उदयपुर सिमेन्टमा जिएम छनौट प्रक्रिया सुरु, नयाँ जिएम को आउला ?

२0७७ कार्तिक २१ शुक्रबार
उदयपुर सिमेन्टमा जिएम छनौट प्रक्रिया सुरु, नयाँ जिएम को आउला ?



जलजले, कात्तिक २१


पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को महाप्रबन्धक (जिएम)  छान्ने प्रक्रिया सुरु भएको छ । गत भदौ १ गते उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले खोलेको विज्ञापनमा परेको निवेदनहरुका आधारमा छनौट प्रक्रिया अघि बढेको हो । 


असोज ५ गतेसम्म आवेदन खुल्ला राखेको अवधिमा आवेदन दिने बिभिन्न १०  उम्मेदवारलाई छनौट प्रक्रियामा सहभागी गराउने टंगा लागेको मन्त्रालयले जनाएको छ । जिएम पदका लागि परेको आवेदनहरुमध्ये १० जनाको नाम लघु सूची (सर्टलिस्ट) मा सार्वजनिक गरेर छनौट प्रक्रिया प्रारम्भ गरेको जनाइएको छ । मन्त्रालयले आवेदकहरुलाई आवधिक योजना पेश गर्न लगाउँदै प्रस्तुतिकरण गराउने काम यही आईतबारदेखि थाल्ने जनाएको छ । 


जिएमका लागि उद्योगकै नायव महाप्रबन्धक ध्रुबबहादुर देवकोटा तथा उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णकोसमेत आवेदन परेको मन्त्रालय स्रोतले जनाएको छ । अन्य आवेदकहरुमा बैंकिङ क्षेत्रका अनुभवी तथा नाडा अटोमोबाइलमा क्रियासिल गोपीकृष्ण न्यौपाने, कृषि सामाग्री कम्पनीका पूर्व प्रबन्ध निर्देशक अम्मरराज खैर, नेपाल नागरिक उड्यन प्राधिकरणका गोविन्दप्रसाद दाहाल र सञ्जय कुमार पनि जिएमका दावेदार छन् । 


त्यस्तै, जिएम हुन चाहने अन्य उम्मेदवारहरुमा कृषि विकास बैंकका पूर्व नायब महाप्रबन्धक अरुणकुमार ढुंगाना, सर्वोत्तम सिमेन्टका वरिष्ठ महाप्रबन्धक विनोद अधिकारी, शंकर ग्रुपका कार्यकारी निर्देशक आनन्द नेपाल र भुपेन्द्रप्रसाद अर्याल रहेका छन् ।


उदयपुर सिमेन्ट झण्डै दुईवर्षदेखि महाप्रबन्धकविहीन छ । तत्कालीन जिएम सुरेन्द्रकुमार पौडेल कार्यकाल सकिएलगत्तै ०७५ माघदेखि नेपाल आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भएर गएयता उसिउलि जिएमविहीन भएको हो । नयाँ जिएम नियुक्ति गर्न तत्कालीन सरकारले त्यतिबेलै सूचना जारी गरेपछि दर्जन बढीको आवेदन परे पनि छनौट प्रक्रियामा गडबडी भएको भन्दै सरकारले सूचनै रद्ध गरेपछि उद्योगले जिएम पाउन नसकेको हो । एकवर्षपछि आएर अर्को सूचनामार्फत मन्त्रालयले जिएम छान्न लागे पनि सरकार र सत्तारुढ नेकपाबीचको चर्को बिबादले उद्योगले नयाँ जिएम पाउँने नपाउने विषय अन्यौल रहेको उद्योगकै कर्मचारीमा शंका छ ।


हुन त जिएम हुँदा नहुँदा उद्योगलाई खासै फरक नपर्ने कर्मचारीहरु बताउँछन् । उद्योग व्यक्तिले भन्दा पनि विधि र पद्धतिले चल्ने भएकाले पद्धति राम्रो भए आफै राम्ररी चल्ने उनीहरुको अनुभव छ । उद्योग स्थापनायता इतिहासमा धेरे जिएमहरु आए गए, तर पद्धति बसाउन सक्दा नाफामा गयो, नसक्दा घाटा गएको अनुभव कर्मचारीहरुमा छ । निमित्त जिएममा पनि अनुभव, योग्यता र कार्यक्षमता भएमा उद्योग नाफामा जान सक्ने कर्मचारीहरुको बुझाई छ । नयाँ जिएम आउँदा राजनीतिक नियुक्ति लिएर आउने भएकाले अनुभवहीन व्यक्ति पनि पर्न गए उद्योगबारे बुझ्नै समय लाग्ने अनुभवीहरु बताउँछन् । ‘जिएम क्षमता र दक्षताका आधारमा निश्पक्ष छानिएर आए उद्योगको हित हुन्छ’ एक भुक्तभोगी कर्मचारीले भने ‘तर, पार्टीको फोर्सबाट आउने जिएम अनुभवहीन पनि हुनसक्छ, त्यसो भयो भने झन् उद्योगलाई घाटा हुने खतरा हुन्छ ।’    


पौडेल गएदेखि नै नायव महाप्रबन्धक नवलकिशोर साहले २१ महिनायता निमित्त जिएम भएर कार्यभार सम्हाल्दै आएका छन् । निमित्तलाई पनि जिएमसरहकै अधिकार भए पनि पूर्ण आत्मविश्वासले काम गर्न भने असहज हुने उनको अनुभव छ । त्यसअघि पनि पटक पटक निमित्त भएर काम गरिसकेका साहका अनुसार उद्योगलाई आफुले जिएम भएको बेलाभन्दा कुनै कुरामा कमी हुन नदिएको दावी गरे । उद्योग पदलेभन्दा पद्धतिले चल्ने हुनाले निमित्त भएर चलाउँदा पनि उद्योगबाट जिएम भएसरह सिमेन्ट उत्पादन, विक्री वितरण भईरहेको तथा कर्मचारी परिचालन र भरणपोषणजस्ता कार्यमा कुनै कमी आउन नदिएको साहले बताए ।