नमूना मावि गुरुङचौरीको आफ्नै स्कुल बस

२0७७ मंसिर १७ बुधबार
नमूना मावि गुरुङचौरीको आफ्नै स्कुल बस

ललित राई 

गुरुङचौरी (उदयपुर)


घर्रघर्र....टिँटिँ...., चालकले बस ‘स्टार्ट’ गरे,  गियर लगाए, बस ह्वात्त अडाडि बढ्यो । ‘लाखेलाखे बिस्तारै है, दुर्घटनामा परिएला फेरि’ यात्रुहरु कराएको सुनियो । केही अघि बढेको बस घचक्क रोकियो । बसभित्र भरिभराउ यात्रु थिए बेलका नगरप्रमुख दुर्गाकुमार थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोज तामाङ, प्रधानाध्यापक सम्मर राई, बेलका क्याम्पस अध्यक्ष रमण भट्टराई, नेकपा जिल्ला सदस्यहरु धनपति आचार्य, नारद निरौला, उदयप्रसाद अधिकारी, बेलका ४ का वडाध्यक्ष दिपक दंगाल, नगर शिक्षा अधिकारी सुनिल निरौला, सामुदायिक वन समूह अध्यक्ष रुद्रप्रसाद खतिवडा र नेकपा नगर सचिव गणेश बस्नेतलगायत स्थानीय अगुवा र शिक्षकहरु । 


चालक हाँस्दै बसको ककपिटबाट निस्के, उनी कुनै पेशेवर ड्राईभर नभएर उदयपुर १ (क) का सांसद विमल कार्की थिए। उदयपुरका झण्डै ४ दर्जन माध्यामिकस्तरका सामुदायिक विद्यालयमध्ये पहिलोपटक गाडी सञ्चालनमा ल्याउने जनता नमूना मावि गुरुङचौरीको बस उद्घाटन गर्दै थिए उनी । बेलका नगरपालिका ४ को उक्त विद्यालयले पहिलो पटक सञ्चालनमा ल्याएको स्कुल बसको उद्घाटन गर्दा सांसद कार्की ड्राईभर बन्दा मेयर थापा, स्कुल अध्यक्षलगायत स्थानीय अगुवा सरोकारवालाहरु यात्रु बनेका हुन् । 


बुधबार विद्यालयले निर्माण हुन लागेको भवन सिलान्यास गर्दै नयाँ स्कुल बस सञ्चालनमा ल्याएको हो । विद्यालयमा आयोजित औपचारिक कार्यक्रमबीच प्रदेश सांसद कार्की र नगरप्रमुख थापाले संयुक्तरुपमा ४ कोठे भवनको सिलन्यास गरे । 


कार्यक्रममा सांसद कार्कीले नेपालको कुल बजेटको ११ प्रतिशत रकम शिक्षा र स्वास्थ्यमा विनियोजित हुदै आए पनि शिक्षाको गुणस्तर बृद्धि हुन नसकेकोमा गुनासो गरे । उनले अव शिक्षाको सम्पूर्ण गतिविधि गर्ने अधिकार स्थानीयतहले पाएको भन्दै शैक्षिक क्षेत्रको विकास क्रमागत रुपले अगाडि बढ्दै गएको बताए । आज देशका उच्च ओहदामा रहेका हरेक व्यक्तिले सामुदायिक विद्यालयमै अध्ययन गरेको भन्दै कार्कीले पछिल्लो समय सरोकारवालाहरु नै गैरजिम्मेबार भएका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको बताए । 


