कोरोना कहर: देउसी भैलोविनै सकियो तिहार

२0७७ मंसिर १ सोमबार
कोरोना कहर:  देउसी भैलोविनै सकियो तिहार

उदयपुर


कोरोना कहरका बीच यसवर्षको तिहार सकिएको छ । विगत वर्षहरुमा देउसी भैलो, सांस्कृतिक कार्यक्रम, खेलकुदलगायत बिभिन्न गतिबिधि गर्दै हर्षोल्लासपूर्वक मनाइने गरेको तिहार यो वर्ष औपचारिक रुपमा दिएर मनाइयो ।


कोरोना संक्रमण जोखिमबाट बँच्न प्रशासनले गरेको आग्रह अनुसार विना भीडभाड र सांस्कृतिक गतिबिधि तिहार मनाइएको हो । प्रशासनले दुईसातअघि नै तिहारमा सँदा झैं देउसी भैलो नखेल्न, नाचगान नगर्न, पटाका र आतसबाजी नगर्न सचेत गराउँदै सार्वजनिक सूचना जारी गरेको थियो । 


सूचना उल्लंघन गरे प्रहरीले संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएका कारण यसपालीको तिहारमा बजारमा न देउसी भैलो खेलेको देखियो न सांस्कृतिक कार्यक्रम र खेलकुदका कार्यक्रम नै गरिए । कोविडबाट बँच्न प्रशासन गरेको आग्रह अनुसार यो वर्षको शान्तिपूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । 


दसैंमा मानव चलखेल बढी भएका कारण दसैंपछि भकाभक संक्रमित देखिन थालेकाले प्रशासनले थप जोखिम हुन नदिन बेलैमा सचेत गराउँदै तिहारमा भीडभाड नगर्न आग्रह गरेको उनले बताए । देउसी भैलो खेल्दा, खेलकुदका गतिबिधि गर्दा र सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दा स्वतः भीड हुने र त्यसले संक्रमणको जोखिम बढाउने भएकाले प्रशासनले यस्तो तरिका अपनाएको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरले एकाध ठाउँमा जुवातासका घट्ना भए पनि अन्य कुनै तामझाम बिना तिहार सम्पन्न भएको जनाएको छ । प्रहरीले तास जुवा खेलिरहेको अवस्थामा अघिल्लो विहान मात्र झण्डै अढाईलाख नगद, सुनका गहनासहित ९ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसबाहेक अन्य कतैबाट जुवातास भएको खवरसमेत नआएको प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।


सदरमुकाम गाईघाटजस्तै पहाडी गाउँपालिकाहरु ताप्ली, लिमचुङबुुङ, रौतामाई र पूर्वका चौदण्डीगढी र बेलका नगरपालिकामा पनि शान्तिपूर्वक तिहार मनाइएको छ । 'अहिलेसम्म सबैतिर तिहार शान्तिपूर्ण रुपमा मनाइएको खवर आएको छ' एसपी दाहालले भने 'सदरमुकामसँगै जिल्लाका अन्य ठाउँमा कतै अशान्तिका घट्ना भएको खवर आएको छैन ।' 


तराईबासी समुदायको महत्वपूर्ण चाड छठको अवसरमा पनि भीडभाड नगर्न प्रशासनले यसअघि नै आग्रह गरिसकेको छ । तिहारपछि लगत्तै पर्ने छठ पर्व स्थानीय नदी, खोला र तालतलैयामा जम्मा भएर पुजा आराधना गर्ने तथा एकरातभर जाग्राम बस्ने प्रचलन भए पनि यो वर्ष त्यसो नगरी घरघर बसेर छठ मनाउन प्रशासनको आग्रह छ । 


परम्परा अनुसार भीडभाड गरेर छठ मनाउँदा संक्रमणको जोखिम उच्च हुने भएकाले यसवर्ष मंसिर ५ र ६ गते दुईदिनका लागि स्थानीय खोला नदीमा जमघट र भेला हुन नदिने निर्णय प्रशासनले गरेको छ । कात्तिक २२ गते बसेको जिल्ला कोविड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठक र २३ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमणबाट बँचाउन दुईदिनका लागि स्थानीय नदी खोलामा भेला जमघट गर्न नदिने निर्णय गरेको हो ।


डिसिसिएमसी र सुरक्षा समितिको निर्णय अनुसार त्रियुगा छठ पुजा समितिले घरघरमै बसेर यसवर्षको छठ मनाउन आग्रह गरेको छ । समितिका अध्यक्ष राहुल यादवले एक विज्ञप्ती प्रकाशित गरी यसवर्षको छठमा नदी, खोला र तालतलैयामा भेला जमघट नगर्न गरेको डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको आग्रह अनुसार घरघरमै बसेर छठ मनाउन अपिल गरेका छन् ।