यो वर्ष छठ मनाउन नपाइने

२0७७ कार्तिक २५ मंगलवार
यो वर्ष छठ मनाउन नपाइने

उदयपुर


विगत वर्षमा धुमधाम मनाइने छठ पर्व यसवर्ष कोविड कहरका कारण मनाउन नपाइने भएको छ । बढ्दो कोविड संक्रमणबाट जोगिन यसवर्ष छठ पर्वमा खोला नदी वा तालतलैयामा पुजाआजा गर्न, भेला जमघट गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । 


दसैंमा भेला जमघट बढेका कारण अहिले आएर कोविडका विरामी धमाधम बढ्दै गएकाले तिहारमा भैलो देउसी खेल्न र छठमा जमघट गरेर पुजाआजा गर्न रोक लगाइएको प्रशासनले जनाएको छ । जिल्ला कोविड शंकट व्यवस्थापन समिति (डिसिसिएमसी) को आईतबार बसेको बैठकले गरेको उक्त निर्णयलाई जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले अनुमोदन गर्दै छठमा भेला जमघट नगर्न अनुरोध गर्ने निर्णय गरेको छ । छठमा स्थानीय खोला, नदी र तालतलैयामा भेला भएर पुजा आराधना गर्ने परम्परा रहेकोमा कोविड संक्रमण हुन नदिन यो वर्ष यस्तो निर्णय गर्नु परेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । 


उनका अनुसार जमघट हुन नदिन छठको दुईदिन खोला, नदी र तालतलैयामा जान तथा भेला हुन निशेध गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि आउँदो मङ्सिर ५ र ६ गते जिल्लाका सबै स्थानीय नदी खोला र तालतलैयामा जान रोक लगाएको सिडिओ पाण्डेले बताए । मंसिर ५ गते शुक्रबार अपरान्ह ३ः०० बजेदेखि ६ गते शनिबार विहान ८ः०० बजेसम्म त्रियुगा, बरुवा, फर्सेटलगायत सदरमुकामका नदी खोला र कटारीका तावा, कमलालगायत अन्य स्थानीयतहका कुनै पनि नदी खोला नदी र तालतलैयामा भेला नहुन प्रशासनले रोक लगाएको छ । 


छठ पर्वमा भक्तजनहरु स्थानीय खोला नदी र तालतलैयामा गएर रातभर जाग्राम बस्ने, सांस्कृतिक कार्यक्रम गर्ने, मेला  जात्राजस्ता भेला र जमघट गर्ने भएकाले मानव जमघट हुन नदिन खोला नदीमा जानै रोक लगाउनु परेको प्रशासनले जनाएको छ ।