोबाटे भएर खोटाङको त्रिधार्मिकस्थल हलेसी जानआउने दूरी छोटिने बताए ।


दिउँसो नेता राईले स्थानीय आधारभूत विद्यालय नामन्तको अवलोकन भ्रमण गर्दै विद्यालयको पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसैगरी रौतापोखरी क्षेत्रमा होमस्टे (घर आवास) कार्यक्रम सञ्चालन गर्न संघीय सरकारबाट विनियोजित १५ लाख रुपैंयाको भरपुर सदुपयोग गरी व्यवस्थित होमस्टे बनाएर पर्यटक भित्र्याउन गाउँपालिका अध्यक्षलगायत जनप्रतिनिधिलाई आग्रह गरे । प्राकृतिक धरोहरलाई नष्ट गरे मानव सभ्यतामाथि नै क्षति पुग्ने खतरा औंल्याउँदै सांसद राईले रौतापोखरी क्षेत्रलाई जैविक हानी नहुने गरी विकासका पूर्वाधार बनाउन सुझाए । 


नेकपा रौतामाई गाउँपालिका अध्यक्ष इश्वर मगर, जिल्ला सचिवालय सदस्य किरण राई, विमल किराती, केशव चामलिङलगायत सहभागी सांसद राईको टोलीले दुईदिने जनता भेट कार्यक्रममा गाउँपालिका अध्यक्ष गजेन्द्र खड्का, वडाध्यक्ष केशव मगर, वडा सदस्यहरु, महिला सदस्य, कर्मचारी, शिक्षक, बुद्धिजीवि, व्यापारी, किसान, युवा, महिला र विद्यार्थीसँग सात्क्षात्कार गर्दैे समस्या र अपेक्षा संकलन गरेको थियो । 


भेटघाट कार्यक्रममा आफु पहिलेका सांसदहरुजस्तो भोट माग्न आउने र जितपछि गाउँमा मुखै नदेखाउने प्रबृत्तिको विरोधी भएको भन्दै हरेक महिना निर्वाचन क्षेत्रबासीसँग भेटघाट गर्दै जनताका समस्या र गुनासा सुन्ने तथा त्यसको संबोधन गर्ने गरेको राईले बताए । ‘पहिलेका सांसदहरुजस्तो भोट दिएर पठाएपछि फर्केर मुखै नदेखाउने मान्छे म होईन’ राईले कार्यकर्तालाई सम्झाए ‘म हरेक महिना कम्तीमा १५ दिन नभए १ साता निर्वाचनक्षेत्रकै जनतासँग हुन्छु । किनभने मलाई अझ २५ वर्ष प्रत्यक्ष तपाँईहरुको सहयोग लिएर सेवामुखी राजनीति गर्नुछ ।’


कार्यक्रममा नेकपाका स्थानीय नेता बसन्त राई, मावि बरुवा डहर विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कमल राई, प्रधानाध्यापक, तेजकुमार राई, शिक्षकहरु अस्ट राई, बलराम राई, कुमार राई, वडा सदस्य पृथ्वी राई, स्थानीय महिला नेतृ प्रेमिका राईलगायत बाक्लो उपस्थित  नेकपाका स्थानीय नेता कार्यकर्ताले सांसद राईलाई माला, अविर र आतिथ्यले स्वागत गर्दै नेकपाको सरकार जनमैत्री, विकासमैत्री र विखण्डनविरोधी हुनुपर्ने सुझाव दिएका थिए ।