रामपुरमा "बेलका फुटबल लिग" सुरु, ९ महिनादेखि मुर्झिएको खेलकुद व्युँतदै

२0७७ मंसिर २ मंगलवार
रामपुरमा "बेलका फुटबल लिग" सुरु, ९ महिनादेखि मुर्झिएको खेलकुद व्युँतदै

बेलका 
    

कोविड महामारीका कारण थलिएको खेलकुदक्षेत्र उदयपुरमा बामे सर्न थालेको छ ।  कोविड महामारी सुरु भएसँगै चैत ११ देखि लकडाउन भएपछि९ महिनादेखि ठप्प रहेको फुटबल कोविड कहरकै बीच उदयपुरमा पहिलो पटक बेलका नगरपालिका रामपुरमा मंगलबारदेखि सुरु भएको हो । 


बेलका ६ बुद्धचोकस्थित खेलमैदानमा सुरु प्रतियोगिताको खेलको पहिलो दिन रामपुर फुटबल क्लब र बेलका फुटबल एकेडेमीबीच स्पर्धा हुँदा रामपुर क्लबले ४–२  गोल अन्तरले बेलका एकेडेमीलाई हराएको छ । यो जितसँगै क्लबले ३ अंक जोडेको छ । झण्डै ३ महिना चल्ने लिग फुटबलको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले गरे ।     


प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि प्रवक्ता राईले उपत्यकापछि मुलुकमै पहिलो पटक बेलकामा फुटबल प्रतियोगिता सुरु भएको भन्दै सफलतापूर्वक सम्पन्न गर्न आयोजक र खेलाडीलाई आग्रह गरे । राईले कोरोना कहरका कारण खेलकुद क्षेत्र तहसनहस भएको भन्दै अव विस्तारै खेलकुद क्षेत्रलाई माथि उठाउन सबैपक्ष लागी पर्नुपर्ने बताए । यो लिग फुटबलको पहिलो र उपत्यकाबाहिरकै पहिलो खेल भएको भन्दै उनले यसलाई सफल पार्न सबै पक्षलाई सहयोग गर्न आव्हान गरे । ३ महिना अवधिसम्म चल्नसक्ने खेल भएकाले यसलाई सफल पार्न प्राबिधिकपक्ष मिलाउन स्थानीयलाई आग्रह गर्दै बाँकी व्यवस्थापन एन्फाले गर्ने बताए । 


कार्यक्रममा बिशिष्ट अतिथि बेलका नगर उपप्रमुख राजकुमारी चौधरीले खेल सफलताको कामना गर्दै खेलाडीहरुलाई गतिसिल र अनुशासित भएर खेल्न आग्रह गरिन् । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटी बेलकाका अध्यक्ष मनोज तामाङले नगरको विकासका लागि युवाहरुले खेलकुदको माध्यामबाट पनि सहयोग गर्नुपर्ने बताए । यसअघि पनि खेलकुदको माध्यामबाट युवाहरुले प्रशंसनीय कार्य गर्दै आएको भन्दै उनले त्यसलाई निरन्तरता दिन खेलाडीलाई अध्यक्ष तामाङले हौसला दिए । 


नेपाली काँग्रेस बेलकाका नेता अशोक कार्कीले खेलाडीहरु राष्ट्रका गहना भएको भन्दै  खेलाडीलाई राष्ट्रले उचित संरक्षण र सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा एन्फा उदयपुरका अध्यक्ष रन्जन कार्की, उपाध्यक्ष सारा राई, नेपाल आदिवासी जनजाति महासंघ बेलकाका अध्यक्ष ललित राई, स्थानीय पत्रकारहरु भरत घिमिरे र शुमनसागर खतिवडालगायतको उपस्थिति थियो । 


‘प्रथम बेलका च्याम्पियन लिग ०७७ मूल आयोजक समिति’को आयोजनामा सुरु प्रतियोगितामा १२ समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक टिम संयोजक विशाल लिम्बुले बताए । उनका अनुसार लिगअन्तरगत १ सय ८२ खेल हुनेछन् ।