बाल संगठनका सभापति दाहालले कार्यभार सम्हाले

२0७७ कार्तिक २३ आईतवार
बाल संगठनका सभापति दाहालले कार्यभार सम्हाले

बोक्से
नेपाल बाल संगठन उदयपुरका नवनियुक्त सभापति भुवन दाहालले कार्यभार सम्हालेका छन् । गत असोज २० गते बसेको संगठनको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार उदयपुर सभापति मनोनित भएका दाहालले आईतबारदेखि कार्यभार सम्हालेका हुन् ।


त्रियुगा नगरपालिका १० बोक्सेस्थित नेपाल बाल संगठनको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश सांसद अम्बिका थापा, जिल्ला समन्वय प्रमुख खड्ग परियार, उपप्रमुख गंगा राई, बेलका नगरप्रमुख दुर्गाकुमार थापा, पूर्व जिविस सभापति तथा नेकपा नेता बेदप्रसाद पोखरेल, नेतृहरु महेश्वरी राई, सिर्जना दनुवार, संगठनका निवर्तमान उपाध्यक्ष मदनराज कटुवाल र सदस्य अर्जुन पोखरेलगायतको उपस्थितिमा उनले कार्यभार सम्हालेका हुन् । कार्यक्रममा सांसद थापाले नवनियुक्त सभापति दाहाललाई बधाई दिदै सफलताको शुभकामना दिईन् । उनले संगठनको मर्म र भावना अनुसार अघि बढ्दै जिल्लाका बालबालिकाको असल संरक्षक र अभिभावक बन्न सफलताको कामनासमेत गरिन् ।


जिसस प्रमुख परियारले अनाथ, अपाङ्गता र बेसहारा बालबालिकाको संरक्षण र अभिभाकत्व ग्रहण गर्दै संगठनको उदेश्य र लक्ष्य अनुसार अघि बढ्न आग्रह गर्दै कार्य सफलताको कामना गरे । त्यस्तै उपप्रमुख राई, बेलका नगरप्रमुख थापा, पूर्व सभापति पोखरेल, संगठनका निवर्तमान उपसभापति कटुवाललगायत अतिथिहरुले दाहालको कार्य सफलताको कामना गरेका थिए । 


कार्यभार ग्रहण गर्दै सभापति दाहालले जिल्लाभरीका अनाथ, असहाय र अभिभावकविहीन बालबालिकाको सुरक्षा, शिक्षादिक्षा र असल अभिभावकत्वका लागि आफुले सक्दो काम गर्ने प्रतिबद्धता जनाए । उनले आफु भर्खर सभापति मनोनित भएको र अव रिक्त सदस्य पदमा उचित व्यक्तिहरुको मनोनयन गरेर संगठनलाई चलायमान बनाउँदै अघि बढ्ने वाचा गरे । संस्थाको गरिमालाई उचो बनाउदै अघि बढ्ने विषयमा आफु प्रष्ट रहेको भन्दै दाहालले त्यसका लागि सबैपक्षको सहयोगको अपेक्षा गरेको बताए ।