कोविडमा छठ, खोला बन्द भएपछि कृतिम पोखरीमा पुजा गर्दै मनाइयो 

२0७७ मंसिर ६ शनिबार
कोविडमा छठ, खोला बन्द भएपछि कृतिम पोखरीमा पुजा गर्दै मनाइयो 

उदयपुर

विगतका छठ पर्वमा बत्तीले झिलीमिली, सिंगारपटारले झकिझाउ, सांस्कृतिक कार्यक्रमका लागि मञ्चले सजिसजाउ तथा माईक्रोफोनको आवाजको गुन्जनमय हुने त्रियुगा नदी यसवर्ष सुनसान बगरमै सीमित रह्यो । कोविड संक्रमणको जोखिम हुन नदिन प्रशासनले खोला र तालतलैया जानमा रोक लगाएपछि त्रियुगा, बरुवा र अन्य खोलाहरुमा यसवर्ष छठको रौनक देख्न पाइएन । 


खोला नदी र तालतलैयामा जान नपाउने भएपछि उदयपुरका भक्तजनले घर आँगनमै कृतिम पोखरी बनाएर यसवर्षको छठ मनाए । कतै व्यक्तिगत रुपमा र कतै टोलबासी छिमेकी मिले सानो समुहमा पोखरी बनाएर भक्तजनले छठ पुजा सम्पन्न गरेका छन् । छठमा भक्तजनले खोला तथा तालतलैयामा घाट (मन्दिर) बनाएर कैयौंको संख्यामा भेला भएर भव्यसँग मनाउने प्रचलनलाई कोविडले यो वर्ष रोकेको हो । 


गएको दसैंमा मानव जमघट बढेसँगै उदयपुरमा संक्रमण स्वाट्टै बढ्नुका साथै आधादर्जन हाराहारीको ज्यान गएपछि प्रशासनले सतर्कता अपनाउन भेलाजमघटमा रोक लगाउँदा छठमा  खोला नदीको भेला प्रभावित भएको हो । संक्रमणको जोखिमबाट बँच्न भन्दै जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) को कात्तिक २२ गते बसेको बैठकले मंसिर ५ र ६ गते २ दिन जिल्लाका सबै खोला नदीमा भेला जमघटमा रोक लगाउने निर्णय गरेको थियो ।


सो निर्णयलाई मान्दै २३ गते बसेको जिल्ला सुरक्षा समिति बैठकले सबै स्थानीय खोला नदी र तालतलैयामा छठको नाममा भेला जमघट नहुन आग्रह गर्दै सूचना जारी गरेपछि भक्तजनहरुले कृतिम पोखरी बनाएर छठ पुजा सम्पन्न गरेका हुन् । प्रशासनको निर्णय उल्लंघन भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएका कारण पनि भक्तजनले घरघरमै बसेर छठ मनाएको त्रियुगा छठ पुजा समितिले जनाएको छ । 


समिति अध्यक्ष राहुल यादवका अनुसार कोविड संक्रमणबाट बँच्न प्रशासनले गरेको निर्णय अनुसार समितिले एकसाताअघि विज्ञप्ती जारी गर्दै खोलामा भेला नभई घरघरमै छठ पुजा गर्न आग्रह गरेको थियो । खोला नदीमा भेला नभए पनि घरघरमै पुजा गरेर यो वर्षको छठ शान्तिपूर्ण सम्पन्न भएको यादवले बताए । 


भक्तजनले आफ्नै घर आगँगनमा बनाएको पोखरीमा परम्परा अनुसार शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई खर्घ दिएर रातभर गाज्राम बसी शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर पुजा समापन गरेका छन् । उदयपुर सिमेन्ट उद्योग लिमिटेड महाप्रबन्धक नबलकिशोर साहले संक्रमणको जोखिमबाट बँच्न घरमै पोखरी बनाएर छठी माताको पुजा सम्पन्न गरेको बताए । 


प्रदेशसभा सदस्य सुनिता चौधरीले घर आँगनमा बनाएको पोखरीमा छठको ब्रत सम्पन्न गरेको बताईन् । उनीजस्तै त्रियुगा नगरप्रमुख बलदेव चौधरी परिवार, उपप्रमुख देवीकुमारी चौधरी, त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत परिवार, पूर्व अध्यक्ष सूर्यनारायण साह परिवारले पनि आँगनमै पोखरी बनाएर छठ पुजा गरेका छन् ।


उदयपुर सिमेन्टका उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्ण, इन्जिनियर महेश साहलगायतले पनि घरघरमा छठ पुजा सम्पन्न गरेको बताए । भक्तजनहरुले छिमेकमा मिलेर २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गर्दै सुरक्षा सतर्कता अपनाएर छठ मनाएको बताएका छन् ।


यो छठमा भेला जमघट हुन नपाएका कारण मेला र जात्रा पनि लाग्न पाएन । विगत वर्षहरुमा छठ आउनुभन्दा एकसातअघिदेखि त्रियुगा नदीमा झण्डै एक किलोमिटर दायाँबायाँ घाट बनाएर बीचमा मन्दिरसहित झकिझकाउ हुने गरेको थियो । छठमा बाक्लो मेला लाग्ने गरेकाले हजारौं भक्तजन र सर्वसाधारणको सहभागिता हुने छठ पुजाको अवसरमा बिबिध सांस्कृतिक कार्यक्रम पनि हुने गरेको थियो । 


धेरैको जमघट हुने भएकाले व्यापारिक स्टलहरु राखेर व्यापार व्यवसाय राम्रो हुने गरेको थियो । यसवर्ष कोविडका कारण व्यापार व्यवसायमा ठूलो घाटा लागेको त्रियुगा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत राईले बताए । उनका अनुसार विगत वर्षको तुलनामा यसवर्षको छठ ९० प्रतिशत कम व्यापार भएको छ । खोला नदीमा जान बन्देज गरिएका कारण भेला र मेला नलाग्दा सबभन्दा बढी व्यापारमा असर परेको उनले बताए ।  


छठमा किनबेच हुने केरा, केराका बोट, नरिवल, माटाका भाँडा, धुप, अगरबत्ती, अदुवा, मालालगायत सामानको व्यापार यो वर्ष स्वाट्टै घटेको बाणिज्य संघले जनाएको छ । कोविडले गर्दा नदी खोला  जान नपाउने भएपछि सामान विक्री नहुने अनुमानले पनि व्यापारीहरु धेरै कारोबार गर्नेतर्फ ध्यान नदिएको संघले जनाएको छ ।