४
२0७७ कार्तिक ३0 आईतवारउदयपुर, कात्तिक ३०
हरेक तिहारमा जुवातास खेलको आरोपमा पक्राउ पर्ने क्रम यो वर्ष पनि रोकिएन । यसै क्रममा आज विहान त्रियुगा नगरपालिका १० बोक्से करमगाछीबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले सुनका सिक्री, औठी, चेक र नगदसहित ९ जनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
आईतबार विहान २ः३० बजेको समयमा जुवा खेलिरहेको सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा नगरपालिका १० करमगाछीस्थित एक घरमा छापा मार्दा घरधनीसहित पक्राउ परेका ह्न । नगद, सुनका गहना र चेकसहित घरधनी ४९ वर्षीय पुरुष, २० वर्षीय, ४० वर्षीय, ४५ वर्षीय, ४० वर्षीय, ४२ वर्षीय, ४१ वर्षीय, ४० वर्षीय र २९ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जुवाखालबाट प्रहरीले २ लाख ४७ हजार १ सय १७ रुपैंया नगद, २ थान सुनको सिक्री, ३ थान औंठी, १ बुङ तास, १८ थान कौडा, १७ थान मोवाईल पनि बरामद गरेको छ । त्यसैगरी नविल बैंकको २ लाख १० हजार तथा कृषि विकास बैंकको १ लाखको चेक र १९ थान मोटरसाईकल तथा ६ थान चावी पनि बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताए ।
दाहालका अनुसार जुवा खेलिरहेको भन्ने विशेष सुराकी आएपछि टोली पठाएर घरमा छापा मार्दा उनीहरु सबै जुवा खालमा भेटिएपछि नियन्त्रणमा लिइएको हो । झण्डै आधादर्जन भने भाग् नसफल भएको उनले बताए । घरबाहिर १९ वटा मोटरसाईकल रहेको तर, ९ जना मात्र पक्राउ पर्नुले केही व्यक्तिहरु भने प्रहरी आएको सुईको पाउनेबित्तिकै भागेको हुनसक्ने उनले बताए ।
दिनभर जुवातास खेलेको नभए पनि रात छिप्पिटै गएपछि प्रहरी सुतिसके भन्ठानेर जुवा जमेका बेला टोली खटेर उनीहरुलाई रंगेहात पक्राउ गरिएको हो । एसपी दाहालले जुवाखालबाट बरामद नगद भुस (फिर्ता नहुने) हुने कानुनी व्यवस्था रहेको बताएका छन् । घट्नाबारे थप अनुसन्धान गर्न विशेष टोली गठन गरिएको छ ।
दुईसाताअघि नै प्रशासन प्रहरीले भीडभाड हुने गरी भेला जमघट नगर्न, जुवातास नखेल्न, पटाका र आतसबाजी तथा विष्फोटक पदार्थ प्रयोग नगर्न र मन्दिरमा भीड हुनेगरी पुजा आराधना नगर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको थियो । तर, यस्तो सार्वजनिक सूचनाको अवज्ञा गर्दै कोविडको जोखिम हुनेगरी जुवातास खेलेको पाइएपछि पक्राउ गरी कारबाही अघि बढाउने उनले बताए ।
कोविड संक्रमणबाट बँच्न भन्दै प्रशासनले घरघरमै बसेर दसैं तिहार तथा छठलगायत चाड पर्व मनाउन गरेको आग्रह उल्लंघन गरेकाले पक्राउ गर्न बाध्य भएको दाहालले बताए । त्यसो गरेको पाइए पक्राउ गरी कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइए पनि आग्रह नमान्नेहरु कारबाहीको भागीदार बन्नुपर्ने दाहालको भनाई छ ।