बेलकामा थारु संग्रहालयः उदेश्य पहिचान र पर्यटन

२0७७ मंसिर १५ सोमबार
बेलकामा थारु संग्रहालयः उदेश्य पहिचान र पर्यटन

बेलका


बेलका नगरपालिका वडा नं. २ को बेल्हामा थारु संग्रहालय स्थापना गरिको छ । स्थानीय मिश्रीकान्त चौधरी (थारु)ले निशूल्क दान दिएको जमिनमा बेलका नगरपालिका, प्रदेश सांसद विमल कार्की र संविधानसभा सदस्य शान्तिकुमारी चौधरीको सहयोगमा निर्माण गरिएको हो । 


सोमबार आयोजित एक कार्यक्रममा प्रदेश १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बिजयकुमार विश्वासले उद्घाटन गरे । स्थानीय थारु अगुवा नन्दीलाल चौधरीका अनुसार नगरपालिकाको ९ लाख, प्रदेश सांसद कार्कीको निर्वाचन क्षेत्र विकास कोषमार्फत ५ लाख, संविधानसभा सदस्य शान्ता चौधरीबाट १ लाख ५० हजार  र स्थानीय सहयोगीहरुबाट प्राप्त ३६ हजार गरी १९ लाख रुपैंयामा संग्रहालय निर्माण भएको हो । 


संग्रहालय उद्घाटन गर्दै राज्यमन्त्री विश्वासले थारु समुदाय मुलुककै सबभन्दा पुरानो रैथाने बासिन्दा भएको र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर बसोवास गरेको जाति भएको भन्दै तर, निमुखा र सोझो भएकाले राज्यसत्ताको भागीदार हुनमा पछि रहेको बताए । नेपालको राज्य व्यवस्था परिवर्तनको अभियानमा थारुहरुको बलिदानी र अहंम भूमिका रहेको भन्दै प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै राज्यको सबै निकायमा उपस्थिति जनाउन कडा मेहेनत गर्नुपर्ने बताए । 


वर्तमान नेकपाको सरकार स्थानीयतहदेखि प्रदेश र संघसम्म रहेको भन्दै यो सरकार जनतालाई न्याय गर्ने अभिभावकको रुपमा देखिनुपर्ने बताए । कतिपय काम गलत भएको भन्ने जनताको गुनासोलाई संबोधन गर्दै सरकारले क्रमिकरुपमा सबैखाले समस्याहरु निराकरण गर्दै सुधार गरेर जानुपर्ने सुझाव मन्त्री विश्वासको थियो । 


विश्वासले उदयपुरमा थारु संग्रहालय खुल्नु गौरवको विषय भएको भन्दै संग्रहालयको विकास र स्तरोन्नतिका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । थारु समुदायको पहिचान तथा संस्कार संस्कतिको रक्षा गर्दैसंग्रहालयलाई पर्यटन केन्द्र बनाएर फाईदा लिन सक्नुपर्ने उनको सुझाव थियो । 


प्रदेश सांसद बिमल कार्कीले थारु संग्राहालय प्रदेशकै नमूना बन्नुपर्ने बताउँदै त्यसका लागि आफुले सक्दो सहयोग गर्ने वाचा गरे । सबै जातजाति र समुदायको संस्कार, संस्कति र पहिचानको रक्षा गर्नु उत्तिकै आवश्यक रहेको भन्दै सांसद कार्कीले त्यसका लागि थारु संग्रहालयको स्थापना भएकोमा खुसी व्यक्त गरे । संग्राहायले थारु समुदायको पहिचान र संस्कृतिको रक्षा गर्दै नजिकै रहेको कोसी टप्पु बन्यजन्तु आरक्षण केन्द्रसँग समन्वय गरेर चितवनको सौराहाझँै पर्यटन केन्द्र बनाउन सम्भाव्यता अध्ययन गर्न आग्रह गरे । 


अर्की प्रदेश सांसद अम्बिका थापाले आदिवासी जनजातिलाई सहयोग गर्नु तीनै तहको सरकारको कर्तव्य भएको भन्दै उदयपुर र सुनसरीबीचको सीमा बिवाद, कोसी नदी कटान, त्रियुगा नदी कटान तथा डुवान समस्याबारेमा सदनमा कुरा उठाउदै आएको स्मरण गरिन् । बेलकामा आफ्नो स्थायी घर भएकाले पनि यस क्षेत्रको विकासमा विशेष चासोका साथ लाग्दै आएको सांसद थापाले बताईन् । 


