भाषाशास्त्री डा. राई ऐतिहासिक र पुरातात्विक अध्ययनमा 

२0७७ कार्तिक २४ सोमबार
भाषाशास्त्री डा. राई ऐतिहासिक र पुरातात्विक अध्ययनमा 

उदयपुर    

भाषाशास्त्री डा. तारामणी राई उदयपुरका ऐतिहासिक र पुरातात्विक स्थलहरुको अध्ययनमा जुटेका छन् । दसैंअघि गृहजिल्ला आएका डा. राईले उदयपुरका ऐतिहासिक, पुरातात्विक, सामरिक महत्वका बिभिन्न स्थलहरुको अध्ययनमा खटिरहेको बताएका छन् । 


यो अवधिमा डा. राईले चौदण्डीगढी नगरपालिका १ को चौदण्डीगढी दरवार, बेलका नगरपालिका ७ को मैनामैनी दरवार, त्रियुगा नगरपालिका ३ को मोतिगडा, उदयपुरगढी ७ को कोल्टेगढी र त्रियुगा ८ को खाट बजार (मन्दिर) क्षेत्रको अध्ययन अवलोकन गरिसकेका छन् ।  उदयपुरगढी गाउँपालिका ५ को उदयपुरगढी, रौतामाई गाउँपालिका ४ को रौता पोखरी, ताप्ली गाउँपालिकाको ताप्ली पोखरी, त्रियुगा ८ कै शाही महल, बेलका ३ को सुनखानी बेलकातरी, बेलका ६ को टंकेला गुफालगायत जिल्लाका बिभिन्न ठाउँको अध्ययन गर्ने कार्यतालिका डा. राईले बनाएका छन् । 


त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका राई ५ वर्षअघि अंग्रेजि माध्यामबाट भाषा शास्त्रमा विद्यावारिधि प्राप्त हुन् । विद्यावारिधि गरेलगत्तैदेखि डा. राई देशमा लोपोन्मुख भाषा, सीमान्तकृत समुदाय र उनीहरुको जनबोली, भाष्य परम्परा तथा बसोबास गर्दै आएको थातथलो, प्राचिन तथा ऐतिहासिक र पुरातात्विक धरोहर तथा स्थानबारेमा गहिरो अध्ययनमा जुटेका छन् । दसैं तिहारको बिदा र कोविड महामारीले सिर्जना गरेको फुर्सदको समयलाई सिर्जनामा ढाल्ने उदेश्यले अध्ययनमा जुटेको उनले बताए । डा. राईले कोविड कहरमा नियमित सेवामा व्यस्त हुनु नपर्ने तथा विश्वविद्यालयमा अध्यापन पनि गर्न नमिल्ने समयको सदुपयोग गर्न गृह जिल्ला आएर महत्वपूर्ण स्थानहरुको भ्रमण र अध्ययन गर्न थालेको बताए । 


भाषा भाषी, समुदाय तथा नयाँ ठाउँको विषयमा बढी चासो दिने डा. राईले निकट भविष्यमा प्रकाशन हुन लागेको पुस्तकमा आफ्नो अध्ययनको निश्कर्ष समेट्ने बताएका छन् । दसैंलगत्तै मैनामैनी दरवार र चौदण्डीगढी दरवार पुगेर अध्ययन अवलोकन सकेका उनले गत शुक्रबार प्राचिनस्थल खाट बजार (मन्दिर)को स्थलगत अध्ययन गरे । तिहारअघि समय मिलेमा उदयपुरगढी, बेलकातरीलगायत अन्य ठाउँको अध्यन गर्ने योजना बनाएको बताएका छन् ।