भाईले चलाएको स्कुटीबाट लडेर दिदीको निधन

२0७७ कार्तिक २४ सोमबार
भाईले चलाएको स्कुटीबाट लडेर दिदीको निधन

उदयपुर

स्कुटी दुर्घटनामा परेर गम्भीर घाईते भएकी युवतिको निधन भएको छ । सोमबार विहान अन्दाजी ६ः४५ वजे त्रियुगा नगरपालिका १० बासबारीस्थित मदन भण्डारी लोकमार्गमा को ३९ प ९०७० नं. को स्कुटी दुर्घटनामा पर्दा घाईते दुईमध्ये एकको निधन भएको हो । 


राजाबासबाट गाईघाटतर्फ आएको स्कुटी दुर्घटनामा पर्दा गम्भीर घाईते भएकी त्रियुगा नगरपालिका ९ राजाबासकी १९ वर्षीया युनिका बुढाथोकीको उपचारको क्रममा दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार चालक १३ वर्षीय युनिक बुढाथोकीले हाँकेको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । 


स्कुटीको पछाडि सवार युनिका दुर्घटनामा परी टाउको फटेर गम्भीर घाईते भएपछि जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको थियो । विराटनगरको न्युरो अस्पतालमा उपचाररत उनको मध्यान्ह सवा १२ः०० बेज निधन भएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक युनिक मृतकको आफ्नै भाइ हुन् । 


आफुसँगै दुर्घटनामा घाईते दिदीको निधन भए पनि घाईते युनिकको बिराटनगरमै उपचार भईरहेको प्रहरीले जनाएको छ । उनको स्वास्थय अवस्था सुधारोन्मुख रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।