आठ महिनापछि विद्यालयको पठनपाठन सुरु

२0७७ मंसिर १0 बुधबार
आठ महिनापछि विद्यालयको पठनपाठन सुरु

उदयपुर


कोविड कहरका कारण ८ महिनायता थलिएका विद्यालयहरु खुल्न थालेका छन् । नेपाल सरकारले संक्रमण नरोकिए पनि सुरक्षा सावधानी अपनाएर शिक्षण संस्था सञ्चालन गर्ने अधिकार स्थानीयतहलाई सुम्पे अनुसार जिल्लाका विद्यालयहरु सुचारु भएका हुन् । 


 सरकारबाट प्राप्त अधिकार अनुसार जिल्लाका ८ वटै स्थानीयतहहरुले विद्यालय तथा क्याम्पस सुचारु गर्ने निर्णय गरेका छन् । सदरमुकामको त्रियुगा नगरपालिकाले बुधबारदेखि सबै विद्यालय तथा कलेजहरु खोल्ने निर्णय गरे अनुसार शिक्षण संस्था सुचारु भएका छन् । नगरप्रमुख तथा शिक्षा समिति अध्यक्ष बलदेव चौधरीको अध्यक्ष्तामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले सुरक्षा सावधानी अपनाउँदै शिक्षण संस्थाहरु सुचारु गर्ने निर्णय गरेको छ । 


नगर शिक्षा समिति सदस्य मानबहादुर राईले नगरपालिकाभित्रका सबै विद्यालयहरु संक्रमणबाट बँच्न सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय गरेको बताए । उनले बालबालिकाको शैक्षिक अधिकारको रक्षा गर्न तथा कोविडले डाँमाडोल भएको शिक्षा क्षेत्रलाई उकास्न पठनपाठन सुचारु गर्नुपर्ने तर, संक्रमणबाट पनि बँच्नुपर्ने भएकाले अनिवार्य सुरक्षा सावधानी अपनाउन अनुरोध गरेका छन् ।    


नगर शिक्षाको निर्णय अनुसार बुधबारदेखि त्रियुगाभित्रका सबै विद्यालय, क्याम्पस र अन्य शिक्षण संस्थाहरु सुचारु भएका छन् । अन्य नगरपालिकाहरु कटारी, चौदण्डीगढी र बेलकाले पनि स्कुलहरु सञ्चालनमा ल्याएका छन् । त्यस्तै लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकाले पनि आआफ्नो तहभित्रका शिक्षण संस्थाहरु सुचारु गर्ने निर्णय गरेको बताएका छन् । नगरपालिकाको निर्णय अनुसार पठनपाठन सुरु गरेको पिसजोन एकेडेमीका प्रिन्सीपल किरण राईले बताए । लामो समयदेखि पढ्न नपाएका विद्यार्थीहरु विद्यालय खुलेपछि खुसी हुँदै पढ्न आएको राईले बताए ।


शिक्षा मन्त्रालयलले कक्षा १२ को परीक्षा दुईदिनअघिदेखि नै सञ्चालनमा ल्याईसकेको छ । जस अुनसार उदयपुरका सबै माध्यामिक विद्यालयमा कक्षा १२ को परीक्षा शान्तिपूर्वक सुचारु भईरहेको त्रियुगा नमूना माविका प्रधानाध्यापक सुभास विष्टले बताए ।  सरकारको निर्णय र नगरपालिकाको निर्देशनपछि कक्षा १२ को परीक्षा सञ्चालन गरिएको विष्टले बताए ।