पञ्चकन्या मावि पात्लेबास बाढीको खतरामा

२0७७ कार्तिक २३ आईतवार
पञ्चकन्या  मावि पात्लेबास बाढीको खतरामा


लालपत्ता 


सदरमुकाम त्रियुगा नगरपालिका ६ लालपत्तास्थित पञ्चकन्या माध्यामिक विद्यालय पात्लेबास कुनै पनि बेला बाढी कटानमा पर्ने जोखिममा छ । स्थानीय शिसुवा खोलाले पछिल्लो वर्खाको बाढीले झण्डै १० मिटर जमिन बगाएपछि कटानको उच्च जोखिममा परेको हो । 


विद्यालयका प्रधानाध्यापक गेसराज कार्कीका अनुसार गतवर्ष बाढीले सडकछेउसम्म कटान गरेपछि सडकसँगै टाँसिएको विद्यालय बगाउने खतरा बढेको हो । ०४३ सालमा स्थापित विद्यालयमा शिशु कक्षादेखि १२ सम्मको पठनपाठन हुँदै आएको छ । कक्षा ५ सम्म मात्र स्वीकृत दरबन्दी रहेको विद्यालयमा अढाईसय बढी विद्यार्थी पठनपाठन गर्दै आएका छन् । नीजि स्रोतको भएकाले स्थानीयको पहलमा चन्दा र सहयोगका भरमा विद्यालय धान्दै आउनुपरेको प्रअ कार्कीले बताए । 


चरम आर्थिक अवभावमा सञ्चालन हुँदै आएको विद्यालयलाई बाढी कटानको जोखिम बढेपछि स्कुल चलाउन थप चुनौति आईपरेको उनले बताए । बाढीले वर्षेनी जमिन कटान गर्दै ल्याएकोमा यसवर्ष अघि बढी कटान गरेपछि भवनसँग जोडिएको सडक नै भत्कने अवस्थामा पुगेको छ । सडकछउरमा बाँसघारी भएर मात्र कटानबाट बँचेको उनले बताए । ‘धन्न बाँसघारी भएकलो बाढीले थप कटान गरेन’ प्रअ कार्कीले भने ‘नत्र यसैवर्ष सडक भत्काउँथ्यो, सडक गएपछि स्कुल गल्र्यामगुर्लुम हुन्थ्यो ।’ कटानको उच्च जोखिममा पुगे पनि बचाउको कुनै उपाय कतैबाट नभएको भन्दै उनले तत्काल रोकथामका लागि आग्रह गरे । 


स्थानीयका अनुसार वर्षैपिछे अलिअलि गरेर खोलाले कटान गर्दै आएर यो वर्ष जोखिमको अवस्थामा पुगेको हो । विद्यालय व्यवस्थापन समितिकअ अध्यक्ष टेकबहादुर कार्कीका अनुसार यो वर्ष झण्डै १० मिटर बढी जमिन बाढीले कटान गरेपछि सडकसँगै विद्यालय जोखिममा परेको हो । तत्काल रोकथाम नगरे आउँदो वर्खाको बाढीले सडक र विद्यालय दुवै भत्काउने जोखिम बढेको अध्यक्ष कार्कीले बताए । नीजि स्रोतको विद्यालय भएकाले चरम आर्थिक अभावले प्रशासनिक खर्च  धान्नै धौधौ भएको अवस्थामा कटानको जोखिमले धेरै चिन्तित बनाएको उनले बताए ।


बाढी रोकथाम गर्न सामान्य जाली माग्दासमेत पाउन नसकेको भन्दै अध्यक्ष कार्कीले खोला छेउमै रहेकाले ठूलो बाढी आएमा सडकसँगै विद्यालयका दुईवटा पक्की भवन र गेट एकैचोटी कटानमा पर्ने बताए । उनका अनुसार रोकथामका लागि पटकपटक त्रियुगा नगरपालिका, प्रशासन र नेताहरुलाई गुहारेको तर, ठोस पहल कतैबाट भएको छैन । अध्यक्ष कार्कीले विद्यालयसँगै सडक पनि बचाउनु पर्ने हुनाले सो ठाउँमा लगभग १ सय मिटर लामो तटबन्ध लगाउन आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायमा लिखित र मौखिक ध्यानाकर्षण गराउँदै आएको उनले बताए । 


पूर्व विव्यस अध्यक्ष अश्वीन कार्कीले विद्यालय कटान हुने देखिएपछि आफ्नै पालामा ३ वर्षअघिदेखि रोकथामको पहल गर्न प्रयास गर्दै आएको गराए । भविष्यमा स्कुललाई क्षति गर्छ भन्ठानेरै त्यतिबेलै विव्यस बैठक निर्णयसहित पत्राचार गरेको तथा सम्बन्धित व्यक्तिहरुलाई स्थलगत निरीक्षण भ्रमण गराएर रोकथामका लागि बजेट मागे पनि कसैबाट प्राप्त नभएको उनले बताए । 


अर्का पूर्व अध्यक्ष तथा नेकपाका स्थानीय नेता नरबहादुर खड्काले पनि स्कुल कटानको उच्च जोखिममा पुगेको भन्दै तत्काल तटबन्ध बाँध्ने विषयमा सम्बन्धित वडाध्यक्ष, मेयर, प्रदेश र संघीय सांसदहरुको ध्यानाकर्षण गराए । भौगोलिक दूरी टाढा भएकाले सदरमुकामकै नगरपालिका भएर पनि लालपत्ता सँधै ओझेलमा पर्दै आएको गुनासो उनको छ । विद्यालयदेखि धेरै विकास निर्माणका कुरामा पनि राज्यले लालपत्ता क्षेत्रलाई अर्घेलो गरेको खड्काको गुनासो छ । चुरे पारीको भूगोल, सप्तरीसँग सीमा जोडिएको क्षेत्र भएकाले आफुहरुलाई ‘त्रियुगाको कर्णाली’ बनाइएको गुनासो उनले गरे । 

 

शनिबार विद्यालयको स्थलगत अनुगमनमा पुगेका जिल्ला समन्वय प्रमुख खड्ग परियारलाई विद्यालय परिवारले तत्काल रोकथामको पहल गर्न आग्रह गरेका छन् ।  विद्यालय र बाढी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै प्रमुख परियारले विद्यालय अति उच्च जोखिममा रहेको पाइएकाले रोकथामका लागि तत्काल सम्बन्धित निकायलाई आग्रह गर्ने वचन दिए । स्कुल बचाउन सडक नै बचाउनुपर्ने देखिएकाले नगरपालिकामार्फत सडक विभाग, राष्ट्रपति चुरे कार्यक्रम र प्रदेश तथा संघीय सरकारसमक्ष आग्रह गर्ने आश्वासन स्कुल परिवारलाई दिएका छन् । 

 

प्रमुख परियारले विद्यालयलाई बाढी कटानबाट बचाउनसँगै विद्यालयको अन्य भौतिक पूर्वाधार र शैक्षिक सहयोग गर्न पनि सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाए ।