फागुनभित्र कर बुझाए आकर्षक छुट पाउने राजश्वको "स्कीम"

२0७७ मंसिर ५ शुक्रबार
फागुनभित्र कर बुझाए आकर्षक छुट पाउने राजश्वको "स्कीम"

माझखर्क संबाददाता

गाईघाट


नेपाल सरकारले कोरोना प्रभावित करदातालाई बिभिन्न किसिमका छुट (स्कीम) योजना अघि सारेको छ । "स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, विकास, समृद्धि र सुशासन" भन्ने नाराका साथ मंसिर १ देखि ७ गतेसम्म आयोजित ‘नवौं कर दिवस ०७७’ को अवसर पारेर उदयपुरस्थित करदाता सेवा कार्यालयले छुटको योजनाबारे करदातालाई प्रचारप्रसार अभियान थालेको छ । 


जस अनुसार यो वर्षको कर चुक्ता गर्दा बिभिन्न ४ प्रकारका सुविधा लिनसक्ने करदाता सेवा कार्यालय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले बताए । उनका अनुसार आर्थिक वर्ष ०७५/७५ देखि ०७६/७७ सम्मको आय विवरण बुझाउँदा सोमा लाग्ने कर ०७७ फागुन मसान्तसम्म दाखिला गरी स्थायी लेखा नम्बर लिएर करको दायराभित्र आउनेलाई शूल्क तथा व्याज मिनाहा पाउनेछन् । 


राजश्व कार्यालयले अघि बढाएको योजनामा यसअघि स्थायी लेखा नंम्बर (पान) लिएर वार्षिक ५० लाख रुपैंयासम्म कारोबार गरेको तर, आय विवरण पेश नगरेकालाई आर्थिक ऐन ०७७ बमोजिम आव ०७३/७४ देखि ०७६/७७ सम्मको आय विवरण र सो अनुसार आयकर र सोमा लाग्ने व्याजमा २५ प्रतिशत लाग्ने हर्जाना ०७७ फागुनसम्म विवरण दाखिला गरे छुट दिइनेछ ।


त्यसैगरी वार्षिक ५० लाखभन्दा बढी कारोबार गरेको तर, निकायगत पान नलिई कारोबार गरेर आय विवरण पेश नगरेकालाई आर्थिक ऐन ०७७ ले ०७३/७४ वा सोभन्दा अघिको आय विवरण, सो अनुसार आयकर र सोमा लाग्ने व्याजको २५ प्रशित हुने हर्जाना रकम पनि ०७७ फागुनभित्र बुझाए छुट पाउने व्यवस्था गरिएको छ । ०७५ असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउन बाँकी करदाताले आर्थिक ऐन ०७७ को दफा २१ (३) ले दिएको सुविधा बमोजिम बुझाउनुपर्ने कर विवरण, सो अनुसारको भ्याट र त्यसमा लाग्ने व्याजको ५० प्रतिशत लाग्ने हर्जाना रकम ०७७ फागुनसम्म बुझाएमा जरिवाना र थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुने कार्यालयले जनाएको छ । 


राजश्व कार्यालयले विश्वव्यापी महामारी कोविड संक्रमणबाट प्रभावित कारोबारमा कर छुट सहुलियतको व्यवस्थासमेत गरेको छ । जस अनुसार ०७६/७७ को कारोबार वार्षिक २० लाख रुपैंयाभित्र रहेको, आम्दानी वार्षिक २ लाख (डे.१) भित्र रहेको करदातालाई आयकरमा ७५ प्रतिशत छुट दिइनेछ । 


कारोबारका आधारमा कर बुझाउने करदाता (डे.२) का लागि ०७६/७७ को वार्षिक १ करोडसम्मको कारोबार गर्ने करदातालाई आर्थिक ऐन ०७७ को दफा २५ (३) बमोजिम लाग्ने करमा २५ प्रतिशत छुट हुनेछ । ०७६/७७ मा वार्षिक १ करोडबढी कारोबार गर्ने होटल, टाभल, बैंक, यातायात, हवाई सेवा सञ्चाललाई आर्थिक ऐन ०७७ को दफा २५ (४) बमोजिम लाग्ने करमा २० प्रतिशत छुट हुने व्यस्थासमेत गरिएको छ । 


कर दिवसको अवसरमा यस्ता छुट सुविधाका योजनारे पर्चा पम्प्लेट र ब्रसर विरतण गर्दै करसम्बन्धी जनचेतना कार्यक्रम गरिरहेको बुढाथोकीले बताए । यो वर्ष कर दिवसको अवसरमै तिहार पर्व परेकाले मंसिर ३ गतेदेखि माईकिङ तथा घरदैलो कार्यक्रम गर्दै प्रचारप्रसार अभियान तिब्र पारिएको अधिकृत बुढाथोकीले बताए । अभियानमा प्रमुख बुढाथोकी नेतृत्वको टोलीमा कर्मचारी, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसमेतलाई सहभागी गराइएको छ ।