ताप्ली गाउँपालिकामा शक्तिशाली बम विष्फोट

२0७७ मंसिर ७ आईतवार
ताप्ली गाउँपालिकामा शक्तिशाली बम विष्फोट

उदयपुर

अज्ञात समूहले उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा शक्तिशाली बम विष्फोट गराएको छ । विहान १ः०० बजे ठूलो आवाजका साथ विष्फोट भएको बम गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष छिर्ने बरण्डामा विष्फोट भएको हो ।


विष्फोटनले अध्यक्ष उद्धवसिंह थापा र उपाध्यक्ष कमलामाया राईको कार्यकक्ष छिर्ने प्यासेजमा राखिएको सोधपुछ काउन्टरका फर्निचर तथा अध्यक्ष थापाको कार्यकक्ष छिर्ने ढोकामा क्षति पुगेको स्थानीयाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 


एकतला माथि रहेको अध्यक्ष उपाध्यक्षको कार्यकक्षमा पस्नुअघि आवश्यक सहयोगका लागि राखिएको सोधपुछ काउन्टरको टेबल, कुर्सी र कार्पेट बमले क्षति गरेको बताइएको छ । विष्फोटनसँगै कार्यालय प्रवेशद्वार (गेट) मा पनि एउटा बमजस्तो बस्तु फेला परेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रमुुख एसपी भीमबहादुर दाहालले घट्नाको पुष्टि गर्दै विहान १ः०० बजे विष्फोट भएको बताए । घट्नापछि रुपाटार प्रहरी चौकीबाट टोली खटेर सुरक्षा दिईरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपीको कमाण्डमा अर्को टोली विहान घट्नास्थल पठाईसकेको उनले बताए । सदरमुकामबाट पनि इन्सपेक्टरको कमाण्डमा अर्को टोली घट्नास्थल पठाइएको दाहालले बताएका छन् । 


घट्नाबारे सबै विवरण अहिले खुलिनसकेको प्रहरी भनाई छ । विष्फोट भएको बम कुन हो  यकिन नभईसकेको एसपी दाहालले बताए । विष्फोटन भएको बमको प्रकार खुलिनसकेको हुनाले अहिलेलाई आईईडी (इन्क्लुसिभ एक्सक्लुसिभ भिडाईस) मात्र भन्दा हुने उनले बताए । कुन बम हो त्यो कुरा प्रहरी टोलीले अनुसन्धान गरेपछि पत्ता लाग्ने उनले बताए ।


गाउँपालिका अध्यक्ष थापाले किन र कसले घट्ना घटायो भन्ने जानकारी नभएको बताए । अहिलेसम्म कुनै समूहले चन्दा नमागेको र धम्की पनि दिएको थाहा नभएकाले विष्फोटन कसले किन गरेको भन्ने सम्बन्धित निकायले अनुसन्धान गरेपछि मात्र खुल्ने थापाले बताए । 


गाउँपालिका केन्द्र रुपाटारमै रहेको भवनमा भएको विष्फोटनले स्थानीय त्रसित भएका छन् । नजिकै रहेको मावि रुपाटारका शिक्षक, विद्यार्थी, कर्मचारी र जनप्रतिनिधिमा पनि आतंक छाएको स्थानीयले बताए । गाउँपालिकाले विद्यालयकै भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो । 


स्थानीयतह पुनर्संरचनापछि भवन अभावमा विद्यालयको एक मात्र पक्की भवन भाडामा लिएर गाउँपालिका कार्यालय राखिएको हो । विद्यालयको अर्को पक्की एकतले भवन पनि फ्राईम बैंकले भाडामा लिएको छ । 


विष्फोटन जसले गरेको भएपनि छिट्टै पक्राउ गर्ने गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । एसपी दाहालले घट्नाबारे अनुसन्धान अघि बढिसकेको हुनाले छिट्टै अपराधी पत्ता लगाएर कारबाही गर्ने गरी छुट्टाछुट्टै टोली खटाएर खोजी कार्य तिब्र पारिरकेको बताए ।