यो तिहारमा देउसी भैलो नखेलौं 

२0७७ कार्तिक २४ सोमबार
यो तिहारमा देउसी भैलो नखेलौं 

उदयपुर, कार्तिक २४
    
यसवर्षको तिहारमा परम्परागत देउसी भैलो खेल्न नपाइने भएको छ । कोविड महामारीको संक्रमणबाट बँच्न सँधै झैं यो तिहारमा देउसी भैलो खेल्न प्रशासनले रोक लगाएको हो । आईतबार बसेको जिल्ला कोविड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) बैठकले बढ्दो संक्रमणको जोखिमबाट बँच्न देउसी भैलो कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले दसैंमा मानव चलखेल अत्याधिक बढेका कारण दसैंपछि भकाभक संक्रमित बढिरहेकाले तिहारमा भीडभाड र जमघट हुन नदिन देउसी भैलो, मन्दिर र पुजाआजामा भेला जमघट बन्द गर्ने निर्णय गरेको डिसिसिएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । प्रजिअ पाण्डेले कोविडबाट बँच्न सतर्कता अपनाउनु नै एक मात्र विकल्प रहेको भन्दै देउसी भैलो नखेल्न र तिहार घरघरमै बसेर परिवारसँग मनाउन सबैलाई आग्रह गरिएको बताए । 


जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म उदयपुरमा ८ हजार ५ सय ४ जनाको पिसिआर जाँच गर्दा २ सय ९४ जना संक्रमित पाइएको जनाएको छ । जसमध्ये २ सय १४ जना निको भईसकेका छन् भने ८० जना अझै बिभिन्न अस्पताल र आईसोलेसनमा उपचारत रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए । उनका अनुसार केही संक्रमितको भने उपचारको क्रममा मृत्यु भईसकेको छ ।  


बैठकले कोविड संक्रमण र रोकथामसम्बन्धी सचेतना अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । प्रशासनले बैठक निर्णय कार्यान्वयन गर्न भन्दै सबै स्थानीयतहलाई सोमबार पत्राचार गरेको जनाएको छ । कोविडबाट बँचने सुरक्षा सावधानी अपनाउन सचेतना कार्यक्रम चलाउन स्थानीयतहहरुलाई टोलटोलमा माईकिङ गर्न, सञ्चार माध्यममार्फत नियमित प्रचारप्रसार गर्न भनेको छ । त्यसैगरी जनसमुदायलाई अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम राख्न र साबुन पानीले नियमति हात धुन तथा सेनीटाइजर प्रयोगजस्ता स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ । 


सुरक्षा सावधानी नअपनाई घरबाहिर ननिस्कन, पसलमा भिडभाड नगर्न, व्यवसाय सञ्चालन नगर्न आग्रह गर्दै त्यसो नगर्ने व्यक्ति, पसल र व्यवसायीलाई जिल्ला अनुगमन समितिले संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । फैलिदो संक्रमणबाट बँच्न प्रशासनले भाइटीका, दिपावली, छठलगायत चाडपर्वहरु घरै बसेर परिवारमा मात्र मनाउन आग्रह गरेको छ ।