खस्कदै गएको सामुदायिक विद्यालयले हिजोको इतिहासलाई उकास्न पुनः लागी पर्नुपर्नेमा उनको जोड थियो । मावि गुरुङचौरी जिल्लाकै पहिलो स्कुल बस सञ्चालन गर्ने एक मात्र सामुदायिक विद्यालय सावित भएको भन्दै कार्कीले नामजस्तै काममा पनि विद्यालय नमुना बन्नुपर्नेमा जोड दिए । विद्यालयले अन्य आवश्यक भौतिक संरचनाहरु पनि नमूनाको रुपमा निर्माण गर्दै भोलिका दिनमा गुणस्तरीय शिक्षासहितको शैक्षिक जनशक्ति उत्पादन गर्नेसके देशकै नमूना विद्यालयको रुपमा विकास हुने कार्कीले बताए । 


कार्यक्रममा नगरप्रमुख थापाले नगरपालिकाकै नमूना घोषित विद्यालय भएकाले शिक्षाको गुणस्तरमा साधै जोड दिन आग्रह गर्दै त्यसका लागि जस्तोसुकै सहयोग गर्न नगरपालिका तयार रहेको बताए । उनले आफुले रुखको फेदमा बसेर धुलो कोरेर पढेको बाल्यकाल स्मरण गर्दै बेलकालाई जिल्लाकै ‘शैक्षिक हब’ बनाउन चाहेको बताए । विद्यालयको सुशासन कायम गर्नमा व्यबस्थापन समितिको कार्यशैलीमा भर पर्ने भन्दै उनले शैक्षिक क्षेत्रको विकासमा परिवर्तन गर्न सबै मिलेर लाग्नुपर्ने बताए । 


विव्यस अध्यक्ष तथा नेकपा बेलका नगर अधयक्ष मनोज तामाङले नगरपालिका र प्रदेश सरकारको साझेदारीमा ४ कोठे नयाँ भवन १ सय २० दिनमा निर्माण गरिसक्ने योजनासाथ सिल्यान्साय भएको बताए । चालु शैक्षिक वर्ष मात्र नमूना विद्यालय घोषणा भएको स्कुलमा बढ्दो विद्यार्थी चाप अनुसार भौतिक संरचना निर्माणमा जोड दिइएको अध्यक्ष तामाङले बताए ।  उनले बस सञ्चालन गर्ने उदयपुरका सामुदायिक विद्यालयमा पहिलो बनेको भन्दै अव गुणस्तरीय शिक्षातर्फ विद्यालय अघि बढ्ने उनको प्रतिबद्धता थियो । 


वडाध्यक्ष दंगालले स्थानीय सरकार गठन भएदेखि नै वडाबाट स्कुलको घेराबेरा, मर्मतसम्भार र अन्य शैक्षिक गतिबिधिका लागि बजेट बिनियोजित गरेको बताउँदै अव विद्यालयले गुणस्तरीय शिक्षातर्फ जोड दिनुपर्ने बताए । बेलका जनता क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष रमण भट्टराईले बेलकाको एक मात्र क्याम्पस दीगो तरिकाले सञ्चालन गर्न स्थानीय विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । विद्यालयतह राम्ररी सञ्चालन भए क्याम्पस चलाउन धरै सहज हुने भन्दै उनले बेलकाका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न नगरबारिह जान नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 


प्रधानाध्यापक राईले गत असार ३१ गते सरकारले नमूना घोषणा गरेको विद्यालयमा माध्यामिक तहबाटै सिभिल इन्जिनियरिङ, विज्ञान, शिक्षा र व्यबस्थापन संकायमा नेपाली र अंग्रेजी दुवै माध्यामबाट पठनपाठन गर्ने तयारी भईरहेको बताए । उनका अनुसार आउँदो २१ गचेखेअि पठनपाठन सुरु हुने विद्यालयमा हाल ८ सय विद्यार्थी भर्ना भईसकेका छन् । ‘सामुदायिक विद्यालयमध्ये हामीले नौलो कामको थालनी गरेका छौँ’ प्रअ राईले भने ‘टाढा घर भएका तथा अशक्त, असहाय र अपाङ्गता भएका विद्यार्थीलाई घरैसम्म लिन बस पठाउने छौं । सँगै गुणस्तरीय शिक्षा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य पनि हो ।’