नेकपा लिमचुङबुङले पूर्णता पाउदै, २८ गते सपथ

२0७७ कार्तिक २३ आईतवार
नेकपा लिमचुङबुङले पूर्णता पाउदै, २८ गते सपथ

दिनेश राई 
लिमचुङबुङ


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लिमचुङबुङ कमिटीले पूर्णता पाउने भएको छ । पार्टीको गाउँ अध्यक्ष, सचिव र पालिकामा रहेका जिल्ला कमिटी सदस्यहरुको गत २० गते सम्पन्न बृहत बैठकले कमिटीलाई पूर्णता दिने निर्णय गरेको हो । 


पार्टीको जिल्ला कमिटीले गत असार २० गते नै पूर्णता पाएको थियो । कटारी, बेलका र  चौदण्डीगढी नगर कमिटी र उदयपुरगढी गाउँ कमिटीले पनि यसअघि नै पूर्णता पाईसकेका छन् । अव लिमचुङबुङ, ताप्ली, रौतामाई गाउँ कमिटी र त्रियुगा नगर कमिटीले पूर्णता पाउन बाँकी रहेको नेकपा कार्यालय सचिव श्याम ढुंगानाले वताए । ढुंगानाका अनुसार कमिपय स्थानीयतहका कमिटीले पूर्णता पाईसके पनि सपथग्रहण हुन सकेको छैन । बाँकी रहेका कमिटीलाई पनि छिट्ट्ै पूर्णता दिएर सपथ गराउने लक्ष्य रहेको ढुंगानाले बताए । 


लिमचुङबुङमा पूर्व एमालेको तर्फबाट ४० र पूर्व माओवादी तर्फबाट ३५ जना सदस्य समेटेर कमिटीलाई पूर्णता दिइने अध्यक्ष भलराज राईले बताए । उनको अध्यक्षतामा ७५ सदस्यीय गाउँ पार्टी कमिटी बन्नेछ । गाउँ कमिटीले पूर्णता पाएलगत्तै २९ सदस्यीय वडा कमिटीहरु गठनको अन्तिम चरणमा पुगेको सचिव झनक बिकले बताए । ‘अहिले वडा कमिटी विस्तारको चरणलाई तिब्रता दिईरहेका छौँ’ सचिव विकले भने ‘कात्तिक २६ गतेभित्र सम्पूर्ण तयारी सकेर २८ गते सपथग्रहण कार्यक्रम राखेका छौं ’


२८ गते हुने सपथग्रहण कार्यक्रममा संघीय सांसद तथा पार्टी १ नं. प्रदेश कमिटी सचिव सुरेशकुमार राई (हिमाल) लाई प्रमुख अतिथि आमन्त्रण गरिएको विकले बताए । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण पार्टी कमिटीलाई पूर्णता दिन ढिलाई भएको भन्दै सचिव विकले गाउँपाटी कमिटी पूर्ण भएपछि नेकपा लिमचुङबुङमा सशक्त ढंगले सक्रियताका साथ अघि बढ्ने बताए । 


सपथ कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष विनोद कटुवाल (दिवश), सचिव इश्वरमणि राउतलगायत नेताहरु सहभागी हुने गाउँ पार्टी अध्यक्ष भलराज राईले बताए । उनका अनुसार गाउँपालिका केन्द्र बाराहास्थित स्वास्थ्य कार्यालयको सभाकक्षमा राखिएको कार्यक्रम बिहान ११ः०० बजेदेखि सुरु गर्ने तय भएको छ ।