बन्चरो हानेर मार्ने, गुप्ताङ्ग काटेर फाल्ने अनौठो घट्ना

२0७७ कार्तिक १९ बुधबार
बन्चरो हानेर मार्ने, गुप्ताङ्ग काटेर फाल्ने अनौठो घट्ना

उदयपुर, कात्तिक १९


कुनै बेला पुरुषमाथि महिलाको सामुहिक बलात्कार भएको घट्ना सार्वजनिक भएको झापामा अनौठा अनौठा घट्ना घट्ने गरेका छन् । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीलाई एकै ठाउँ राखेर मार्सी चामलको भात खुवाउनेदेखि मेडिकल कलेज खोल्ने विषयमा राज्यकै ध्यान खिच्ने घट्नाले केही समयअघि चर्चा पाएको झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला भएकाले पनि चर्चाबाहिर रहने कुरै भएन । 


पछिल्लो समय अर्को अनौठो घट्ना झापामा घटेको तथ्य फेला परेको छ । झापाको बिर्तामोड र कनकाई नगरपालिकामा घटेका दुई जघन्य अपराधले अहिले चर्चा पाएको छ । बिर्तामोड नगरपालिका २ चारपानेमा एक पुरुष गुप्ताङ्ग काटेर फालेको अवस्थामा मृत भेटिएका छन् । ०४६ माघमा बन्चरो प्रहार गरी भारतीय नागरिक सुवान शेखको हत्या गरी लिङ्ग छेदन गरेर फालेको अवस्थामा भेटिएको थियो । 


निर्माण मजदुरी गर्दै आएका उनलाई मादक पदार्थ सेवन गरेका आफ्नै साथीले सामान्य बिवादमा बन्चरो प्रहार गरी हत्या गरेर लिङ्ग काटेर फालेको र शरिर परालको कुन्युमा जलाएको अवस्थामा मृत भेटिएको प्रहरी अनुसन्धानले देखाएको छ । उनको शव जलेर क्षतविक्षत भएको तथा नजिकै गुप्ताङ्ग काटेर फालेको अवस्थामा शेखको पहिचान भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मुकुन्द रिजालले बताएका छन् । 


महानगरीय अपराध महाशाखाबाट सरुवा लिएर आएका उनले शेखको हत्यामा संलग्नहरुको खोजी गरी पक्राउ गर्न सफल भएको बताएका छन् । हत्या आरोपमा चारपानेका २० वर्षीय करण चौधरी र लक्ष्मण यादवलाई पक्राउ गरेको उनले बताए ।    त्यस्तै गत असोज अन्तिममा कनकाई नगरपालिका ३ का २२ वर्षीय अभिषेक चौधरीको बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ । हत्यापछि उनको लास नजिकैको बाँसघारीमा फ्याँक्ने कनकाई नगरपालिका ७ का २२ वर्षीय टुल्के भन्ने रविन राजवंशी पक्राउ परेका छन् । उनीहरुबीच लागू औषधको विषयमा बिबाद भएपछि हत्यासम्मको घट्ना भएको रिजालले बताएका छन् । 


झापामा लागू औषधका घट्ना अत्याधिक हुने गरेको र त्यसकै कारण अनौठा र जघन्य अपराधहरु हुने गरेको प्रहरी ठहर छ । पूर्व र दक्षिण दुईतिर भारतीय खुल्ला सीमानाका भएका कारण लागू औषध भारतबाट ओसार पसार क्रम बढेको प्रहरी भनाई छ ।