नेकपा लिमचुङबुङको सपथ, समाजबादी र कांग्रेसका डेढ दर्जन प्रवेश

२0७७ कार्तिक २८ शुक्रबार
नेकपा लिमचुङबुङको सपथ, समाजबादी र कांग्रेसका डेढ दर्जन प्रवेश

लिमचुङबुङ


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को लिमचुङबुङ गाउँँ कमिटीको सपथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । केहीदिनअघि पूर्णता पाएको गाउँ कमिटीलाई पार्टी केन्द्रीय सदस्य तथा प्रदेश १ कमिटी सचिव सुरेशकुमार राई (हिमाल) ले सपथ गराएका हुन् । 


लिमचुङबुङ ३ स्थित गाउँपालिका केन्द्र बाराहामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले नवगठित कमिटीलाई सपथ खुवाए । कार्यक्रममा प्रदेशसभा सदस्य नारायण बुर्जामगर, जिल्ला कमिटी अध्यक्ष विनोद कटुवाल, सचिव इश्वरमणि राउत, गाउँपालिका अध्यक्ष तथा जिल्ला सदस्य मेजरकुमार राई, सचिवालय सदस्यहरु प्रमेश्वर घिमिरे, कृष्ण निरौला, विनोद राई, होम किरातीलगायत नेताहरुको उपस्थिति थियो । 


पूर्व एमालेका भलराज राई अध्यक्ष र पूर्व माओबादीका झनक विक सचिव रहेको ७५ सदस्यीय कमिटीले सपथ लिएसँगै ५ वटै वडा कमिटी गठन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने पार्टीले जनाएको छ । अध्यक्ष राईले आउँदो मंसिर पहिलो साताभित्र वडा कमिटीहरु गठन गरिसकेर सपथ ग्रहण गराईसक्ने बताएका छन् । 


सपथ कार्यक्रमको अवसरमा जनता समाजबादी पार्टी र नेपाली कांग्रेस परित्याग गरेर १५ जना नेकपामा प्रवेश गरेका छन् । समाजबाद पार्टीका  पूर्व जिल्ला इन्चार्ज, किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राईसँगै लिमचुङबुङ ४ बलम्ताका राजेश राई, डिगबहादुर राई, रविन्द्र राई, अर्जुन चामलिङ, रोजन राई, आशिष राई, कुशनचन्द्र राई, मविन राई, मइन्द्र राई, मीनरास राई र हुसन परियार पनि नेकपा प्रवेश गरेका छन् ।


त्यस्तै, नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेमा लिमचुङबुङ १ का सिमसन राई र विश्वराज राई तथा लिमचुङबुङ २ का तेजबहादुर मगर रहेको अध्यक्ष राईले बताए । नव प्रवेशीहरुलाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव हिमाल, जिल्ला अध्यक्ष  कटुवाल, सचिव राउत र गाउँ  पार्टी अध्यक्ष भलराज राईले अविर माला लगाएर स्वागत गरेका थिए ।