उदयपुर नेकपाले पूर्णता पायो, जिल्ला सचिवालय र कार्यालय टिम पनि गठन

२0७७ कार्तिक २५ मंगलवार
उदयपुर नेकपाले पूर्णता पायो, जिल्ला सचिवालय र कार्यालय टिम पनि गठन


उदयपुर

 

केन्द्रमा दुई अध्यक्षबीच रस्साकस्सी चलिरहेका बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उदयपुरका सबै स्थानीयतहमा पूर्णता पाएको छ । ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओबादीबीच एकीकरण भएको २  वर्ष ७ महिनापछि जिल्लाका ८ वटै स्थानीयतहका कमिटीलाई पूर्णता दिइएको हो । 


४ नगरपालिका र ४ गाउँपालिकामा गठित समितिहरुलाई जिल्ला कमिटीको मंगलबार बसेको बैठकले अनुमोदन गरेको पार्टी अध्यक्ष विनोद कटुवाल (दिवस) ले बताए । कटुवालका अनुसार जिल्ला कमिटी बैठकले ६१ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ । जसमा पूर्व एमालेबाट ३४ र पूर्व माओबादीबाट २७ जना समेटिएका छन् । 


गाउँपालिका र नगरपालिकामा यसअघि नै अध्यक्ष र सचिव तोकेर कमिटी गठन भईसके पनि बिभिन्न कारणले पूर्णता पाउन सकिरहेको थिएन । कतिपय नगर र गाउँमा कमिटी गठन भएर सपथग्रहणसमेत भईसके पनि केहीमा भने कमिटीले पूर्णता पाउनै सकेको थिएन । पूर्णता पाएका कमिटीहरुको पनि जिल्ला कमिटीबाट अनुमोदन हुन बाँकी थियो । बेलका, चौदण्डीगढी र कटारी नगर कमिटी तथा उदयपुरगढी गाउँ कमिटीले पूर्णता पाएर यसअघि नै सपथ ग्रहणसमेत भईसकेको छ ।


त्रियुगा नगर र लिमचुङबुङ, रौतामाई तथा ताप्ली गाउँ कमिटी भने अध्यक्ष र सचिव मात्र तोक्ने काम भएको थियो । पछिल्लो सातादिनयता पूर्णता पाएको कमिटीलाई मंगलबारको जिल्ला बैठकले अनुमोदन गर्दै आउँदो मंसिर १० गतेभित्र वडा कमिटी गठन गरिसकेर सपथग्रहण गराउने कार्यतालिका पारित गरेको अध्यक्ष कटुवालले बताए । कटुवालका अनुसार सपथ गराएसँगै जिल्लाव्यापी पार्टी संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउने निर्णयसमेत बैठकले गरेको छ । 


जिल्ला बैठकले पूर्व एमालेबाट ३४ र पूर्व माओबादीबाट २७ जनालाई समेटेर सचिवालय तथा ७ सदस्यीय कार्यालय समूहसमेत गठन गरेको छ । कार्यालय समूहमा पूर्व एमालेका तत्कालीन अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्षद्वय बिमल कार्की र ज्ञानेन्द्र श्रेष्ठ तथा सचिव परमेश्वर घिमिरे छन् । त्यस्तै पूर्व माओबादीका तत्कालीन अध्यक्ष विनोद कटुवाल दिवस, सदस्यहरु जीवन कार्की (कुशल) र सन्तोष सुबेदी (बलिदान) समेटिएको कार्यालय समूह बैठकले बनाएको छ ।     


पार्टी कमिटी नगरपालिकामा ८१ सदस्यीय र गाउँपालिकामा ७५ सदस्यीय बनाइएको जिल्ला कमिटी सचिव इश्वरमणि राउतले बताए । जसमा पूर्व एमाले र पूर्व माओबादीबीच ५५–४५ प्रतिशत हाराहारीको भागबण्डा छ । कतिपय ठाउँमा भने अवस्था हेरेर तलमाथि भएको राउतले बताए । पूर्व एमालेका प्रकाश बस्नेत अध्यक्ष र पूर्व माओबादीकी गीता खड्का सचिव रहेको ८१ सदस्यीय त्रियुगा नगर कमिटीमा ५५–४५ कायम गर्दै एमालेबाट ४३ र माओबादीबाट ३८ सदस्य छानिएको छ ।


पूर्व एमालेका भलराज राईको अध्यक्ष र पूर्व माओबादीका झनक विक सचिव रहेको ७५ सदस्यीय लिमचुङबुङ गाउँ कमिटीमा एमालेका ४० र माओबादी ३५ जना छन् । पूर्व माओबादीका इश्वर मगरको अध्यक्षतामा गठित ७५ सदस्यीय समितिमा एमालेबाट सचिवमा खिलराज राईसहित ३८ र माओबादीका ३७ जना छन् । ताप्लीमा पूर्व माओबादीका ढुंगराज विक अध्यक्ष र पूर्व एमालेका टोपबहादुर ठकुरी सचिव रहेको ७५ सदस्यीय र उदयपुरगढीमा पूर्व एमालेका गोपाल खत्री अध्यक्ष र माओबादीका भुवन केप्छाकी मगर सचिव रहेको ७५ सदस्यीय कमिटी गठन भईसकेको छ । 


कटारी नगरपालिकामा पूर्व माओबादीका मणिराज दाहाल अध्यक्ष र पूर्व एमालेका मोहन खड्का सचिव रहेको ८१ सदस्यीय, बेलका नगरमा पूर्व माओबादीका मनोज तामाङ अध्यक्ष र पूर्व एमालेका गणेश बस्नेत सचिव रहेको ८१ सदस्यीय कमिटी गठन भएको छ । त्यस्तै चौदण्डीगढी नगरमा पूर्व एमालेका राजेन्द्र कटुवा अध्यक्ष र पूर्व माओबादीका गोविन्द श्रेष्ठ सचिव रहेको ८१ सदस्यीय समिति यसअघि नै गठन भएर सपथसमेत भईसकेको पार्टीले जनाएको छ ।