त्यस्तै अर्की सांसद सुनिता चौधरीले थारु समुदायले आफ्नो जाति र समुदायप्रति गर्व गर्नुपर्ने भन्दै संग्रहालय स्थापना हुनुले संस्कार संस्कृति र पहिचानको जगेर्ना गर्ने बताईन् । उनले थारु मात्र नभएर सबै जातजाति, भाषाभाषी, समुदायको संस्कार संस्कृतिको रक्षा गर्न राज्य लागी पर्नुपर्ने बताईन् । 


कार्यक्रममा बेलका नगरप्रमुख दुर्गाकुमार थापाले जुनसुकै जाति समुदायको उत्थान गर्न सोही जात हुन नपर्ने बताए । उनले थारु समुदायको उत्थान गर्न थारुकै छोरा हुनुनपर्ने बताउँदै सम्पूर्ण जातजाति, धर्म, समुदायको उत्थानमा बेलका नगरपालिका निशर्तरुपमा लाग्दै आएको बताए । नगरपालिकाले हाल १९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च प्राबिधिक शिक्षा पढाईरहेको जानकारी दिदै मेयर थापाले असहाय र गरिबहरुको सहयोगका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए । 


‘हामी गरिव, दुःखी र असहायलाई चामल, दाल, नुनलगायत खाद्य सामग्री नियमित रुपमा बाँडिरहेका छौँ’ मेयर थापाले भने ‘जेहेन्दार र गरिव विद्यार्थीलाई निशूल्क प्राविधिक शिक्षा दिने काम गरिरहेका छौं । हाम्रा लागि सबै जात, धर्म र समुदाय एउटै हुन्, कसैलाई छुट्याउने गरेका छैनौं ।’ थापाले मैनामैनी क्षेत्रलाई किरात आस्थाको केन्द्र भनेर नगरपालिकाले घोषणै गरिसकेको बताउादै थारु समुदाय पनि बेलकाको गहना भएको बताए । उनले आजको राजनीति जातिगत नभएर सामुहिक हुनुपर्नेमा जोड दिए । 


त्रियुगा नगरप्रमुख बलदेव चौधरीले संग्रहालय थारु पहिचानको कोसेढुगां साबित हुने विश्वास व्यक्त गर्दै यसको विकास र प्रबद्र्धन गर्दै जानुपर्ने बताए । संग्रहालयले थारु समुदायको संस्कार संस्कृतिको रक्षा गर्दै पर्यटक आकर्षणको थलो बन्नुपर्नेमा मेयर चौधरीको जोड थियो । 


नेकपा बेलका नगर अध्यक्ष मनोज तामाङले पिछडिएको जाति, समुदाय र लिङ्गको उत्थान र विकासका लागि नगरपालिका लागिरहेको बताउँदै स्थानीय सरकार र बेलका नगर पार्टी सदैब जनतालाई सुखी र खुसी बनाउने अभियानमा दिनरात खटिरहेको बताए । बेलका नगर उपप्रमुख राजकुमारी चौधरी, त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरी, सप्तकोसी नगर उपप्रमुख आसादेवी चौधरीले संग्रहालयलाई पर्यटन केन्द्र र थारु संस्कृतिसँग जोड्नुपर्ने बताए । 


नेपाल आदिबासी जनजाति महासंघ बेलका नगर अध्यक्ष ललित राई, बेलका नगर सल्लाहकार नारद निरौला, नेकपा नगर सचिव गणेश बस्नेत, जनता समाजबादी पार्टी नगर अध्यक्ष सुरेन्द्र राई, थारु कल्याणकारी सभा अध्यक्ष मिश्रीकान्त चौधरीलगायतले शुभकामना दिएका थिए । 


नगरस्तरीय थारु उत्थान विकास समितीका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु परिकारको भोजन गराउँदै थारु संस्कृतिमा आधारित बिभिन्न झाँकी र नृत्युद्वारा मनोरञ्जन गराइएको थियो ।