सयजनालाई कोरोनाबाट निको पार्ने पोखरेल आफै संक्रमित

२0७७ मंसिर १५ सोमबार
सयजनालाई कोरोनाबाट निको पार्ने पोखरेल आफै संक्रमित

उदयपुर, मंसिर १५


पेशाले स्वास्थ्यकर्मी उनको पछिल्लो ८ महिनायताको काम कोविड संक्रमितको उपचार र स्याहार सुसार गर्नु हो । कोरोना महामारी सुरु भएदेखि नै ‘फ्रन्टलाईन’मा खट्दै आएका ‘उदयपुर कोविड अस्पताल बेलटार’का आईसोलेसन प्रमुख तेजबहादुर पोखरेललाई संक्रमण पुष्टि भएको छ । 


चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखसमेत रहेका पोखरेल बेलटार सातधारेस्थित सञ्चालनमा आएको कोविड अस्पतालकासमेत प्रमुख हुन् । गएको असारदेखि सञ्चालनमा आएको अस्पतालको आईसोलेसन सेन्टरमा आउने झण्डै १ सयजना संक्रमितलाई उपचार गरेर निको पारिसक्दा मंगलबार आफैलाई संक्रमण भएको हो । 


रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि सोमबार गरिएको उनको पिसिआर रिपोर्ट मंगलबार आउँदा उनमा संक्रममण देखिउको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । पोखरेल अरु संक्रमित विरामीको उपचारमा खट्दाखट्दै स्वयं संक्रमणको शिकार भएको मेयर राईले बताए । कोविड अस्पतालमा उपचारार्थ आउने बिभिन्न ठाउँका विरामीलाई निको पार्ने काममा खट्दै आएका पोखरेल स्वयं संक्रमित हुन पुगेकोमा मेयर राईले दुःख व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 


यसैबीच मंगलबार नगर उपप्रमुख रीताकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, प्रशासन प्रमुख नेत्र विश्वकर्मालगायत ८ जना संक्रमणमुक्त भएको मेयर राईले बताए । दुई महिलासहित संक्रमणमुक्त उनीहरुलाई एक कार्यक्रमकाबीच मेयर राईले आज दिउसो विदाई गर्दैछन् । 


चैत ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा पहिलो पटक कोविड संक्रमित फेला पर्दै दिनदिनै बढ्न थालेपछि जिल्लाका ८ स्थानीयतहको पहलमा बेलटारमा कोविड अस्पताल सञ्चालनमा ल्याएका हुन् । त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरापलिका तथा लिमचुङबुङ, रौतामाई, ताप्ली र उदयपुरगढी ४ गाउँपालिकाको एलाएनस ‘उदयपुर विकास बोर्ड’को पहलमा अस्पताल सञ्चालनमा ल्याइएको हो । 


त्रियुगा नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा गठित बोर्डले अस्पताल सञ्चालनमा ल्याएपछि  उदयपुर मात्र नभएर खोटाङ, ओखलढुंगा र भोजपुरसम्मका कोविड संक्रमितले त्यहाँबाट उपचार पाईरहेको चौददण्डीगढी स्वास्थ्य शाखाले जनाएको छ ।