भरुवा बन्दुक पड्कदा वन पालेको मृत्यु

२0७७ मंसिर १८ बिहीबार
भरुवा बन्दुक पड्कदा वन पालेको मृत्यु

उदयपुर


वन गस्तीमा जाँदा भेटिएको भरुवा बन्दुक पड्कदा बुधबार राति एक वनरक्षक (वनपाले)को मृत्यु भएको छ । गस्ती जाँदा भेटेर ल्याएको बन्दुक कार्यालय आएपछि आफै पड्कदा सवडिभिजन वन कार्यालय तपेश्वरीका वनपाले ४० वर्षीय लेखनाथ वास्तोलाको मृत्यु भएको हो । 


प्रहरीका अनुसार ६ जनाको वन गस्ती टोलीले तपेश्वरीको भुलभुले सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको जंगलबाट तस्करले छाडेको अवस्थामा फेला पारेको भरुवा बन्दुक कार्यालय ल्याएपछि पड्कदा त्यसको छर्रा लागेर वास्तोला घाईते भएका थिए । उनको घट्नास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ । 


वास्तोलाको स्थायी घर सुनसरीको दुहवी रहेको बताइएको छ । गस्तीबाट फर्केको टोली कार्यालय आएपछि बन्दुक झिक्ने क्रममा पड्केर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । राति १०ः०० बजेको घट्नाबारे थप अनुसन्धान भईरहेको दाहालले बताए । 


डिभिजन वन अधिकृत अम्बिकाप्रसाद पौडेलले घट्नाको पुष्टि गर्दै थप अनुसन्धान सुरु भएको बताएका छन् । बन्दुक पड्केर वनरक्षकको मृत्यु भएको घट्नाबारे थप अनुसन्धान सुरु भएको उनको भनाई छ । 


उदयपुका बिभिन्न सरकारी तथा सामुदायिक वन क्षेत्रको जंगलमा अवैध काठ चोरी तस्करी हुने गरेको तथा वन्यजन्तुको चोरी सिकारीसमेत हुँदै आएको हुनाले गस्ती टोली खटाइदै आएको उनले बताए । यही क्रममा गस्तीले गोली बारुद्ध भरेर राखिएको अवस्थामा एकनाल बन्दुक भेटेर बरामद गरी ल्याएको थियो । 


बन्दुक तस्करले छाडेको अनुमान गरिए पनि सबै विवरण अहिले नै नखुल्ने डिएफओ पौडेलले बताए ।