चतारामा आगलागी. होटल र पुस्तक पसलको ५० लाख स्वाहा

२0७७ कार्तिक २७ बिहीबार
चतारामा आगलागी. होटल र पुस्तक पसलको ५० लाख स्वाहा

रामपुर

अघिल्लो राति भएको आगलागीबाट बेलका नगरपालिका ८ कोठुस्थित एउटा होटल र पुस्तक पसल जलेर खरानी भएका छन् । बुधबार राति अन्दाजी १० बजे आगागी हुँदा होटल गन्तव्य किचन र महाकाली पुस्तक पुल जलेर खरानी भएको प्रहरीले जनाएको छ ।


उदयपुर र सुनसरीको सीमाना चताराको कोठुमा सञ्चालित होटल र सँगै रहेको पुस्तक पसलमा लागेको आगोले ५० लाखबढीको क्षति भएको अनुमान स्थानीयले गरेका छन् । स्थानीय देवी गिरीले सञ्चालन गरेको होटल राति ९ः३० बजे बन्द गरेर घर गईसकेपछि एक्कासी आगलागी भएको उनले बताईन् । 

खड्ग राईले सञ्चालन गरेको पुस्तक पसल पनि आगोले ध्वस्त पारेको प्रहरी चौकी कोठुलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगोले होटलका किचन सामग्री, भाँडाकुँडा, खाद्यान्न, लत्ताकपडा, फर्निचर, फ्रिजलगायत सबै सामान जलेर भस्म भएको गिरीले बताईन् ।


होटल रहेको स्थानीय गान्दीप मान राई र बुद्ध राईको एकतले काठे घर पुरै ध्वस्त भएको छ । आफुले ज्युमा लगाएको लुगाबाहेक केही बाँकी नरहने गरी भस्म भएको गिरीले बताईन् । सो घर गिरीले भाडामा लिएर होटल सञ्चालन गर्दै आएकी थिईन् । आगो लाग्नुको कारण विद्युत सर्ट भएको हुनसक्ने प्रहरीको आशंका छ । अहिलेसम्म कारण नखुलेकाले आगो विद्युत सर्ट भएरै लागेको ठहर स्थानीयको छ । 


बन्द गरेर घर फर्किदै गर्दा राति टाढैबाट आगोको मुस्लो देखिएको र केहीबेरमा स्थानीयले आफ्नै होटलमा आगलागी भएको खबर गरेको बउनले ताईन् । गिरीले होटलमा मात्रै १० लाखभन्दा बढी क्षती भएको बताएकी छिन् । आगोले खड्ग राईको पुस्तक पसल जल्दा ८ लाखभन्दा बढीको क्षति भएको छ । आगोले दुवै घर र होटल तथा पसलका सामान गरी ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।


राति भईसके पनि स्थानीयबासी, प्रहरी र दमकलको सहयोगले आगो १ घण्टाभित्रै नियन्त्रणमा आएको थियो । नगरपालिको पानी ट्यांकर, सुनसरीको झुम्काबाट आएको दमकल र स्थानीयहरु तत्काल भेला भएर कोठु प्रहरीको ससहयोगले आगो छिट्टै नियन्त्रणमा लिन सफल भएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताए । आगो निभाउन ढिला भएको भए अकल्पनीय क्षति हुनसक्ने बेलका नगर उपप्रमुख राजकुमारी चौधरीले बताईन् । 


बेलका ८ का वडाध्यक्ष जयकुमार राईले अग्निपीडित परिवारलार्ई राहतका लागि नगरपालिका र सम्बनिधत कार्यालयलाई सिफारिस गरिएको बताएका छन् । उनले क्षति विवरण यकिन गरेर राहतका लागि नगरपालिकालाई अनुरोध गरेको र प्रशासनमा पनि खवर गरेको बताए । उपमेयर चौधरीले पीडितहरुलाई नगरपालिकाबाट छिट्टै राहत वितरण गर्ने तयारी गरिरहेको बताईन् । 

नगरपालिकाले जतिसक्दो चाँडो र धेरै सहयोग जुटाउने र अन्य सहयोगीको पनि खोजी गर्ने आश्वासन चौधरीले पीडित परिवारलाई दिएको नगरपालिकाका प्रेस सल्लाहकार ललित राईले बताए ।