म्याराडोनाको सम्झनामा ‘भेट्रान’ फुटबल

२0७७ मंसिर १४ आईतवार
म्याराडोनाको सम्झनामा ‘भेट्रान’ फुटबल

उदयपुर


फुटबलका विश्वविख्यात हस्ती डिएगो म्याराडोनाको सम्झनामा गाईघाटमा ‘भेट्रान’ स्तरीय फुटबल शनिबार खेल सम्पन्न भएको छ । गाईघाट र कटारीका ३५ वर्ष माथिका पूर्व खेलाडी समूहबीच भएको मैत्रीपूर्ण खेल गाईघाटले जितेको छ । 


सदरमुकाम गाईघाटको थरुहट उदयपुर रंगशालामा सम्पन्न खेल अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरको आयोजनामा भएको हो । खेलमा गाईघाटको तर्फबाट एन्फा केन्द्रीय प्रवक्ता किरण राईको कप्तानी समूह ‘गाईघाट भेट्रान’ ले ३ का विरुद्ध ५ गोल गर्दै कटारीका पूर्व खेलाडी दिपक राईको कप्तानी समूहको ‘कटारी भेट्रान’लाई पराजित गर्यो । 


गाईघाटको तर्फबाट किरण राई एक्लैले मध्यान्तरअघि ३ गोल गरेका थिए भने कटारीले मध्यान्तरअघि गरेको २ गोलमाथि मध्यान्तरपछि १ गोल मात्र थप्न सफल भयो । एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीका अनुार खेल जावलाखेल डिस्टीलरी र त्रियुगा नगरपालिकाको प्रायोजनमा भएको हो । 


कोविड कहरका कारण थरुहट उदयपुर रंगशालामा ८ महिनापछि खेलकुद गतिबिधि भएको हो । कोविड सुरु भएपछि चैतयता कुनै पनि खेलकुदका गतिबिधि हुन नपाउँदा ण्रंगशाला झार उम्रेर जंगलमय भएको थियो । कोविडपछि पहिलो पटक रंगशालामा फुटबल खेल भएपछि स्थानीय खेलाडीमा हौसला छाएको छ ।