जुनकिरी समाजको देउसी रकम बालिकाको उपचारार्थ सहयोग

२0७७ मंसिर ११ बिहीबार
जुनकिरी समाजको देउसी रकम बालिकाको उपचारार्थ सहयोग

गराँस (कटारी) 


यो वर्षको तिहारमा कटारी नगरपालिका २ गराँसका युवाहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम एक बालिकाको उपचारमा खर्च गर्ने भएका छन् । गएको तिहारमा देउरी खेल्दा संकलित रकम गराँसका युवाहरुले स्थानीय एक विरामी बालिकाको उपचारमा सहयोग गर्ने निर्णय गरेका हुन् । 


गराँसस्थित जुनकिरी कल्याणकारी समाजमा आबद्ध युवाहरुको टोलीले संकलन गरेको सो रकम स्पाईनल मस्कुलर एट्रोफी (ढाडको नशा सुक्दै जाने) रोगले ग्रस्त भई मृत्युसँग लडिरहेकी १० महिने बालिका सियोना श्रेष्ठको उपचारमा सहयोग गर्ने निर्णय गरेको समाजका अध्यक्ष प्रशान्त लामाले बताए । उनका अनुसार बालिकाको उपचारमा खर्च गर्नेगरी उक्त रकम विरामीका अभिभावकको हातमा पुग्नेगरी बैंक खातामा जम्मा गरिसकिएको छ । 


सियोनाको उपचारमा ठूलो रकम खर्च हुने खवर पाएपछि युवाहरुले देउसी खेलेको रकम उनको उपचारमा सहयोग गर्ने निर्णय गरेको लामाले बताए । सियोनाका बाबु वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ हुन् भने आमा नर्स एलिना गुरुङक हुन् । स्वास्थ्यकर्मी आमाबाउका सन्तान सियोनाको उपचारमा २५ करोड खर्च लाग्ने भन्दै परिवारले सामाजिक सञ्जालमार्फत सहयोग मागेको थाहा पाएसँगै देउसीबाट जुटेको सानो रकम भए पनि सहयोग गरेको समूहकी सदस्य प्रभाकुमारी सुनुवारले बताईन् । 


देउसी खेलेबापत संकलित ६० हजार ५ सय ५५ रुपैंया रकम उनीहरुले बैंक अफ काठमाण्डु लिमिटेडमा रहेको विरामीको खातामा जम्मा गरिदिएको समाजकी सोनु तामाङले बताईन् । देउसीबाट उठेको रकम रमाईलो गरेर सक्नुभन्दा विरामीको उपचारमा खर्च गर्नु उत्तम ठानेर सहयोग गरेको उनले बताईन् । 


कटारी २ का वडाध्यक्ष प्रेमबकहादुर थापाले गराँसका युवाहरुको उदाहरणीय कामको प्रशंसा गरेका छन् । देउसीको रकम वनभोज खाने, घुमफिरमा गरेर उडाउने गरेको देखेको बताउँदै उनले जुनकिरी समाजका युवाल विरामी बच्चीको उपचार गर्न दिएर उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गरे । 


समाजका अध्यक्ष लामाले सकेसम्म राम्रो काममा खर्च गर्ने उदेश्यले नै भैलो खेल्ने गरेको बताए । अपांग, अशक्त र गरिब दुःखीको सहयोगमा लगाउने उदेश्यले नै देउसी खेलेर उठाएको कम सियोना श्रेष्ठको भिडियो देखेपछि त्यतै सहयोग गरेको उनले बताए । 


सियोनाको उपचारमा करिव ५ करोड रुपैयाँ खर्च लाग्ने र नेपालमा उपचार सम्भव नभएर अमेरिकामा मात्रै उपचार हुने भएकाले सहयोगको याचना गरेको सियोनाका आमा एलिनाले बताएकी छिन् । सो रोगको उपचार २ वर्षभित्र गरिसक्नुपर्ने तर, आवश्यक खर्च अभावमा ढिलाई भईरहेको भन्दै श्रेष्ठ दम्पतिले छोरीको उपचारका लागि त्यति ठूलो रकम तत्काल जोहो गर्न सम्भव नभएर सहयोगको अपिल गरेको बताएको छ । दम्पतिका अनुसार हालसम्म ३ करोड जम्मा भइसकेको तर, बाँकी २ करोड जम्मा गर्न निकै कठिन छ । 


इच्छुक व्यक्तिले सहयोग गर्न चाहेमा सियोनाको नाममा खोलिएको बैंक अफ काठमाडौं लिमिटेड परासी शाखामा रहेको खाता नम्बर ‘सियोना श्रेष्ठ, २०६५००००००३१५२४ मा जम्मा गर्न सक्ने अभिभाबकले जनाएका छन् ।