ताप्लीको बम १८ घण्टापछि सेनाद्वारा निस्कृय

२0७७ मंसिर ७ आईतवार
ताप्लीको बम १८ घण्टापछि सेनाद्वारा निस्कृय

उदयपुर


आईतबार विहान ताप्ली गाउँपालिका गेटमा भेटिएको बम नेपाली सेनाले १८ घण्टापछि  डिस्पोज (निस्कृय) पारेको छ । आईतबार विहान १ः०० बजे गाउँपालिका भवनमा विष्फोट भएको ठाउँनजिकै गेटमा अर्को बम फेला परेको थियो । 


प्रहरीले बोलाएको नेपाली सेनाको डिस्पोजल टोलीले साँझ ६ः४० बजे बम निस्कृय पारेको घट्नास्थलमा रहेका इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए । उनका अनुसार नेपाली सेनाको गाईघाटस्थित रणशार्दुल गणअन्तरगत कटारी बेलसोत गुल्मका सहसेनानी (क्याप्टेन) कमाण्डमा गएको डिस्पोजल टोलीले बम निस्कृय  पारेको हो । 


गाउँपालिका भवनदेखि ४० मिटर पर खोल्सामा लगेर डिस्पोज गर्दा बम ठूलो आवाज साथ पड्केको डिएसपी भण्डारीले बताए । उनका अनुसार सो बम शक्तिशाली भएकाले कथंकदाचित विष्फोट भएको भए गाउँपालिका भवनसँगै आसपासमा रहेका घर, पसल र विद्यालय तथा बैंकलाईसमेत क्षति गर्ने संभावना थियो । 


गाउँपालिका भवन आसपास आधादर्जन पसल, घर र महेन्द्ररत्न मावि तथा त्यसैमा जोडिएको प्राईम बैंकसमेत रहेकाले विष्फोट भएको भए अकल्पनीय क्षति हुने खतरा टरेको गाउँपालिकासँगै घर जोडिएका शिक्षक शेरजंग ठकुरीले बताए । उनका अनुसार मस्त निन्द्रमा रहेका गाउँलेलाई व्युँताउँदै विहान बेतोडको आवाज सुनेपछि स्थानीयहरु उठेर आँखा मिच्दै गाउँपालिका परिसर पुगेका थिए । 


त्यहाँ धुँवा आईरेहको देखेपछि सुरुमा गाडीको टायर पड्केको अनुमान गरे पनि नजिकै गएर हेर्दा गाउँपालिका भवनका ढोका जलिरहेको उनले बताए । ठकुरीका अनुसार कार्यालय पस्ने गेटनेर कालो प्लास्टीकले बेरिएको शंकास्पद बस्तु पनि गाउँलेले नै देखेर प्रहरीलाई खवर गरेका थिए । 


जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले विहान भएको विष्फोटले भुईतलामा रहेका उपाध्यक्ष कमलामाया राई र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ढोका र फर्निचर ध्वस्त भएको छ । पहिलो तलामा रहेकाले अध्यक्ष उद्धवसिंह थापाको कार्यकक्ष भने केही हुन पाएन ।


प्रहरीका अनुसार हालसम्म विष्फोटबारे कुनै संगठन वा व्यक्तिले जिम्मा लिएको छैन । घट्नालगत्तै इप्रका कटारीका डिएसपीको कमाण्डमा टोली पठाइएको छ भने जिल्ला प्रहरीबाट इन्सपेक्टरको कमाण्डको अर्को टोली तथा रुपाटार चौकीका प्रहरी तैनाथ छन् । 

सेनाले बम डिस्पोज गरेपछि आईतबार साँझै घट्नास्थलको सर्जमिन मुचुल्का गरेर अनुसन्धान अघि बढाइएको एसपी दाहालले बताए ।