१५ दिनभित्र उदयपुरमा अर्को विष्फोट, सौर्य सिमेन्टका ५ मजदुर घाईते

२0७७ मंसिर १९ शुक्रबार
१५ दिनभित्र उदयपुरमा अर्को विष्फोट, सौर्य सिमेन्टका ५ मजदुर घाईते

कटारी


उदयपुरको ताप्ली गाउँपालिका भवनमा शक्तिशाली बम विष्फोट भएको दुईसाता नपुग्दै कटारीमा गएराति ४ वटा शक्तिशाली बम विष्फोट भएको छ । कटारी नगरपालिका ८ मर्जेतपुरस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा बिहीबार राति अज्ञात समूहले  गराएको विष्फोटले खानीमै काम गर्ने ५ मजदुर घाईते भएका छन् भने स्काभेटर र मोटरसाईकल ध्वस्त भएको स्थानीयले बताएका छन् । 


मध्येरातमा ठूलो आवाजका साथ भएको विष्फोटबाट त्यहीँका कामदार दुर्गाबहादुर तामाङ, शिवशंकर मोक्तान, नविन मगर, विष्णु मगर र सागर मोक्तान घाईते भएका छन् । घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको र अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।


घट्नाबारे विस्तृत बुझ्न इलाका प्रहरी कार्यालय कटारीको टोली शुक्रबार विहानै खानीतर्फ गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । विष्फोटन कसले कुन उदेश्यले गर्यो भन्ने यकिन भईनसकेको प्रहरी भनाई छ । अनुसन्धानपछि मात्र यसबारे भन्न सकिने प्रहरी भनाई छ । 


१४ दिनअघि मात्र ताप्ली गाउँपालिका भवनमा शक्तिशाली बम विष्फोट भएको थियो । मध्येरातमा भएको विष्फोटबाट प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका उपाध्यक्षको कार्यकक्षका ढोका र फर्निचरमा क्षति पुगेको थियो । त्यस्तै गाउँपालिका छिर्ने गेटमै एउटा बेवारिसे बम पनि भेटिएको थियो । उक्त बम नेपाली सेनाको डिस्पोजल टोलीले १८ घण्टापछि निस्कृय पारेको थियो ।


ताप्ली विष्फोटनमा संलग्न भएको आशंकामा प्रहरीले ताप्लीकै २ जनालाई घट्नाको ३ दिनपछि पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । ताप्ली ५ का ७८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली १ की ३४ वर्षीया निरु विकलाई नियनत्रणमा लिएको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताएका छन् । इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपामा आवद्ध रहेका देवकोटा र विक पार्टीमाथि प्रतिबन्ध लागेसँगै निस्कृय रहेकाले बम विष्फोटनको घट्नासागै उनीहरुको कुनै सम्बन्ध नरहेको परिवारजनको दावी छ । पूर्व जिल्ला विकास समिति सदस्यसमेत रहेका देवकोटा ५ वर्षयता कुनै  राजनीतिक गतिबिधिमा संलग्न नभई स्वतन्त्र र निस्कृय बस्दै आएकाले विष्फोटको घट्नामा संलग्न हुने संभावनै नरहेको छोरा तोविनले बताए । 


‘बृद्ध उमेर भईसकेका बुवा ४–५ वर्षअघिसम्म बिप्लबको पार्टीको समर्थक चाहीँ हुनुहुन्थ्यो तर, हामी आमा, छोराछोरी सबैले बुढेसकालमा त्यस्तो पार्टीमा नबस्न आग्रह गरेपछि उहाँ कुनै पार्टीमा हुनुहुन्न’ पूर्व लडाकु तोविनले माझखर्कसँग भने ‘केहीवर्षअघि प्रतिबन्ध भएपछि त उहाँ त्यस पार्टीका नेता कार्यकर्तासँग सम्पर्कै गर्न छाड्भएको छ ।’


बृद्ध उमेर, बिभिन्न रोगले ग्रस्त भएर अशक्त भएकाले देवकोटालाई हिरासतमुक्त गर्न पनि छोरा तोविनले प्रहरी प्रशासनसँग याचना गरेका छन् । बाउलाई रिहा गर्न सहयोगका लागि उनले प्रहरी, प्रशासन र राजनीतिक दलका नेताहरुलाई आग्रहसमेत गरेका छन् । 


देवकोटासँगै पक्राउ परेकी विक पनि कुनै बेला बिप्लव पार्टीको सामान्य समर्थक मात्र रहेको बताइएको छ । उनी लामो समयदेखि निस्कृय रहेकाले विष्फोटका घट्नासँग कुनै सम्बन्ध नरहेको पारिवारिक स्रोतले जनाएको छ ।