एकैदिन ८ जनामा कोविड देखिएपछि त्रियुगा नगरपालिका बन्द

२0७७ कार्तिक २0 बिहीबार
एकैदिन ८ जनामा कोविड देखिएपछि त्रियुगा नगरपालिका बन्द

  • महेश्वर चामलिङ
    उदयपुर, कात्तिक २०

    त्रियुगा नगरपालिका आउँदो तिहारसम्मका लागि बन्द भएको छ । एकैदिन ८ जनासहित ९ कर्मचारीमा कोविड १९ संक्रमण देखिएपछि अन्यलाई जोखिमबाट बचाउन बिहीबारदेखि नगरपालिका बन्द गरिएको हो ।


    बुधबार आएको पिसिआर रिपोर्टले ८ कर्मचारीमा संक्रमण देखिएपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आउदो २८ गतेसम्मका लागि नगरपालिकाको कामकाज रोक्नु परेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए । उनका अनुसार एकैदिन ८ कर्मचारी संक्रमण भएको नगरपालिकाका यसअिघ पनि दुईजना कर्मचारी संक्रमित पाइएका थिए । 


    यसरी लगातार संक्रमित देखिन थालेपछि कर्मचारी, जनप्रतिनिधि र नगरबासीको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै आउदो आउँदो २८ गतेसम्मका लागि सम्पूर्ण कामकाज रोक्नु परेको थापाले बताए । जारी सूचना अनुसार तिहारअघि कार्यालय नखुल्ने भएको छ । २८ गते शुक्रबारसम्म बन्द गरिएको र त्यसको भोलिपल्ट अनि लगत्तै तिहार विदा पर्ने भएपछि नगरपालिका अव तिहारपछि मात्र खुल्नेछ ।


    निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत विश्वजीत राईका अनुसार यसअघि नगरपालिकाका एक इन्जिनियर संक्रमित पुष्टि भएका थिए । उनी संक्रमित देखिएपछि  ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका ७५ जना नगर कर्मचारीसहित १ सयजनाको स्वाव नगरपालिकाले संकलन गरी परीक्षण गर्न पठाएको थियो । जसमा कर्मचारी र जनप्रतिनिधिका परिवारका २ जनासमेत संक्रमित पाइएको अधिकृत राईले बताए । 


    एकैचोटी धेरै जनामा संक्रमण पुष्टि भएपछि अन्यमा संक्रमण हुन नदिन नगरपालिकाको कामकाज रोक्नु परेको उनले बताए । कर्मचारीमा भटाभट संक्रमण देखिन थालेपछि मेयर बलदेव चौधरी र उपमेयर देवीकुमारी चौधरीलगायत सबै जनप्रतिनिधि आईसोलेसनमा बस्न थालेको अधिकृत राईले बताए । उनका अनुसार संक्रमितहरुमा भने सामान्य रुघाखोकीबाहेक अन्य कडा लक्षण केही देखिएको छैन । 


    मेयर चौधरीले नगर कर्मचारी र सबै जनप्रतिनिधिलाई आईसोलेसनमा बस्न आग्रह गरेका छन् । कोविडबाट बँच्न आईसोलेनसमा बस्नु नै उत्तम उपाय भएको भन्दै १६ वटै वडाध्यक्ष, कर्मचारी र अन्य सबै जनप्रतिनिधिलाई सुरक्षित हुन होम आईसोलेसनमा बस्न आग्रह गरेको मेयर चौधरीले बताएका छन् । ‘कोविडबाट बँच्न घरघरमै बसेर सुरक्षित हुन सबैलाई आग्रह गरेको छु’ बिहीबार माझखर्कसँग कुरा गर्दै मेयर चौधरीले भने ‘बढ्दो संक्रमणको शिकार हुनबाट बँच्न आफ्नै घरमा सुरक्षित बस्नु नै उत्तम उपाय हो । त्यसैले सबैजना घरघरमै बसौं ।’